२१ पुस २०७० | 5 January 2014

हनुमानढोकाको कालीय दमन

Share:
  
हिन्दू हुन् वा बौद्ध, सातौं शताब्दीको पूर्वार्द्धका नेपाली मूर्तिहरूको मिहीनता, लचकता र शारीरिक भावभंगिमाले मूर्तिकलाको चरम विकास देखाउँछ।

तस्वीरहरुः लेखकका संकलन
बायाँ बलराम, दायाँ नागिनी र माथि कालीनागको थाप्लोमा बालक कृष्ण।
पृथ्वीका प्रत्येक शिलामा यहाँ जन्मेका सबैको अनुहार छिपेको हुन्छ। त्यसभित्र महात्मा गान्धी हुन्छ, नेल्सन मण्डेला हुन्छ। शिलाबाट इदी अमिन वा ओसामा विन लादेन पनि बन्छ। कला सिर्जनाअघि हस्तपूजा गरिएका सिद्धहस्त मूर्तिकारले ढुंगामा घन–छिनो चलाएर मूर्तिको हात–खुट्टा, शरीर र आयुधहरू बनाउँछ। अन्त्यमा साइत हेरेर मूर्तिको आँखा खोलिन्छ र प्राणप्रतिष्ठा गरिन्छ। यसरी ढुंगा भगवान बन्छन् र पुजिन्छन्।

विश्वले हरेक क्षण अनेक विधाका साधकहरू जन्माइरहेको हुन्छ, तर धेरै साधकलाई अभाग नै हात लाग्छ। कत्तिलाई आफूसँग भएको सीप थाहा पाउने मौकै आउँदैन। कत्तिको कला चिनिनुअघि नै नष्ट भएर जान्छ। कत्तिको सिर्जना असली पारखीहरूको हातसम्म कहिल्यै पुग्दैन। भाग्यमानी साधकको कला पारखीहरूको हातमा छिट्टै पुग्छ, पहिचान हुन्छ र दीर्घजीवन पाउँछ। अधिकाधिक व्यक्तिलाई सन्तुष्टि प्रदान गर्ने सौन्दर्यपूर्ण कलाले दीर्घजीवन पाउँछ। सौन्दर्यहीन कला सिर्जनासँगै विलीन पनि हुँदै जान्छ।

प्राचीन ग्रीक तथा रोमन कलाकार 'रियालिष्टिक' सिर्जनातिर लागे भने पूर्वीय सर्जकहरू 'रिचुयालिष्टिक' कलामा। 'रिचुयालिष्टिक' र 'रियालिष्टिक' दुवै विधाले सीप–क्षमता प्रस्तुतिमा समान अवसर दिन्छ। 'रिचुयालिज्म' मा सीप प्रस्तुत गर्न सक्नुलाई पूर्वीय कलाको सफलता मानिन्छ।

भव्य र लालित्यपूर्ण

हरिवंश पुराण अनुसार, गरुडसँग हार खाएको कालीय नागले विषाक्त पारिदिएको यमुनाको पानी खाँदा मथुराका धेरै ग्वाला र गाई मरेपछि वृन्दावनको दिव्य पुरुष भएको नाताले वृजवासीको उद्धार गर्नु कृष्णको कर्तव्य हुन आयो। कृष्णले बालक रूप धारण गरी यमुना नदीभित्र पसेर कालीय नागलाई कज्याए। कुनै मूर्तिकारले यही कथावस्तुलाई कलामा उतार्दै बनाए कालीय दमन, जसलाई आज हामी हनुमानढोकाभित्रको सुन्दर चोकस्थित सुन्धारा सामुन्ने पूर्वाभिमुख गरी प्रतिष्ठापन भएको पाउँछौं। यो बेजोड नेपाली मौलिक सिर्जनालाई प्रताप मल्लले काठमा भए पनि प्रतिमूर्ति बनाएर चोकको दलानमा प्रतिष्ठापन गरेका थिए।

समीक्षकहरू यो मूर्तिलाई छैटौं/सातौं शताब्दीतिरको कला मान्छन्। त्यो समयताका बनाइएका मूर्तिहरू भव्य, लालित्यपूर्ण र अंगढंग मिलेका हुन्छन्। बूढानीलकण्ठको जलशयन नारायण, धुम्बाराहीको बराहमूर्ति, लाजिम्पाट र पशुपतिका विष्णुविक्रान्त, उपत्यकाभरि छरिएका अनगिन्ती शाक्यमुनि तथा पद्मपाणि अवलोकितेश्वरका मूर्तिहरूलाई त्यो समयको सिर्जना मानिन्छ। त्यस कालका कलाकारहरूले शिला परीक्षणदेखि मूर्तिको तयारीसम्ममा निपुणता प्रदर्शन गरेका छन्।

मुख उप्केकी नागिनी र बलराम।
भारतमा यस्ता मूर्तिलाई काली–याही–मार्द्धक–कृष्ण भनिन्छ। त्यहाँको प्रतिमा लक्षणमा यस्ता मूर्ति बनाउँदा बालक कृष्णले कालीय नागको पुच्छर समाती फणामाथि नाचिरहेको देखाउनुपर्ने विधान छ। तर, नेपाली मूर्ति कला भारतीय हिन्दू प्रतिमा विज्ञानभन्दा भिन्न छ। कालीय दमनको मूर्तिमा चार पात्र छन्– बालक कृष्ण, बलराम, कालीयनाग र नागिनी। बालक कृष्णको पाउमुनि जकडिएर रहेका डरलाग्दा कालीयनागको दायाँ–बायाँ बलराम र नागिनी छन्। बायाँतर्फ नागिनीलाई आफ्ना पतिको जीवनदान मागिरहेको मुद्रामा देखाइएको छ भने दायाँतर्फ बलराम प्रशन्न मुद्रामा छन्।

जवानीले भरपुर एक नारीले विस्मयकारी विन्ती गर्दा हात उठाउन पनि नसकेकोसम्म ध्यान दिएका छन्, मूर्तिकारले। कालीय नागको मुखमुद्रामा झ्ाल्केको हतासाले कलाकारको दक्षता देखाउँछ। कलाकारले दैवी शक्ति कृष्णले नागराज कालीयको पुर्पुरोमा टेकी फणाको पाँच टाउकामध्ये एउटालाई हातले दबाई हलचल गर्न नसक्ने परिस्थितिमा पुर्‍याइदिएको र शारीरिक रूपले शक्तिशाली नागराजलाई शक्तिहीन भएको विस्मयकारी मुद्रा कुँदेर सीप प्रदर्शन गरेका छन्। कालीय नागको राक्षसी व्यक्तित्व देखाउन मूर्तिकारले विभिन्न आभूषण प्रयोग गरेका छन्।

मूर्ति बनाउन चयन गरिएको शिलाको गुणस्तरले पनि कालीय दमनको मूर्तिकारको क्षमताको प्रमाण पेश गर्छ। त्यस बखत कलाकार आफैंले मूर्ति बनाउने शिला परीक्षण गर्थे। शिलाको कडापन अनि कलाको जीवनबारे मूर्तिकार विज्ञ हुन्थे। कालीय दमन मूर्तिको भव्यता, शिल्प र महत्व लगायतका पक्षको मूल्यांकन गर्दा यसको स्थान नेपालकै सर्वाधिक महत्वपूर्ण कोटिको मूर्ति भएको निष्कर्ष निस्कन्छ।

संरक्षणको पर्खाइमा

बाक्लो ओठ सहितको भावयुक्त हँसिलो अनुहार, केश विन्यास, मोटा मांसपेशी तथा चलायमान शरीरमा विद्यमान मौलिकताले लिच्छविकालीन कलाको विशेषता देखाउँछन्। लिच्छवि कलामा भारतको गुप्त कालीन कलाको छाप भेटिन्छ, तर लिच्छवि कलामा जस्तो मिठास गुप्त कलामा पाइँदैन। आर्ट अफ नेपाल पुस्तकमा स्टेला क्रामरिस लेख्छिन्– “नेपाली कला भारतीय प्रादेशिक कलाको रूपमा विकसित भएको होइन। ... नेपाली प्रभाव भारततर्फ कहिल्यै गएन। त्यो केवल पहाडी देश नेपालमै रह्यो। कठिन हिमाल पार गरेर ल्हासामा जोखाङसम्म बनाउन पुगे नेपाली कलाकार, तर रात–दिन जपिने काशी बनारसतर्फ गएर लिच्छवि कलाकारले कतै आफ्नो सीप दान गरेको प्रमाण भेटिंदैन।”

मुख र आँखा बिग्रन लागेको काली नाग।
कालीय दमन मूर्तिको सम्पूर्ण भाग २१० सेमी अग्लो छ। बालक कृष्णको पूर्ण कदको उचाइ ८२ सेन्टिमिटर र शरीर ७२ सेमि छ। यो एउटा बालकको सरदर उचाइ हो। बालकको हँसिलो मुखाकृतिमा शतप्रतिशत नेपाली शैली भएको बताउँदै स्टेला क्रामरिसले भारतमा यस्तो कृष्णको मूर्ति नपाइने बताएकी छन्।

यद्यपि, करीब ४०० वर्षको हावापानीले मूर्तिको जैविक स्थितिलाई नाजुक बनाएको छ। थोरै मानवीय र धेरै प्राकृतिक कारणले गर्दा कालीय नागको अनुहार फक्लक्कै भाँचिएको छ। नागपत्नीको मुख पनि फुटेर गएकोले मूर्तिको सजीवता अलि गुमेको छ। प्रताप मल्लले त्यहाँ ल्याउँदा नै त्यस्तो थियो वा ल्याइसकेपछि त्यो भाग भाँचिएर गयो, थाहा पाउन सकिएको छैन। मूर्तिको अरू भागमा पनि पाप्रा उप्कन थालेका छन्।

बूढानीलकण्ठ र बराह अवतारको जस्तो एउटै शिलामा बनेको छैन, यो मूर्ति। कलाकारले विभिन्न आकार तथा नापको १२ वटा ढुंगाको मिलानबाट कालीय दमन तयार गरेका छन्। ठूल्ठूला दुई ढुंगा मिलाई मुख्य मूर्ति र नागको तल्लो भाग बनाइएको छ। त्यसपछि दुई वटा मझौला आकारको शिलाबाट नागको शरीरलाई आकार दिंदै विभिन्न नापोका आठ टुक्रा ढुंगाको जोडले मूर्तिलाई पूर्णता दिइएको छ।

पुरातत्व विभागको प्राचीन नेपाल (अंक १८) मा 'उक्त मूर्ति विशालनगरको प्राचीन साकोना भन्ने स्थानमा कालीय नाग मन्थन गरिरहेका नारायण माटाले छोपिरहेको पाएर गाउँले सहित श्री नारायणलाई कान्तिपुर लगी सुन्दर चोकमा स्थापना गरेको' उल्लेख छ। कालीय दमनको संरक्षण अत्यावश्यक भइसकेको छ।

अहिलेसम्म दुवै अनुहारको दाहिनेतर्फको केही भाग र आँखा बाँकी रहेकाले कालीय नाग दम्पतीको पूरै अनुहारको पुनः कुँदाइ गर्न सकिन्छ। यस्तो ज्ञान–सीप नेपालीसँगै छ, पनि। अभाव केवल सम्बन्धित पदाधिकारीको इच्छाशक्ति र सबल कार्यक्रमको हो। हनुमानढोकाको कालीय दमन

हिन्दू हुन् वा बौद्ध, सातौं शताब्दीको पूर्वार्द्धका नेपाली मूर्तिहरूको मिहीनता, लचकता र शारीरिक भावभंगिमाले मूर्तिकलाको चरम विकास देखाउँछ।

शुक्रसागर

comments powered by Disqus

रमझम