२१ पुस २०७० | 5 January 2014

उपलब्धिपूर्ण कोर्टमार्शल

Share:
  
नेपाली समाजमा रहेको जातीय भेदभावको कुरुप रुप दर्शाउन र त्यस विरुद्ध उभिने प्रेरणा दिन नाटक 'कोर्टमार्शल' सफल भएको छ।

विक्रम राई
मान्छेले लेख्ने र निर्देशन गर्ने नाटकमा मान्छेले नै अभिनय गर्छन्। नाटकका विषयवस्तु पनि आमरुपमा मान्छेको जीवनका कथा–व्यथा नै हुन्छन्। तर ती कथा–व्यथा र घटनालाई मञ्चमा कसरी प्रस्तुत गरिन्छ भन्नेले नाटकलाई सफल वा असफल बनाउँछ। पात्रका अभिनयले नाटकको कथालाई जीवन्त र संवेदनशील बनाए भने नाटक अरु सफल हुन्छ।

प्रख्यात भारतीय लेखक स्वदेश दीपकद्वारा लिखित र नेपालका स्थापित रङ्गकर्मी अनुप बरालद्वारा अनुवादित र निर्देशित नाटक 'कोर्टमार्शल' अहिले नेपाली दर्शकमाझ्ा चर्चित र प्रशंसित छ। यो नाटक हेर्न बसेपछि नसिद्धिकन उठ्न मन लाग्दैन। नाटकको कथावस्तु, पात्रहरूको अभिनय र संवाद सबैले दर्शकलाई एकोहोर्‍याउँछ र चिन्तनशील बन्न बाध्य बनाउँछ।

भारतीय र नेपाली समाजमा जातीय विभेदका दुर्गुण र अभिशाप सामाजिक जीवनका विभिन्न क्षेत्र र राज्यका विभिन्न निकायमा गहिरो गरी जरा गाडेर बसेका छन्। परिणामस्वरुप समाज र मान्छेका जीवनमा अनेकौं दुखान्त घटना भइरहेका छन्।

निर्देशक समेत रहेका अनुप बरालले नाटकको अनुवाद नितान्त मौलिक रुपमा गरेका छन्– नेपाली सन्दर्भ, समाज र परिवेशसँग जोडेर। त्यसैले भारतीय लेखकले लेखेको नभन्ने हो भने यो नाटक सम्पूर्ण रुपमा नेपाली लाग्छ। नेपाली समाज सांस्कृतिक रुपमा सामन्ती चिन्तनले ग्रस्त छ र जातीय रुपमा असमान छ। दलित समुदायका मानिसहरू उत्पीडन, भेदभाव, घृणा र असमानताको शिकार बनेका छन्। 'तल्लो जातका' लाई हेप्ने कथित माथ्लो जातका मानिसको व्यवहारले हाम्रो सामाजिक जीवनलाई सुमधुर र सहज बन्न दिइरहेको छैन।

राजतन्त्र अन्त्य भएर पनि सामन्ती प्रचलन र जातीय भेदभाव कायम छ। जसको उत्पीडनमा परेका छन्; दमाई, कामी, सार्की र मधेश तथा विभिन्न जातीय समूहभित्रका दलितहरू। जातीय रुपमा त्यही समुदायको एउटा जवानको वरिपरि केन्द्रित छ, नाटक 'कोर्टमार्शल'।

यो नाटक हेर्दा एक प्रकारको छटपटी, आक्रोश र पीडा मनभित्र उत्पन्न भइरहन्छ। नाटकको कथा अत्यन्त सूक्ष्म ढङ्गले बुनेका छन्, नाटककारले। घटना र तिनको वृत्तान्तले पात्रको पृष्ठभूमि खोतल्दै जान्छ र दर्शकको उत्सुकता र ध्यान निरन्तर तानिरहन्छ।

नाटक 'कोर्टमार्शल' ले सेनाभित्रका तल्ला तहका मानिसहरूको कथा र तिनका व्यथाको जीवन्त अभिलेख उतारेको छ। यो नाटक नेपालको सन्दर्भमा पनि अत्यन्त सान्दर्भिक छ। 'नेपाली सेनाको लोकतन्त्रीकरण' को नाममा सेनाभित्र राजनीतिक हस्तक्षेप गर्न खोज्नेहरूले यो नाटक हेर्न जरुरी छ। नाटक हेर्दा तिनीहरूले थाहा पाउने छन्– परिवर्तन कस्तो र कहाँ गर्नुपर्छ भनेर।

कला त्यो हो जसले मान्छेको मन र चेतनालाई उद्वेलित पार्छ तथा मान्छेको जागरुकतालाई जगाउँछ। सुसंस्कृत, सभ्य र मानवीय हुन सिकाउँदै प्रेरित गर्छ। आफूमा रहेका नकारात्मक, रुढ र अरुलाई दुःख दिने प्रवृत्तिलाई त्याग्न घचघच्याउँछ। यो नाटकले दर्शकहरूको ज्ञान र चेतनालाई ललकारेको छ। नेपाली समाजमा रहेको जातीय उत्पीडनको कुरुप अनुहार र त्यसको पीडा खप्न नसकेर विस्फोट भएको विद्रोहको कथा भनेको छ। जसले, दर्शकहरूलाई मौन चुनौती दिन्छ, यस्ता कुरीति नसहन भनेर।

नाटक 'कोर्टमार्शल' नेपाली रङ्गमञ्चको एउटा महत्वपूर्ण उपलब्धि हो। गुरुकुलले बानेश्वर छोडेपछि देखापरेको नाटकको कमीलाई मण्डला थिएटर र थिएटर भिलेजले भर्न थालेका छन्।

नेपाली सिनेमाका सुपरस्टार राजेश हमालले यो नाटकको एउटा महत्वपूर्ण पात्र कर्णेल रुपक सिंहको भूमिकालाई न्याय गरेका छन्। दयाहाङ राई, दिया मास्के, बी.एस. राना, सुवास थापा र कर्मा लगायतका कलाकारहरूको अभिनय राम्रो छ। निर्देशक बरालको निर्देशन त उत्कृष्ट छ नै। संगीत, भेषभुषा, मञ्च, ध्वनि, प्रकाश सबैले नाटकलाई प्रभावकारी बनाउन आफ्नो ठाउँबाट सघाएका छन्।

अनुप बराल नेपाली रङ्गमञ्चको क्षेत्रका स्थापित र सम्भावनायुक्त निर्देशक पहिले नै थिए। 'कोर्टमार्शल' नाटकबाट उनले आफ्नो निर्देशकीय क्षमता अझ विस्तार गरेका छन्। उनको निर्देशनमा कलात्मकता र परिपक्वता राम्रोसँग देखा पर्न थालेको छ।

रघु पन्त

comments powered by Disqus

रमझम