ड्रागनफल

Share:
  
- जीवनप्रसाद राई
मेक्सिकोको रैथाने ड्रागनफल प्रशस्त सम्भावना बोकेर नेपाल भित्रिएको छ।

सफल पशु चिकित्सक जगन्नाथ राई अहिले समाजसेवा सँगै ड्रागनफलको बिरुवा बिक्री–वितरणमा लागेका छन्। ११ वर्षअघि ललितपुरको सैंबु, भैंसेपाटीस्थित आफ्नै किरात खिमको करेसाबारीमा ड्रागनफल लगाएका डा. राई आफ्नो सम्पर्कमा आउने जो–कोहीलाई यो बिरुवा लगाएर लाभान्वित हुन प्रेरित गरिरहेका छन्। एक जना अमेरिकी मित्र मार्फत भियतनामबाट मगाएको ड्रागनफलको प्रयोग सफल भएपछि तीन वर्षदेखि बिरुवा बिक्री–वितरण गर्न थालेका उनी नेपालले यसबाट ठूलो लाभ लिन सक्ने निष्कर्षमा पुगेका छन्। काठमाडौं, विराटनगर, धरान, इटहरी, झ्ापा आदि ठाउँका खास गरेर चिनारुहरूलाई ड्रागनफल रोप्न दिएका डा. राई भन्छन्, “जाँगर चलाउने हो भने यसबाट स्वास्थ्य सँगै नेपालीको आर्थिक अवस्थामा सुधार आउने छ।”

के हो ड्रागनफल मेक्सिकोबाट एशियाका ताइवान, भियतनाम, फिलिपिन्स, चीन, मलेशिया, श्रीलंका, थाइल्याण्ड, जापान, इजरायल र अष्ट्रेलियासम्म पुगेको ड्रागनफल तीन प्रजातिको हुन्छ– हाइलोसिरियस अण्डेटस, हाइलोसिरियस कोस्टारिसियस र हाइलोसिरियस मेधालान्थस। यसमध्ये नेपालमा डा. राईले फलाएको हाइलोसिरियस अण्डेटस हो। ड्रागनफल सिउँडी (क्याक्टस) परिवारको वनस्पति हो। नेपालको तराईतिर देखिने ड्रागनफलसँग मिल्दोजुल्दो सिउँडी फुल्छ, तर फल्दैन।

डा. राईका अनुसार, क्यान्सर विरोधी एन्टिअक्सिडेन्ट गुण रहेको ड्रागनफलमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, रेसा, खरानी, क्यालोरिज, क्याल्सियम, फलाम, फस्फोरस, भिटामिन बी थ्री र भिटामिन सी पाइन्छ। राति फुल्ने हाइलोसिरियस अण्डेटसको फूल १२ घण्टा रहन्छ। फूल ओइलाएको ३०/३५ दिनमा ड्रागनफल पाक्न थाल्छ। नरम र हल्का गुलियो हुने यो फल जेठदेखि असोजसम्म फल्छ। १५० ग्रामदेखि ५०० ग्रामसम्मको हुने ड्रागनफल एक सिजनमा ५/६ पटक टिप्न सकिन्छ। फल काँचोमा हरियो र पाकेपछि प्याजी रङको हुन्छ। प्रति किलो न्यूनतम रु.५०० पर्ने ड्रागनफलको भित्री खाने भाग सेतो र रातो हुन्छ। हाइलोसिरियस अण्डेटसको खाने भाग सेतो हुन्छ भने अरूको रातो। दुवै रंगको खाने भागमा तिल मिसाएको जस्तो छिर्केमिर्के हुन्छ।

उत्पादन र बजार

गरम मौसम र ठाउँमा सप्रने हाइलोसिरियस अण्डेटस ड्रागनफल नेपालको तराई, मध्य पहाड तथा खोच–बेंसीमा राम्ररी उत्पादन हुने डा. राई बताउँछन्। सिंचाइ अभाव भएका ठाउँहरू ड्रागनफल उत्पादनका लागि उपयुक्त हुन्छ। एक वर्षभित्रै फल्न थाल्ने यो फल एक पटक रोपेपछि त्यसैबाट सजिलै अरू बिरुवा निकाल्न सकिन्छ। शहरका छत, कौसी, फूलबारी वा करेसाबारीमा पनि ड्रागनफल रोपेर मजाले खान सकिने डा. राई बताउँछन्। पानी ज्यादा भयो भने ड्रागनफलमा व्याक्टेरियम र ढुसीले आक्रमण गर्छ।

सिंचाइ नपुगेको खेतबारी, खाली ठाउँ धेरै भएको र ठूलो लगानी तथा जटिल प्रविधि नचाहिने भएकोले नेपालमा ड्रागनफलको प्रशस्त सम्भावना देखिन्छ। औषधिको रूपमा समेत लिइने यो फलको व्यावसायिक खेतीबाट मनग्ये विदेशी मुद्रा आर्जन गर्न सकिने डा. राई बताउँछन्। व्यावसायिक खेतीबाट ठूलो पैमानाको उत्पादन भए ड्रागनफलको बजारको चिन्ता छैन। प्रति हेक्टर ३० टनसम्म उत्पादन लिन सकिने अनुमान गरिएको यो फल नेपालमा धेरै उत्पादन भयो भने त्यसको मुख्य बजार आर्थिक रूपमा उदीयमान भारत हुनेछ।

विश्व बजारको मागको सर्वेक्षण गरेर योजनाबद्ध उत्पादन थाल्ने हो भने ड्रागनफल नेपालको लागि डलरको स्रोत बन्नेमा शंका छैन। यसमा सरकारसँगै निजी क्षेत्रले पनि सोचविचार गर्ने कि?

comments powered by Disqus

रमझम