२१ पुस २०७० | 5 January 2014

घाटको बास

Share:
  

लाशलाई जलाउन सोलामा चढाउँदा खोलिएका कपडा ओढ्ने–ओछ्याउने गर्छन्। बगरमा बस्छन्। लाश पोल्न सघाइदिंदा पाइने अन्न पकाउन लाश पोलेर उब्रिएका दाउराले काम चलाइरहेका छन्। तिहुन तरकारीका लागि पनि त्यही सहयोगको भरथेग छ। “आठ वर्ष भयो” भात पकाउने जोहो गर्दै गरेकी श्रीमती धनमाया (३४) तिर फर्किंदै वीरबहादुर तामाङले भने, “हामी जोइपोइ अब सधैं यहीं बस्छौं।” घाटको बासको अर्को सजिलो छ उनीहरूलाई– चिन्नुजान्नु परेन मलामीसँगै मिसिएर मलामी खाजाले पनि कत्ति छाक टर्ने गर्छ।

गोपाल गडतौला
४० वर्षे वीरबहादुर वर्षौअघि धरानमा गाडी चलाउँथे। दिनहुँ रक्सी पिउने आदत पुरानै हो, जुन आज पनि छुटेको छैन। पुस्तौनी घर धनकुटा भीरगाउँमा उनकी जेठी श्रीमती र छोराछोरी छन्। आठ वर्षअघि धनमायालाई दोस्रो श्रीमतीको रूपमा भित्र्याएपछि उनी मध्य झापाको कन्काई बगरमा आइपुगे। रिक्साचालक रक्स्याहा लोग्नेले पिटेको वेला वीरबहादुरले फकाएर ल्याएकी धनमाया पनि उनीसँग घाटैमा बस्न राजी भइन्। बगरमा बिताएको शुरू रातपछि उनीहरू त्यहींका रैथाने बने।

परदेशबाट बाकसमा ल्याइएका नेपालीहरूको लाशको दहनपछि खाली हुने बाकस भत्काएर त्यसैको फल्याक हाली सुत्ने लो बेड बनाएका छन्। लाशका लुगाफाटो उनीहरू लगाउँछन्। लाशसँगै कतिपयले फ्याँक्ने भाडाबर्तन उनीहरूका पकाइखाने मालमत्ता भएका छन्। कन्काईको खुला बगर भएकोले उनीहरूको मात्र होइन वरिपरिका धेरै घरलाई अझै चर्पीको खाँचो महसूस छैन।

झ्ण्डाहरू स्याहार्छन्

बगरमा करीब ८ फुटको वर्गाकार छाप्रो समेत लाशसँगै घाटमा ल्याई फ्याँकिने वस्तुबाटै ठडिएको हो। लाश बाँधेर ल्याइने घारो ठड्याएर डोरीले बाँधी कात्रो र कपडाले बेरिएको छ। पार्टी कार्यकर्ताहरू बित्दा घाटमा अन्तिम श्रद्धाञ्जली दिंदा ओढाइएका झ्ण्डा मलामी हिंडेपछि स्याहारिदिने काम पनि तामाङ दम्पतीकै भएको छ।

कतैबाट एकोहोरो शंख बज्छ कि भनेर कान थाप्दै दिन शुरू हुन्छ उनीहरूको। “लाश पोल्न सघाउँछु र दयाले दिएको हात थापेर खान्छु”, उनीहरूले एकै स्वरमा भने, “यो जुनी अब यहीं घाटमै यसैगरी बित्ला!”

गोपाल गडतौला, झापा


'कम्युन' ले कंगाल

२३ भदौ २०६१ मा हिंसात्मक द्वन्द्व उत्कर्षमा पुगेको वेला माओवादीले रुकुमको प्वाङ गाविसको छिपखोलामा स्थापना गरेको 'बलिदान जनकम्युन' मा बसेका रुकुमका दर्जन परिवार अहिले पाटीमा बास बस्नुपर्ने अवस्थामा पुगेका छन्। घरबारी बेचेर कम्युन गएका उनीमध्ये केही रोजीरोटीका लागि परिवारसहित भारत पलायन भएका छन् भने केही गाउँमै बिचल्ली परेका छन्।

पूर्वी रुकुमको प्वाङ–६ की अमृता बोहरा (३२) को परिवारले १० वर्षअघि घरजग्गा र बस्तुभाउ बेचेर आएको रु.८० हजार कम्युनमा बुझाएको थियो। त्यसरी 'कम्युन' छिर्दा माओवादीबाट फूलमाला र अबिरले स्वागत पाएपछि उनीहरूले जीवनभर कम्युनमै बस्ने कसम खाएका थिए। द्वन्द्वकालमा कम्युनको बसाइँ राम्रै भए पनि शान्ति प्रक्रिया शुरू भएपछि नेताहरू शहर र सदरमुकाम बस्न थालेकाले त्यहाँ बस्नेहरू विरक्तिएर लाखापाखा लाग्न थाले।

कमल थापा
जनकम्युनमा अमृता बोहरासँगै छोरी (माथि)। भत्केको कम्युन घर ।

तर, सम्पूर्ण जायजेथा कम्युनमा बुझाएको अमृताको परिवार भने कतै जान सकेन। कम्युन घर पनि भत्केपछि बस्ने ठाउँ कतै नपाएको त्यो परिवार वाईसिएलका केन्द्रीय अध्यक्ष गणेशमान पुनको घरमा बस्न थालेको छ। द्वन्द्वका वेला १२ परिवारका ६४ जना बस्ने कम्युनमा अहिले अमृताको चार जनाको परिवार मात्र बाँकी छ। “हाम्रो जाने ठाउँ नभएकाले गणेशमानको घरमा ओत लाग्नुपर्‍यो” अमृता भन्छिन्, “माओवादीले देखाएका ठूला सपनामा विश्वास गरेर सम्पत्ति बेच्दा अहिले कंगाल हुनुपर्‍यो।” पहिले कम्युनकै सदस्य रहेको पुनको परिवार अहिले काठमाडौंमा बस्छ। अमृताको परिवारसँग भने अहिले सम्पत्तिको नाममा एक हलगोरु मात्र छ।

कम्युनले कङ्गाल बनाएको प्वाङ–९ का गणबहादुर दमाईको परिवार मजदूरीको लागि भारत पुगेको छ भने द्वन्द्वकालमा प्रहरीबाट बच्न घर र आधा खेत बेचेर कम्युन प्रवेश गरेको साँख गाविसका बिनकुमारी बुढाको परिवार कम्युनमा अव्यवस्था बढेपछि आफ्नै गाउँ फर्केको छ। कम्युनले चलाएको सहकारी किराना पसल घाटामा गएपछि एक वर्षमै बन्द भएको थियो भने केहीले कम्युनका खसीबाख्रा बिक्री गरेर सम्पत्ति असुल गरे पनि धेरै रित्तोहात निस्कन बाध्य भए।

कमल थापा, रुकुम


विदेश जाने पैसाले बाख्रापालन

लोहारपानी–७ दाङका यनुराज खत्रीको यसै पनि वैदेशिक रोजगारीमा जाने रहर त थिएन। लामो समय भारतमा काम गरेर फर्केका दाजुको वैदेशिक रोजगारीमा जाने निर्णय पनि राम्रो लागेन। र, दाजुलाई विदेश जानबाट रोकेर यतै केही गर्न सकिन्छ कि भन्ने आइडिया फुराए। विदेश जाने खर्चले गाउँमै केही गर्न सकिनेमा विश्वस्त यनुराजले दाजु हिमराजसँगै मिलेर गाउँमै शुरू गरे बाख्रापालन।

लामो समयसम्म भारतमा 'कुक' को काम गरेका हिमराज नेपाल फर्केपछि बेलायत जान चाहन्थे। विदेश जान लाग्ने खर्च बाख्रापालनमै लगाउन दाजुलाई यनुराजले सुझाएपछि गाउँमै उन्नत बाख्रापालन फस्टाएको हो। “दाजुले भारतका पाँच तारे होटलमा २५ वर्षसम्म कुकको काम गरेर फर्केपछि बेलायत जाने मन गर्नुभयो र केही पैसा खर्च पनि भयो” यनुराज भन्छन्, “त्यही बीचमा विदेशमा जानुभन्दा यतै केही गरौं भन्दा उहाँले पनि मान्नुभयो र बाख्रापालन शुरू गर्‍यौं।”

देविका घर्ती मगर

मसुरे लोहारपानी प्राविका शिक्षक समेत रहेका यनुराजले दाजुसँगै मिलेर १० वटाबाट शुरू गरेको बाख्रा गोठमा अहिले ५५ वटा बाख्रा पुगिसकेका छन्। बाख्रापालनका निम्ति आधुनिक खोर निर्माण गरिएको छ। स्थानीयदेखि जमुनापारी, लामकाने, मुडुल्ला, लोकल खरी, बारबरी, च्याङ्ग्रा लगायत ५५ वटा बाख्रा यनुराजका खोरमा छन्। बाख्रापालन व्यवसाय गर्ने भएपछि खत्री परिवारले आफ्नो घर वरपरको बारीमा किमु, कुटमिरो लगायतका डाले घाँसहरू समेत लगाएको छ। अहिलेसम्म ६ लाख बढी लगानी भइसकेको यनुराज बताउँछन्।

देविका घर्ती मगर, घोराही

comments powered by Disqus

रमझम