२१ पुस २०७० | 5 January 2014

चिनायो ह्वीलचेयरले

Share:
  
द्वन्द्वको समयमा माओवादी एम्बुसमा परेर कम्मरदेखि तलको भाग नचल्ने भएका हिमाल अर्याल अहिले नृत्य, पेन्टिङ र खेलकुद मार्फत सफलता चुम्दैछन्।

बास्केटबल प्रशिक्षणमा जाँदै।

२९ कात्तिक २०६० मा मकवानपुरको सुनाचुरीबाट फर्कने क्रममा कुलेखानी पावरहाउस नजिकै पान्द्राङमा माओवादीको एम्बुसमा परेर घाइते भएका सैनिक जवान हिमाल अर्याल (३४) को कम्मरदेखि तलको भाग चल्दैन। एम्बुसमा परेर चार जनाको घटनास्थलमै मृत्यु भयो भने घाइते ९ जना उपचारपछि निको भएर काममा फर्किए। तर काँधमा राईफल बोकेर सैनिक पोशाकमा हिंड्नैका लागि २०५७ मा सैन्य सेवामा प्रवेश गरेका हिमालको सपना सधैंका लागि चकनाचूर भयो। छोराले सरकारी जागीर खाएर खुशी भएका परिवार छोरालाई ह्वीलचेयरमा देख्दा केही समय सम्हालिन सकेनन्। हिजोसम्म सैनिक परिवार भनेर आफन्त र समाजबाट मिल्दै आएको सम्मान पनि एकाएक शून्यमा झ्ार्‍यो। अर्याल भन्छन्, “सहानुभूति भन्दा पनि सामाजिक अपमान सहनु पर्दा झ्ानै पीडा हुँदो रहेछ।” तर दुई वर्षअघिदेखि श्रीमती इन्दिरा (२७) लाई नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा सहयोगीको जागीर दिलाएर सेनाले उनको पीडामा मल्हम लगाएको छ।

वर्तमान र विगतः इन्फेन्ट्री ट्रप्समा रहँदाको सम्झना।

श्रीमती इन्दिराका साथ।

उपचारका क्रममा चार वर्ष अस्पतालमा बिताएर २०६४ मा निस्कँदा ह्वीलचेयर साथ लाग्यो। र, अहिले त्यही ह्वीलचेयरकै साथमा पेन्टिङ, खेलकुद र नृत्य मार्फत चिनिएका मात्र होइनन्, आफू जस्ता धेरैका लागि प्रेरणाको स्रोत बनेका छन्। सानैदेखि पेन्टिङको रुचिलाई अर्यालले अस्पताल बस्दा निखारे र त्यसैमा आफूलाई अभ्यस्त बनाए। अस्पतालमै पहिलो पटक बनाएको मयुरको चित्र रु.१५०० मा बिक्री भएपछि हौसला बढेको बताउने अर्यालको कुची त्यसयता रोकिएन। चित्र कोर्ने र रङ भर्दै आफ्नो जीवनमा समेत रंग भर्ने उनको सपना साकार हुँदै गयो।

पेन्टिङले मात्र सन्तुष्टि नदिएपछि संगीत सिक्न कस्सिए र लागे गितार र भोकलको तालीमतर्फ। र, अहिले उनी ह्वीलचेयरबाट नृत्य गर्ने देशकै पहिलो व्यक्ति भएका छन्। यो सफलताको श्रेय दिन्छन्– एउटा खुट्टाले नृत्य गर्ने रोमा न्यौपानेलाई। गत वर्ष भारतमा सम्पन्न 'सम्भव २०१२' मा नृत्य प्रस्तुत गरेर फर्केपछि हिमालको आत्मविश्वास झनै बढेको छ। कार्यक्रममा २३ देशका अपाङ्गता भएका व्यक्ति सहभागी थिए। उनी भन्छन्, “जीवनमा कहिल्यै मञ्चमा गएर नृत्य गरौंला भन्ने सोचेकै थिइनँ।”

सरकारले उपलब्ध गराएको निवासमा।

पेन्टिङ र नृत्य मात्र होइन खेलकुदमा पनि अब्बल छन्, अर्याल। सन् २०१० मा चीनको ग्वाङ्झाओमा सम्पन्न भारत्तोलन प्रतियोगितामा सहभागी हुँदा आफू जस्तै ३४ देशका सहभागी देखेपछि उनीमा आत्मविश्वास झनै बढेको छ। भन्छन्, “भाग्यलाई मात्र दोष दिएर बसेको भए निकै कमजोर हुन्थें।”

भारत्तोलनसँगै बास्केटबलका कुशल खेलाडी अर्याल यो खेललाई अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउनेमा विश्वस्त छन्। नेपाली सेनाको सहयोग र साथ नपाएको भए सफलता पाउन कठिन हुने बताउने अर्याल अपाङ्गता भएकाहरुप्रतिको सरकारी उदासीनतामा भने चित्त दुखाउँछन्।

शब्दः मीना शर्मा

तस्वीरः विक्रम राई

comments powered by Disqus

रमझम