२१ पुस २०७० | 5 January 2014

खाँचो खबरदारीको

Share:
  

हिमाल (७ पुस) मा प्रकाशित 'धु्रवीकरणले घात' समाचार पढेपछि लाग्यो, अझै पनि दलका नेताहरूको बुद्धि फिरेको रहेनछ। हुन त हिजोका दिनमा जनमतको कदर नगर्ने दलका नेताहरूले यस पटक पनि जनमतको अपमान गर्नु कुनै नौलो कुरा होइन। दलहरूबीच सहमति नहँुदा संविधानसभाले पूर्णता पाउन सकेको छैन, जसले गर्दा सरकार गठनमा ढिलाइ भइरहेको छ। यसैगरी दलहरू अघि बढ्ने हो भने तोकिएको एक वर्षभित्र संविधान जारी नहुने पक्का छ।

विनोद पोखरेल, इमेलबाट

वेलैमा सोचौं

हिमाल (७ पुस) मा प्रकाशित 'शिकार कलिला आँखा' समाचारले हाम्रा बाबुनानीहरूको वास्तविक अवस्था थाहा हुन्छ। यो समस्या कुनै एक परिवारको मात्र नभएर सिंगो समाजको हो। हाम्रो आनीबानी र लापर्वाहीले गर्दा कलिला आँखामा परेको असरबारे कसैको ध्यान गएको छैन। सानै उमेरमा आँखाको दृष्टि कमजोर हुँदा भविष्यमा दृष्टिविहीन बन्नुपर्ने अवस्था नआउला भन्न सकिन्न। त्यसैले यस्ता समस्याप्रति अभिभावकहरू वेलैमा सचेत हुनुपर्दछ।

गोपाल पौडेल, इमेलबाट

सुशासन र सुरक्षा

हिमाल (७ पुस) मा प्रकाशित 'नयाँ सरकारलाई धेरै अवसर' पढेपछि केही लेख्न मन लाग्यो। विकास निर्माण, शिक्षा, स्वास्थ्यका विभिन्न आश्वासन देखाएर जनताको मन जितेका प्रतिनिधिले हिजो जनतासामु व्यक्त गरेका प्रतिबद्धता पूरा गर्नबाट पछि हट्नुहुँदैन। देशमा शान्ति सुरक्षाको अवस्था कमजोर छ। त्यस्तै मूल्यवृद्धि, बेरोजगारी, लोडसेडिङका कारण दिक्क भएका जनतालाई अब सुरक्षा र सुशासन चाहिएको छ। नयाँ सरकारले यी र यस्ता समस्या समाधानको लागि तत्काल प्रयास थाल्नुपर्छ।

मिलन वम, इमेलबाट

सहमति कार्यान्वयन गर

हिमाल (७ पुस) मा प्रकाशित 'चैतमा चुनाव' समाचार पढेपछि स्थानीय निकायले जनप्रतिनिधि पाउने हो कि भन्ने आश लाग्न थालेको छ। जनप्रतिनिधि नहुँदा स्थानीय निकायको काममा ढिलासुस्ती भएको मात्र होइन, अर्बौंको बजेट दलीय भागबण्डामा खर्च हुने गरेको छ। स्थानीय निकायमा भएका यस्ता अनियमितता रोक्न र विकास निर्माणका कामलाई निरन्तरता दिन पनि स्थानीय निकायको निर्वाचन चाँडो हुनुपर्दछ भन्ने कुरामा कसैको दुईमत नहोला। दलले आफूले गरेको सहमति कार्यान्वयन गर्छन् गर्दैनन् त्यो भने हेर्न बाँकी छ।

हरिकृष्ण थापा, इमेलबाट

यातना नदिऔं

हिमाल (७ पुस) मा प्रकाशित 'सकसमा साना गुरु' समाचार मन छुने खालको छ। साथीभाइ र परिवारसँग रमाउँदै पढ्ने समयमा विभिन्न यातना सहँदै पढ्नु निकै कष्टपूर्ण हुन्छ नै। विश्वले शिक्षाका लागि नयाँ नयाँ प्रविधिको विकास गरिरहेको समयमा हामीले भने शिक्षा दिने संस्कारमा परिवर्तन ल्याउन सकेका छैनौं। संस्कृति बचाउने नाममा गरिएको यो प्रयासले अन्त्यमा संस्कृतिलाई नै ओझेलमा पार्छ।

मधु थापा, इमेलबाट

अनेक फाइदा

हिमाल (७ पुस) मा प्रकाशित 'बाटोले विकास' समाचार सान्दर्भिक लाग्यो। बाटोको विकासले दुरी कम गराउने मात्र नभई विकासको थप बाटो खोलिदिन सक्छ। सडकसँग नजोडिएका हुम्ला र डोल्पा सदरमुकामलाई जोड्नको लागि पनि अब ढिलो गर्नुहुँदैन। कृषि, ऊर्जा र खानी विकासको लागि सडक विस्तार गर्ने हो भने दक्ष जनशक्तिलाई स्वदेशमै रोजगार दिन पनि सहज हुन्छ।

श्यामलाल पण्डित, इमेलबाट

comments powered by Disqus

रमझम