२१ पुस २०७० | 5 January 2014

साइकलबाट सय देश

Share:
  
एक दशकअघि नेपालबाट विश्व साइकल यात्रामा निस्केका संखुवासभा माम्लिङका फुर्तेम्बा शेर्पा (३६) सय देश पुगिसकेका छन्।

'विश्वमा शान्ति होस्, सबैले वातावरण जोगाऔं' भन्ने नाराका साथ विश्व साइकल यात्रामा रहेका फुर्तेम्बा अफ्रिकी मुलुकबाट हालै अमेरिकाको न्यूयोर्क आइपुगेका छन्। उनको साइकल र टी–सर्टमा रहेका १०० झण्डाले यात्रा सम्पन्न भएका देशको संख्या बताउँछ।

प्रति दिन ७० किलोमिटरदेखि बढीमा १२० किलोमिटर यात्रा गर्ने फुर्तेम्बाले अहिलेसम्म ७ वटा साइकल फेरे, एक जना उप–राष्ट्रपति, १३२ शहरका मेयर र चार दर्जन वातावरण तथा खेलकुद मन्त्रीलाई भेटे। लाइबेरियाका उप–राष्ट्रपतिले नेपाललाई धनी राष्ट्रको रूपमा चित्रण गर्दा आफू चकित परेको बताउँदै उनले जुनै देशमा पुग्दा पनि त्यहाँ नेपालीहरू भेटिएको र तिनैको सहयोगले यात्रा सहज भएको बताए। “नत्र त दुइटा पाङ्ग्राको यात्रा कठिन छ, नाइजेरियामा लुटिएँ भने लाइबेरियामा खोलाले बगायो”, फुर्तेम्बा भन्छन्, “कहिले जंगलमा बास पर्छ, खाना पाइँदैन।”

विश्व साइकल यात्रा सकिएपछि नेपालको सामाजिक क्षेत्रमा केही गर्ने उद्देश्य लिएका उनले फुर्तेम्बा शेर्पा फाउन्डेसन स्थापना गरेका छन्। भ्रमणको क्रममा पाएको आर्थिक सहयोगको सदुपयोग गर्दै फाउन्डेसन मार्फत काठमाडौंको आनन्द वन अस्पतालका बिरामीहरूलाई ३० वटा ह्वीलचेयर दिएको उनले बताए। आगामी सन् २०२० को डिसेम्बरमा चीन पुगेर १५१ देशको यात्रा समापन गर्ने अनि पूरै समाजसेवामा लाग्ने उनको योजना छ।

आगामी फेब्रुअरीमा परिवार भेट्न फुर्तेम्बा नेपाल जाँदैछन्। उनले काठमाडौंमा रहेका दुई छोरी र श्रीमतीलाई नभेटेको पाँच वर्ष भयो।

ङिमा पाखि्रन, न्यूयोर्क, अमेरिका

comments powered by Disqus

रमझम