२१ पुस २०७० | 5 January 2014

क्यालिफोर्नियामा कर्मा

Share:
  

“बलिउडको सांगीतिक उद्योग महँगो छ। नेपालीभाषीलाई त्यहाँ जम्न प्रतिभा भएर मात्र पुग्दैन, भाग्य र सम्बन्धको सुयोग पनि मिल्नुपर्छ।”

यो भनाइ दार्जीलिङका भुक्तभोगी कर्मा शेर्पा (३०) को हो, जसले कुनै समयमा भारतीय 'रियालिटी शो' हरूमा निकै दौडधूप गरेका थिए। यो अनुभव र अनुभूतिले उनलाई नेपाली श्रोतामा केन्द्रित बनाएको छ। यूरोप–अमेरिका सांगीतिक यात्राका क्रममा दुई साताअघि क्यालिफोर्नियामा कन्सर्ट गरेका कर्मा भन्छन्, “अब पूर्णतः नेपाली श्रोतामै केन्द्रित हुनेछु जसको दायरा पनि विशाल बन्दै गएको छ।”

नेपाली गीत–संगीतको लागि उनले दार्जीलिङमा कर्मा सांगीतिक एकेडेमी खोलेका छन्। निकट भविष्यमा नै त्यसलाई काठमाडौंमा पनि विस्तार गर्ने इच्छा राखेका उनले नेपाली गीत–संगीतका उम्दा कलाकारहरू विदेश पलायन हुने प्रवृत्तिप्रति चिन्ता जाहेर गरे। यसै वर्ष कर्मा अल्बम निकालेका उनी भन्छन्, “मिडियाले पनि कलाकारको विदेश पलायनलाई सफलताको रूपमा चित्रण गर्न खोजेको देख्छु।”

जाङ्वु शेर्पा, क्यालिफोर्निया

comments powered by Disqus

रमझम