२१ पुस २०७० | 5 January 2014

जिरोबाट जमिन्दार

Share:
  
- कमल रिमाल, विराटनगर

२०२१ सालमा १० कट्ठा खेत ठेक्कामा लिएर तरकारी खेती शुरू गरेका मोरङ कटहरी–५ का राजकुमार सिंहका चार छोरा बावुकै कामलाई निरन्तरता दिएर अहिले ४२ बिघा खेत र आठ वटा पक्की घरका मालिक बनेका छन्। उनीहरूले कटहरी बजारमा हालसालै एक–एक घर थपेका छन्। “बुवाको तरकारी खेतीलाई आधुनिक बनाउँदै लग्यौं”, देशकै उत्कृष्ट किसानका रूपमा राष्ट्रपतिबाट पुरस्कृत भएका चार भाइमध्येका कान्छा धर्मलाल (४८) भन्छन्, “अहिले १५ बिघामा व्यवस्थित तरकारी छ।”

तस्वीरहरुः कमल रिमाल
धुरन्धर सिंह।

मनोज सिंह।

धर्मलाल सिंह।

कटहरी–९ नयाँबजारका श्यामसुन्दर सिंह (६५) ले पनि तरकारी खेतीबाटै हेर्नलायक प्रगति गरेका छन्। ४० वर्षअघि अरूकै खेतमा तरकारी खेती थालेका उनले जोडेको साढे चार बिघा खेतमध्ये दुई बिघामा टम्म तरकारी छ। उनले पहिलेको झुपडी नभत्काई त्योसँगै २२ जनाको परिवार बस्ने १० कोठे पक्की घर बनाएका छन्। हरेक वर्ष सबभन्दा पहिले बजारमा काउली पुर्‍याउने कटहरी गाविसको आफू नै पहिलो किसान भएको बताउने श्यामसुन्दर सगर्व भन्छन्, “वर्षमा चार लाख रुपैयाँको तरकारी बेच्छु।”

२०५२ सालसम्म सुकुम्बासी रहेका सिसवनी जहदा–१ का मनोज सिंह (३३) ले पनि डेढ बिघा खेत जोडेर फुसका घरहरू भएको गाउँको बीचमा पक्की घर ठड्याएका छन्। उनले पनि बुवाको मिहिनेतलाई नै निरन्तरता दिएर प्रगति गरेका हुन्। खोला डिलको ऐलानी जग्गाको झुपडीमा बसेर मिहिनेत गर्दागर्दै जमीन जोडेर घर बनाइएको मनोजले बताए।

मोरङमा तरकारी उत्पादन गरेर राम्रो आर्थिक उन्नति गरेका किसान धेरै छन्। कटहरी―५ का बहादुर सिंह (५८) ले तरकारीबाटै ३३ कट्ठा जमीन जोडेर झुपडीको ठाउँमा पक्की घर बनाउन थालेका छन्। आठ जनाको परिवार पालेर पनि वर्षमा सालाखाला रु.२ लाख बच्ने गरेको उनले बताए। बहादुर सिंहकै छिमेकी धुरन्धर सिंह (८४) ले तरकारी खेतीबाटै चार बिघा जमीन जोडेर तीन छोरालाई जिम्मा लगाइदिएका छन्। छोराहरूले पनि तरकारी खेतीबाटै प्रगति गरिरहेको उनले बताए।

बहादुर सिंह।

श्यामसुन्दर सिंह।
मोरङका ६५ गाविसमध्ये सबभन्दा बढी तरकारी कटहरी र सिसवनी जहदामा उत्पादन हुन्छ। आर्थिक वर्ष २०६९/७० मा मोरङमा ६ हजार ९०० हेक्टर जमीनमा एक लाख ३८ हजार टन तरकारी उत्पादन भएको तथ्याङ्क छ। मोरङ कृषि विकास कार्यालयका योजना अधिकृत वसन्त अर्याल मोरङको तरकारी उत्पादनले जिल्लाको आवश्यकता पूरा गरेर ४१ हजार ८३२ टन निकासी हुने बताउँछन्। मोरङको जनसंख्यालाई वार्षिक ९६ हजार ४७० टन तरकारी चाहिन्छ।

comments powered by Disqus

रमझम