२१ पुस २०७० | 5 January 2014

अन्तस्करणका रक्षक

Share:
  

२३ असार १९७८–९ पुस २०७०
जेठा मामा प्रकाशमणिका घनिष्ठ मित्र भएकाले परिवारका हामी सबै उहाँलाई हुतरामदा भन्थ्यौं। उहाँले नेपाल भित्र्याएका उन्नत बकुला, गाजर लगायतका तरकारीहरू शुरूमै खान पाउने नेपालीमा हामी पर्थ्यौं। राणाशासनमै पहिलो कृषि इन्जिनियर बनेका हुतरामदा र उहाँको पुस्ताले आधुनिक नेपालका राजकाज, सरकारी सेवा लगायतका क्षेत्रको जग बसाले अनि आधा शताब्दी भन्दा बढी तत्–तत् विषयमा उत्कृष्ट योगदान पुर्‍याए।

कृषि उहाँको पहिलो प्रेम थियो। जीवनको पछिल्लो तीन दशक कृषिलाई नभई नहुने पानीसँग उहाँको प्रेम बस्यो। दूषित पानी, प्रदूषित वागमती, जलस्रोत र जलविद्युत् सम्बन्धी गलत सरकारी नीति–निर्णयहरू उहाँका लागि अभियानका विषय बने। आफूले सक्ने एक्लै गर्ने, त्यसले नपुगे पनि गर्न नछोड्ने उहाँको क्रिया–धर्म नै बन्न पुग्यो। आफ्नो अभियान र विचारसँग मेल खाने युवा प्रतिभाहरू देखा परे उहाँ दिलोज्यानले हौस्याउनुहुन्थ्यो।

करीब २५ वर्षअघि वैकल्पिक विकासको मर्मलाई प्राज्ञिक अभियान बनाउने अठोट गरेका हामी केहीले स्थापना गरेको नेपाल पानी सदुपयोग फाउण्डेशन (नेपासफा) को खुशीसाथ संस्थापक सदस्य हुनुभयो, हुतरामदा। इतिहास बिर्सिंदा परम्परा दिग्भ्रमित हुन्छ र स्वस्थ परम्पराको अभावमा राम्रै उद्देश्यले गरेको विकास पनि विनास बन्न पुग्छ भन्ने उहाँको गहिरो मान्यताको उदाहरण त्यस संस्थाको पाटनढोकास्थित अफिसमा भएको एउटा घटनामा देखियो। ढुंगेधारा संरक्षणको कुरा हुँदै गर्दा वडाका एक अग्रणी अभियन्तामाथि हुतरामदा एक्कासि खनिनुभयो। कुरा पाटनढोका बसपार्क सँगैको सार्वजनिक शौचालयको थियो, जुन ती वडाध्यक्षको सक्रियतामा निर्माण गरिएको थियो। राम्रै काम गरें भन्ठानेका ती सज्जनले 'बुद्धि–सुद्धि नभएको' भनेर गाली खाँदा हामी सबै अचम्मित भएका थियौं।

त्यस ठाउँको ढुंगेधारो र सानो पोखरी वर्षौं फोहोरमा पुरिएर लोप भएको रहेछ, जहाँ सार्वजनिक शौचालय बनाइयो। श्री ३ हुनुपूर्व बाह्रमासे, ऋण लिएर तिर्न नसकेका जंगबहादुरलाई पाटनका साहूहरूले रातभरि त्यो पोखरीको चिसो पानीमा राखेका रहेछन्। त्यस्तो ऐतिहासिक पोखरी मासेकोमा हुतरामदालाई झ्वाँक चलेको रहेछ। उहाँको झ्वाँकको दोस्रो कारण पनि थियो। त्यो पोखरी छःयाबहाल र हाल ललितपुर उपमहानगरपालिकाको भवन भएको स्थानमा रहेका कमलपोखरीहरूको पानी जाने निकास पनि रहेछ।

ढुंगेधारा संरक्षण अभियानमा हामीसँगै लागेका वडाध्यक्षमाथि खनिएका हुतरामदालाई लाग्यो– नजानेरै किन नहोस्, भएका ढुंगेधारा र पोखरी मासेर शौचालय बनाउने हो भने, संरक्षणको के अर्थ? हामीले राम्रै उद्देश्यले घरघरमा शौचालय बनायौं तर आ–आफ्नो ढललाई वडा–वडा वा नगरपालिका स्तरमा प्रशोधन नगरिकनै नदीमा खसाल्दा वागमती आज ढलमती भयो।
वागमती सभ्यताका संवाहक हुतरामदालाई यस नदीका थुप्रै चरित्रमध्ये धार्मिक–सांस्कृतिक पक्ष सबभन्दा महत्वपूर्ण पछि पछि गएर लाग्न थाल्यो।

सुन्दरीजलको वाग्द्वारदेखि दक्षिणकालीभन्दा तल कटवाल दहसम्मको वागमती किनारमा पुर्खाहरूले जोगाएर राखेका १२६ तीर्थ छन्। वागमतीलाई ढलमती बनाउने आजका हामी 'आधुनिक' हरूको आसुरी प्रवृत्तिलाई 'काउण्टर' दिन यसको आध्यात्मिक पक्ष उठाउनै पर्नेमा हुतरामदा कटिबद्ध हुनुहुन्थ्यो। २१ जेठ २०६९ मा नेपासफाले हुतरामदालाई स्नेह सम्मान गर्ने कार्यक्रममा उहाँले रानीपोखरी लगायत उपत्यकाका पोखरीहरूमा बिहान–बेलुका शास्त्रीय संगीत र भजनका धुन बजाउन सकिन्न? भनेर प्रश्न गर्नुभयो। यसो गर्न सके उपत्यकावासीमा पानीमा अन्तरनिहित सौन्दर्य र आध्यात्मिक पक्षप्रति सहभाव जागृत हुन्थ्यो कि? नागरिकहरूमा त्यस्तो भावना नभएसम्म दाताका डलर र प्राविधिक तौरतरिकाले मात्र वागमतीलाई जोगाउन नसकिनेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो।

सार्वजनिक कुवा, पोखरी, नदी प्रदूषित छन् भने त्यस वरिपरिको समाज सफा छैन भनेर बुझे हुन्छ। युरोपका ६ मुलुक भएर बग्ने राहिन नदी वागमतीको तुलनामा कैयौं गुणा बढी प्रदूषित थियो। वागमतीमा त मलमूत्रको प्राङ्गारिक प्रदूषण मात्र प्रायः छ, जुन सफा गर्न राहिनको औद्योगिक–रसायनिक प्रदूषण हटाएको भन्दा सजिलो र कम खर्चिलो छ। सन् १९८६ को स्याण्डोज फ्याक्ट्रीबाट पोखिएको विषादिले स्वीट्जरल्याण्डको बाजिलदेखि नेदरल्याण्ड्सको रोटरड्यामसम्म ठूलो दुर्घटना निम्त्याउँदा पूरा युरोपेली समाजलाई झ्ाकझ्ाक्यायो। र सुधारको कदम सही ढंगले स्थानीय निकायलाई टेवा र जिम्मेवारी दिएर अगाडि बढाए। आज राहिनमा स्याल्मोन माछा फर्किन थालेका छन्। राहिन सफा हुन सक्छ भने वागमती किन हुँदैन?

त्यो जिम्मेवारी अन्तस्करणको रक्षक नेपाली वातावरण संरक्षण अभियानका भीष्मपितामह हुतरामदाले हाम्रो पुस्ताको काँधमा छोडेर जानुभएको छ। यो समस्या बहुविषयी, बहुआयामी र बहुनिकायी जटिलताले ग्रस्त छ जसलाई एउटै निकाय, संस्था वा व्यक्तिले एउटै तौरतरिकाले मात्र समेटेर सल्ट्याउन सम्भव छैन। सानै भए पनि हरेकको अठोट र सानै कामको पनि ठूलो महत्व हुन्छ। थोपा थोपा जम्मा भए सरह र स्वच्छ हृदयले हामीले प्रण गर्नुपर्छ– हुतराम वैद्यको अभियान हामी पनि जुझारु भएर लाग्ने अभियान हो।

नागरिकहरूको अठोट र प्रयास समेट्ने निकाय भनेको सबभन्दा तल्लो तहमा रहेका वडा, गाविस र नगरपालिका हुन्। ती स्थानीय सरकारका लागि तुरुन्त चुनाव गराई सक्रिय बनाएर राहिनमा जस्तै काठमाडौंमा पनि हुतरामदाको सपना पूरा गर्न सके महत्वपूर्ण कदम हुनेथियो।

दीपक ज्ञवाली

comments powered by Disqus

रमझम