२१ पुस २०७० | 5 January 2014

सय वर्षअघिको समालोचना

Share:
  
- दीपक अर्याल
नेपाली भाषामा पुस्तक समालोचनाको परम्परा करीब १०० वर्ष पुरानो रहेको देखिन्छ।

मदन पुरस्कार पुस्तकालयको स्रोतलाई आधार मान्ने हो भने नेपाली भाषामा समालोचना विधाका करीब ९०० पुस्तक प्रकाशित भइसकेका देखिन्छ। समालोचनाका सिद्धान्त, सौन्दर्य, प्रवृत्ति, इतिहास तथा समालोचनायुक्त लेखको सङ्कलन जस्ता विविध विषयमा प्रकाशित ती पुस्तक संख्या हेर्दा नेपाली भाषामा समालोचनाका विषयमा प्रशस्त पुस्तक प्रकाशित भएको र यसका माध्यमद्वारा अन्य विषयमा यथेष्ट चर्चा र विमर्श भएको हुनुपर्छ। पछिल्लो समयमा पुस्तक प्रकाशनमा देखिएको बढोत्तरी तथा पुस्तक समीक्षाका रूपमा पत्र–पत्रिकामा प्रकाशित सामग्रीलाई पनि समालोचना परम्पराको एउटा भागका रूपमा लिएर हेर्ने हो भने त यसको संख्या र यसले ओगटेको क्षेत्र अझै व्यापक छ।

छिटफुट नै भए पनि १०० वर्ष पहिले गोरखापत्र मा नेपाली पुस्तकहरूको समालोचना प्रकाशित भएका केही उदाहरण पाइन्छ। पुस्तक समीक्षा र समालोचनालाई फरक–फरक दृष्टिकोण र परिभाषाका रूपमा हेरिने र बुझिने सन्दर्भमा नेपाली पत्रपत्रिकाले प्रकाशित गर्ने धेरैजसो साहित्यिक समीक्षालाई समालोचनाको परिभाषाभित्र राखिंदैन। सैद्धान्तिक धरातल, आलोचनात्मक विश्लेषण सहित कुनै कृति वा विषयका बारेमा लेखिने गहन विश्लेषणलाई समालोचना र पुस्तकको चिनारी दिने मूल उद्देश्य बोकेर राम्रा–नराम्रा पक्षको उठान गरिने लेखनलाई समीक्षा भनेर दुई भागमा बाँड्न सकिए पनि यसको प्रष्ट भेद गर्न गाह्रो छ। हाल आएर पत्रपत्रिकामा प्रकाशित अधिकांश लेखनले यी दुई विधालाई छुट्याउनै नसक्ने बनाइदिएको छ। यद्यपि साहित्यिक पत्रपत्रिका वा जर्नलमा भने समालोचनाको अस्तित्व बाँकी नै छ।

हाल यसलाई जुनसुकै नाम वा जसरी बुझिए पनि गोरखापत्र मा १० असोज १९७३ का दिन समालोचना शीर्षक अन्तर्गत 'दुर्गा भक्ति तरङ्गिणी' नामक नेपाली पुस्तकबारे प्रकाशित समालोचनाले नेपाली समालोचनाको इतिहास १०० वर्ष पुरानो भइसकेको प्रष्ट हुन्छ। ३०९ पृष्ठको नेपाली भाषाको यो पुस्तकका ग्रन्थकार केदारशम्शेर थापा क्षेत्री र ग्रन्थ संशोधन गर्ने सुब्बा वीरेन्द्रकेशरी पण्डित हुन् भन्ने जानकारी यसै समालोचनाले दिन्छ। पुस्तकका विषयमा चर्चा गर्दै समालोचनाले भन्छ– 'यस्नाटकमा राज कुमार सुदर्शनको आदर्श दुर्गाभक्तिको वर्णनछ यस्मा अनेक राग रागिणी र छन्दहरूको समावेशछ। नेपालिभाषा साहित्यमा यसेकिसमसँग बनेको यही पहिला नाटकहो। यस्मा रौद्रकरूणारसछ यसग्रन्थका उत्तमताका विषयमा ग्रन्थकर्ताको र संशोधनकर्ताको असलबिचार प्रशंसा गर्नलायकको छ।'

पुस्तकको समालोचना कसले गर्‍यो भन्ने जानकारी छैन तर प्रशंसा खुब गरिएको यो पुस्तक निकै उपयोगी रहेको चर्चा बारम्बार दोहोरिन्छ। यद्यपि समालोचनामा प्रशंसा मात्र नभई सामान्य आलोचना गर्दै भनिएको छ– 'यस्मा ठाउठाउमा शब्दको त्रुटिछ, सो भयतापनि, आशा छ कि, नेपालिभाषा साहित्यको एक अङ्गजस्तो यो ग्रन्थ प्रचलित होला र अरू अरू आबृत्ति छापिदा ती शब्दहरूको सुधार होला।'

समालोचनामा पुस्तकमा के–के विषयवस्तु समावेश छन्, तस्वीरहरूको प्रयोग भएको छ/छैन, कसरी र केका लागि काम लाग्छ र कसले यो पुस्तक पढ्न, किन उपयोगी छ भन्ने विषयमा सामान्य चर्चा गरिएको छ। यस समयमा पुस्तकमा फोटो प्रकाशित हुनु वा रहनु दुर्लभ मानिने भएकाले नै होला पुस्तकमा ६ वटा तस्वीरहरू रहेको जानकारी पनि समालोचनामा समेटिएको छ।

हाल देखिने कतिपय समीक्षाको अन्त्यतिर लेखकले आगामी दिनमा अझ् उत्कृष्ट कृति ल्याउने आशा गर्दै शुभकामना दिने चलन सय वर्षअघिको त्यो समालोचनाको अन्त्यमा पनि देखिन्छ। त्यस्तै नेपालीका पुस्तक थोरै भएको सन्दर्भमा लेखकको थप कृतिले यो भाषाको सेवा गर्ने र यसलाई पनि आदरपूर्वक विश्वविद्यालयमा स्थान मिल्ने आशा समालोचनामा गरिएको छ।

वि.सं. १९५० देखि १९६० का बीच करीब ६७, १९६१ देखि १९७० का बीच करीब ९५ तथा १९७१ देखि १९८० का बीच करीब १४० नेपाली पुस्तक मात्र छापिएका वेला पनि पुस्तक समालोचनाको परम्परा भने शुरू भइसकेको देखिन्छ। गोरखापत्र मा प्रकाशित यो समालोचनाले नेपाली भाषामा पुस्तक समालोचनाको परम्परा करीब १०० वर्ष पुरानो रहेको देखाउँछ। पुस्तक प्रकाशन, समीक्षा र समालोचना बढिरहेको सन्दर्भमा कैयौं परम्पराहरू भने यथावत् नै छन् र रहनेछन्

(अध्ययन सामग्री स्रोतः मदन पुरस्कार पुस्तकालय।)

comments powered by Disqus

रमझम