२१ पुस २०७० | 5 January 2014

लाहुरे स्रष्टाको गाथा

Share:
  

सन् १८१४–१६ को नेपाल–अंग्रेज युद्धताका नेपालीहरू इष्ट इन्डिया कम्पनीको नोकरीमा जान थाले। अंग्रेजहरूले उत्तरपूर्वी भारतमा चिया, कुइनाइन, कुँयर खेती र निर्माण कार्य थालेपछि कृषि–पशुपालनमा सिपालु नेपालीहरू दार्जीलिङदेखि ब्रह्मपुत्रको किनारसम्म फैलिए। कम्पनीको सेवाबाट निवृत्त र दुई महासमरमा गएका गोर्खालीहरू पश्चिममा देहरादुन–भाक्सुदेखि पूर्वमा बर्मासम्म छरिए। त्यस्तो ऐतिहासिक घटनाक्रमको घानमा परेका तिनीहरू समृद्ध नेपाली लोकसंस्कृति बोके पनि भौगोलिक–राजनीतिक रूपमा नेपाली रहेनन्, आफ्नो परिचयमा 'प्रवासी' उपसर्ग झुन्ड्याउनुपर्ने भयो।

आज कर र रहर दुवैले 'प्रवासी नेपाली' भएकाहरू पूर्वमा जापान, पश्चिममा अमेरिका, उत्तरमा रसिया र दक्षिणमा अष्ट्रेलियासम्म जमेका छन्, दुखेका छन्। जहाँ रहे पनि मनका नेपाली तिनले आफ्नो जातीय–सांस्कृतिक वहलाई साहित्य मार्फत पोख्ने परम्परा बसाएका छन्। उनीहरूको अभिव्यक्तिले काठमाडौं केन्द्रको ध्यानाकर्षण गर्न थाल्दा 'नेपाली डायस्पोरिक साहित्य' को चर्चा हुन थालेको छ। डायस्पोरा : लाहुरे स्रष्टा र कविता नामको कृति त्यसैको एउटा सुखद परिणाम हो। नेपाली डायस्पोराका युवा अध्येता पुरण राईले यो विषयमा एउटा गहकिलो अन्वेषण गरेका छन्।

डायस्पोराः लाहुरे स्रष्टा र कविता

लेखकः पुरण राई

प्रकाशकः डायस्पोरा अध्ययन प्रतिष्ठान

काठमाडौं

पृष्ठः ११८+२२,

मूल्यः रु.२५०

नामैले लाहुरे स्रष्टामा केन्द्रित भएको बुझाउने यो कृति पढ्दा 'नेपाली डायस्पोरिक साहित्य' मा लाहुरेहरू नै अगुवा भएको थाहा पाइन्छ। पछिल्लो खण्ड कवितामा केन्द्रित किताबको अघिल्लो भागमा 'नेपाली डायस्पोरिक साहित्य' को आधार, उत्पत्ति र परम्पराबारे सन्दर्भ सहित गहन विमर्श गरिएको छ। यही खण्डको 'लाहुरे डायस्पोरा साहित्य' उप–शीर्षकमा नेपाली भाषा–साहित्यमा अतुलनीय योगदान पुर्‍याएर हराएका लाहुरे (जसको मातृभाषा पर्वते नेपाली थिएन) हरूबारे विभिन्न सत्यको उद्घाटन गरिएको छ। कम्पनी र ग्रेट ब्रिटेनको सैन्य सेवाका कारण अनेक भूभागमा छरिन पुगेका लाहुरेहरूले नेपाल बाहिर सवाई, गीत, गजल र गैर–आख्यानमा धेरै उम्दा काम गरेको पुरणले पहिल्याएका छन्।

निरंकुश राणाशासनको पहुँच बाहिर बसेर नेपालीपनमा रुझ्दै नेपाली साहित्यको समृद्ध परम्परा बसाउने त्यस्ता लाहुरे स्रष्टामा तुलाचन आले, प्रतिमान थापा मगर, शेरसिंह राना, बहादुरसिंह बराल, रणशूर लिम्बू आदि प्रमुख साधक भएको यो किताबको खोज हो। यीमध्ये तुलाचन आले उत्तरपूर्वी भारतमा नेपाली सवाईको पुस्तक लेख्ने पहिलो लेखक हुन्। यसैगरी, गैर–आख्यानमा प्रतिमान थापा मगरको 'श्री ३ महाराज सर जंगबहादुर राणाजीको जीवनचरित्र' वि.सं. १९६५ मा कलकताबाट छापिएको थियो भने शेरसिंह रानाको 'मेरो लंदन राजतिलक यात्रा' वि.सं. १९७० मा काशीबाट। वि.सं. १९९६ मा लेखिएर २०१८ सालमा जगदम्बा प्रकाशन (काठमाडौं) बाट छापिएको 'बर्माको सम्झ्ाना' का लेखक रणशूर लिम्बू भने लाहुरे स्रष्टा भएको प्रतीत हुँदैन। किताबको कविता खण्डमा डा. हर्षबहादुर बुढा मगरदेखि मिजास तेम्बेसम्मका महत्वपूर्ण लाहुरे स्रष्टाहरु समेटिएका छन्।

'नेपाली डायस्पोरिक साहित्य' बारे पर्याप्त छलफल नभइसकेको र भिन्न अभिमतहरू रहेको वेला पुरणको दोस्रो कृति डायस्पोराः लाहुरे स्रष्टा र कविता ले यस विषयमा रुचि राख्ने जो–कोहीका लागि खोजीमेली पठनीय सामग्री प्रस्तुत गरेको छ। अहिले ब्रिटिश–गोर्खा सैनिक साहित्यको इतिहास लेखनमा तल्लीन रहेका पुरणले नेपाली डायस्पोराको अध्ययनमा ठूलो तन्मयताका साथ अनुसन्धान गरेको आकारमा सानो किताबको वजनले देखाउँछ।

आनन्द पी राई

comments powered by Disqus

रमझम