२१ पुस २०७० | 5 January 2014

चिल्लो पात

Share:
  

मलाई नसोध कहाँ दुख्छ घाउ

म जे छु ठीकै छु बिथोल्न नआउ...

स्वरसम्राट नारायणगोपालको २३औं स्मृति दिवसको अवसरमा वागेश्वरी संगीतालयले बुटवलमा आयोजना गरेको कार्यक्रममा १२ वर्षीया रूपा रौतारले यी हरफहरू गाइसक्दा हलमा केही समय ताली बजिरह्यो। सानी नानीको गलाको सम्मान गर्दै व्यक्तिगत रूपमा नगद पुरस्कार दिन जब मानिसहरू अघि सरे धेरै दर्शक–श्रोता स्तव्ध हुन पुगे, किनभने रूपाको पुरस्कार थाप्ने हातै थिएनन्।

चार वर्षको उमेरमा करेण्ट लागेर दुवै हात गुमाएकी रूपा सुमधुर स्वरकी धनी छिन्। त्यतिवेला कपिलवस्तुको गजेडास्थित स्कूलबाट रमाउँदै फर्केर साथीको घर पुगेकी उनी छतमा खाजा खाँदै खेल्दा बिजुलीको तारमा खसेकी थिइन्। त्यसपछि उपचारका लागि काठमाडौं पुर्‍याएकी उनको दुवै हात फाल्नु परेको थियो। अहिले आमासँग बुटवल बसिरहेकी उनी कक्षा ३ मा पढ्छिन्। उनका बुवा भारतमा काम गर्छन्।

साह्रै राम्रो गला भएकी रूपाले ठूलो कष्टका साथ खुट्टाले खान र लेख्न सिकेकी छन्। उनले दैनिक जीवनका अरू सबै क्रियाकलाप पनि खुट्टाले नै गर्नुपर्छ। साढे दुई वर्षदेखि वागेश्वरी संगीतालयमा प्रशिक्षार्थी रहेकी उनमा सिकाएको कुरा टिप्ने अद्भुत क्षमता रहेको संगीतालयका प्रिन्सिपल सुरेश सेञ्चुरी बताउँछन्। उनको प्रतिभा र आर्थिक अवस्था हेरेर संगीतालय र दीप बोर्डिङ स्कूल दुवैले निशुल्क शिक्षा दिइरहेका छन्।

केही शैक्षिक गीतहरू रेकर्ड गराइसकेकी रूपा आधुनिक गीतहरूको अल्बम निकाल्न चाहन्छिन्, तर आर्थिक स्रोत जुट्न सकेको छैन। नारायणगोपाललाई आदर्श बनाएकी उनी भन्छिन्, “नारायणगोपाल जस्तै अमर गायक हुन चाहन्छु।”

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम