२१ पुस २०७० | 5 January 2014

'चलि हो देशावर'

Share:
  
- बच्चु विक, धनगढी
देशकै दोस्रो ठूलो सिंचाइ प्रणाली रानी, जमरा र कुलरिया कुलोको मर्मतसम्भार र सरसफाईका लागि किसानहरु विगत सय वर्षदेखि देशावर जाने गरेका छन्।

तस्वीरहरुः बच्चु विक
झिसमिसेमै 'बडघर' (गाउँको मुखिया) को आदेशमा चौकीदारले 'चलि हो, देशावर' भन्दै डाँको लगाउँदा गदरिया, कैलालीकी कुन्नी चौधरी (३५) ले सरसामानको चाँजोपाँजो गरिसकेकी थिइन्। पाँच दिनलाई पुग्ने पाँच माना चामल, एकमानो दाल, सागसब्जी, नून, तेल, बेसार, खुर्सानीको पोका पन्तुरासँगै ओढ्ने–ओछ्याउने, लुगाकपडा, फरुवा र डोरी अघिल्लो साँझ् नै ठिक्क पारेकी थिइन्। २८ मंसीर बिहान घाम झुल्किनै लाग्दा ४० जना गाउँले सँगै उनी पनि निस्किइन्, देशावर।

कैलालीका दक्षिणपूर्वी नौ गाविस र टीकापुर नगरपालिकाका किसान विगत ९८ वर्षदेखि देशावरमा रमाउँदै आएका छन्। स्थानीय भाषामा 'सातो–सामल सहित त्यहीं बास बसेर सामूहिक श्रमदानमा रानी, जमरा र कुलरियाको कुलो खन्ने कामलाई देशावर' भनिन्छ। किसानहरूले नै परम्परागत रूपमा सञ्चालन गरिरहेको देशकै दोस्रो ठूलो सिंचाइ प्रणाली रानी, जमरा र कुलरिया कुलो (नहर) को मर्मतसम्भार र सरसफाईको काम वर्षौंदेखि चल्दै आएको हो। कुलरिया कुलो उपभोक्ता समितिका अध्यक्ष बलवीर चौधरी (६२) भन्छन्, “बाजेका पालादेखि देशावर चल्दै आएको छ, यो १९७२ सालदेखिको चलन हो।” “सबै मिलेर काम गर्नु भन्ने सरकारको आदेश छ” भन्दै बडाहाकिमले स्थानीय बासिन्दालाई कुलो मर्मतमा श्रमदान गर्न लगाएको कुरा आफ्ना बाजे मद्दुले सुनाउने गरेको बलवीर बताउँछन्।

चिसापानी जंगलमा बास बसेका किसान खाना पकाउँदै।
स्थानीय बासिन्दाका अनुसार तत्कालीन बडाहाकिम ढुण्डीराज शाहीले कुलो मर्मतसम्भार गर्न स्थानीय बासिन्दालाई एकजुट गराउन देशावरको चलन चलाएका हुन्। त्यतिवेला यस क्षेत्रमा थारू समुदायको बसोबास ज्यादा भएकाले पनि थारू भाषाकै 'देशावर' शब्द प्रयोग गरिएको मूल समितिका अध्यक्ष कुमारराज शाही बताउँछन्।

कर्णालीको पश्चिमी किनार चिसापानीदेखि करीब ६० किलोमिटर लामो सिंचाइ प्रणाली तीन भागमा विभाजित छ, रानी, जमरा र कुलरिया। चिसापानीदेखि बर्चौडीसम्म १८ किलोमिटर तीनै सिंचाइ प्रणालीको साझा कुलो हो। बर्चौडीदेखि भागबण्डीसम्म १६ किमि कुलरिया, भागबण्डीदेखि कटासे बजारसम्म १२ किमि जमरा र कटासे बजारदेखि दक्षिण रानी कुलो छुट्टिएको छ। रानी कुलोमा १६ वटा, जमरामा १७ वटा र कुलरियामा १४ वटा सहायक बाँध छन्। तीन वटैको साझा चिसापानी मुहानदेखि बर्चौडीसम्मको १८ किमी कुलोमा चलिरहेको देशावरमा हजारौं किसान संलग्न छन्। “रानी कुलो, जमरा कुलो र कुलरिया तीनै कुलोमा आश्रित २४ हजार घरधुरीका प्रत्येकबाट एक–एक जना देशावरमा आउँछन्”, मूल समितिका अध्यक्ष कुमारराज शाही भन्छन्। देशावरको कार्य कम्तीमा पन्ध्र दिन चल्ने उनी बताउँछन्।

उसो त २०२४ देखि सहभागी हुँदै आएका कुलरिया उपभोक्ता समितिका अध्यक्ष बलवीर चौधरीसँग तीन महीनासम्म देशावर चलेको अनुभव पनि छ। “यो पालि सिंचाइ आयोजनाले डोजर लगाइदिन्छु भनेको छ, त्यसैले धेरै दिन नलाग्ला”, बलवीर भन्छन्। दुई कट्ठाभन्दा बढी जमीन भएका धनसिंपुर, नारायणपुर, पथरिया, दुर्गौली, मनुवा, प्रतापपुर, जानकीनगर, बलिया गरी आठ गाविस र एक नगरपालिका– टीकापुरका किसान पाँच/पाँच दिनका लागि देशावरमा सहभागी छन्। पाँच दिन चिसापानी जंगलमै बसेर आफ्नो भागमा परेको कुलो खन्नुपर्छ। सिंचाइ गर्ने जमीन अनुसार प्रत्येक दिन भाग लाग्ने कम्तीमा पाँच फिट कुलोलाई ७ फिट गहिरो र ३५ फिट चौडा पारेर खन्नुपर्छ। पन्ध्र दिनमा सकिने अनुमानका आधारमा २४ हजार घरधुरीलाई तीन भागमा विभाजन गरेर पाँच/पाँच दिन देशावरमा सहभागी हुन उर्दी जारी गरिएको बलिया–९ का बडघर रविलाल चौधरी बताउँछन्।

देशावरमा सहभागी किसान कुलो खन्दै र मर्मत गर्दै ।
देशावरमा सहभागी यो हिउँदको पहिलो समूह पाँच दिन काम सकेर घर फर्किएको छ भने दोस्रो समूह चिसापानी पुगेको छ। “मान्छे मरेको घर र बिहे भएको घरलाई मात्रै छुट्टी हुन्छ, अरूलाई एक दिन पनि छुट्टी मिल्दैन”, जमरा कुलो उपभोक्ता समूहका अध्यक्ष लालवीर चौधरी भन्छन्। घरमा काम गर्न सक्ने मान्छे नभएको उपभोक्ताले ज्यालादारीमा भए पनि मान्छे लगाउनुपर्छ। “काम गर्नै पर्छ, नाइँनास्ति गर्न मिल्दैन”, देशावरमा आएकी टीकापुरकी सीता खनालले भनिन्। यहाँ कुनै जातजाति, धर्म, समुदाय छुट्याइँदैन। थारू समुदायले सुरुआत गरेको भए पनि सबै समुदाय, जातजातिका लागि देशावर प्रिय बनेको बताउँछन्, लालवीर चौधरी। “सबै मिलेर गर्ने काम हो, तेरो मेरो भन्ने छैन” उनी भन्छन्।

वर्षौंदेखि किसानहरूले नै मर्मतसम्भार तथा सञ्चालन गर्दै आएको यो सिंचाइ आयोजना यस वर्षदेखि विश्व ब्याङ्कको सहयोगमा नेपाल सरकारले निर्माण गरिरहेको छ। करीब रु.१३ अर्ब लगानीमा निर्माण भइरहेको यो आयोजनाले इन्टेक निर्माण गरिसकेका कारण देशावरमा सहभागी किसानलाई केही सजिलो भएको कुलरियाका अध्यक्ष बलवीर बताउँछन्। उनी भन्छन्, “अब सरकारी आयोजना निर्माण नहुन्जेलसम्म देशावर चल्छ।”

comments powered by Disqus

रमझम