बेसहारा बुढ्यौली

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
आफैंले जन्माएर हुर्काइ–बढाइ गरेका छोराछोरीबाट उपेक्षित वृद्धवृद्धालाई समाज र सरकारले पनि वास्ता गरेको छैन।
p16

बेसहाराः राजधानीको पशुपति मन्दिर परिसरमा रहेको सरकारद्वारा सञ्चालित एक मात्र पशुपति वृद्धाश्रम जहाँ अहिले ६५ वर्ष माथिका २३० जनाले आश्रय पाएका छन्।  तस्बीर: डम्बरकृष्ण श्रेष्ठ

छोराबुहारीले घरबाट निकालेर सडकमा अलपत्र पारेका काठमाडौंका जितकुमार नकर्मी (६०) भक्तपुरको करुणा आश्रममा छन्, उनलाई भेट्न कोही आउँदैनन्। ६ छोरी र एक छोरा हुर्काएका आरुखर्क– ७ स्याङ्जाका हरिलाल पौड्याल (६८) पोखराको वृद्धाश्रममा छन्। छोरीपछि नातिनातिना हुर्काएकी कास्कीकी सावित्रा बराल (७७) अन्त्यमा आफैं बेसहारा भएकी छन्। काठमाडौंमा घरजम गरेका खोटाङका कृष्ण आचार्यकी आमा सरमाया (७७) धरानको फूटपाथमा संघर्ष गरिरहेकी छन् (हे.बक्सहरू)।

छोराछोरीले जन्मदिने बाबुआमाप्रतिको दायित्व बिर्संदा नेपाली समाजमा यसरी 'लावारिस' हुने वृद्धवृद्धाको संख्या बढेको छ। संयुक्तबाट विस्तारै एकल परिवारमा रूपान्तरण भइरहेको नेपाली समाजमा एकातिर बूढा बाबुआमा सडकमा फालिंदैछन् भने अर्कातिर तिनका नातिनातिना घरभित्रै एक्लोपनको शिकार भइरहेका छन्। बूढा बाबुआमालाई त के साना छोराछोरीलाई समेत समय दिन नसक्नेहरूको संख्या बढिरहेको छ।

नेपाली समाजको पारिवारिक सम्बन्धका डोराहरू क्रमशः मक्किंदै छन्। मानवशास्त्री सुरेश ढकाल समाजमा बालबालिकाको हुर्काइ र वृद्ध–वृद्धाको हेरचाहको प्रक्रिया नै फेरिएको बताउँछन्। “पारिवारिक मूल्यमान्यता कम हुँदै गएको नयाँ पुस्तामा अग्रजहरूप्रति माया र सम्मान घट्दो छ”, ढकाल भन्छन्, “नेपाली समाजमा यो सांस्कृतिक विग्रह हुने खतराको घण्टी हो।”

वृद्ध, अशक्त र असहायका लागि भक्तपुरमा करुणा आश्रम सञ्चालन गरेकी ललिता धौभडेलको अनुभवमा, समाजमा वृद्धवृद्धालाई सम्मान गर्ने छोराछोरी र नातिनातिनाको संख्या घट्दो छ। समाजशास्त्री डा. डिल्लीराम दाहाल बाबुआमाले कामकाजी छोराछोरी र नातिनातिनाबाट आत्मीयता नपाउँदा पारिवारिक मनमुटाव बढेको बताउँछन्। प्रायः विकसित देशमा ६० वर्ष माथिका नागरिकको जिम्मेवारी सरकारले लिने भएकाले यस्तो मानवीय समस्या नभएको बताउँदै मानवशास्त्री सुरेश ढकाल भन्छन्, “समाजमा पैसाको पछाडि दौड्ने मानसिकता हुर्किएकोले गरीब वृद्धवृद्धा मात्र हैन, जीवनमा प्रशस्त सम्पत्ति जोडेकाहरू समेत अप्ठ्यारोमा परेका छन्। वृद्धवृद्धाको सामाजिक सुरक्षाको लागि सरकारले ठोस काम गर्नु जरुरी भइसकेको छ।”

p18b

स्रोतः केन्द्रीय तथ्याङ्क विभाग

राजधानी उपत्यकाका एक दर्जन वृद्धाश्रम परिवारबाट टाढिएका वृद्धवृद्धाले खचाखच छन्। राजधानी बाहिर चितवन, धनकुटा, विराटनगर, पोखरालगायतका शहरका वृद्धाश्रमले पनि कैयौंलाई आश्रय दिएका छन्। तर त्यस्तो आश्रय चाहिने सबैले यो सुविधा पाएका छैनन्। देशका वरिष्ठ नागरिकलाई हेर्नुपर्ने सरकारले मुलुकभर राजधानीको पशुपतिनाथ परिसरमा एउटा मात्र वृद्धाश्रम चलाएको छ। वि.सं. १९३८ मा खुलेको पशुपति वृद्धाश्रममा हाल बसिरहेका ६५ वर्ष माथिका २३० वृद्धवृद्धामध्ये आधा परिवारबाट फालिएका नै भएको आश्रमका प्रमुख रामशरण थापा बताउँछन्। चल–अचल सम्पत्ति केही नभएकालाई मात्र राख्ने नीति भएको आश्रममा छोराबुहारीले नै सम्पत्ति हडपेर बिचल्लीमा पारेका राजधानीका एक ६५ वर्षे वृद्धले पनि आफन्तको सहयोगमा ठाउँ पाएका छन्।

२०४८ सालमा ६० वर्षमाथिका नेपालीको संख्या १० लाख ७१ हजार थियो, २०४८ मा १५ लाख नाघ्यो। राष्ट्रिय जनगणना २०६८ बाट देखिएको २ करोड ८५ लाख जनसंख्यामध्ये ९.१ प्रतिशत (२३ लाख ५१ हजार) ६० वर्षमाथिको रहेको त्रिवि भूगोल विभागका प्राध्यापक भीमप्रसाद सुवेदी बताउँछन्। उनी भन्छन्, “वार्षिक वृद्धिदरको प्रवृत्तिले आउँदो दुई दशकमा यो उमेर समूहका नेपालीको संख्या दोब्बर हुने देखाउँछ।”

छिन्नभिन्न परिवार
नेपाली पारिवारिक संरचनालाई आधुनिक जीवनशैली र उन्नत भविष्यको होडबाजीले छिन्नभिन्न पार्दै लगेको छ। जीवनशैली, अर्थतन्त्र, राजनीतिक र सामाजिक सम्बन्धहरूमा आएको परिवर्तनले परिवारको परम्परागत ढाँचालाई कमजोर बनाएको छ। अर्थोपार्जनको दौडले पारिवारिक मूल्यमान्यता र संवेदनालाई पछाडि छाड्दैछ। यसबाट समाज एकाङ्की र व्यक्तिवादी बन्दै गएको छ। आत्मनिर्भरतासहितको स्वतन्त्र र आधुनिक जीवनशैलीमा रमाउने लालसाले संयुक्त परिवारलाई विखण्डित पार्दै परिवारका अग्रजहरूको रेखदेखलाई बोझ्को रूपमा लिने प्रवृत्ति बढाएको छ।

१० वर्षअघि ५.४४ रहेको नेपालको औसत परिवार सदस्य संख्या सन् २०११ को जनसांख्यिक सर्वेक्षण अनुसार ४.७ छ। १० वर्षअघि ४.६ रहेको काठमाडौंको औसत परिवार सदस्य अहिले ३.७ मात्र छ। यसले नेपालको शहरिया परिवार बाबु, आमा र छोरा या छोरी गरी तीन वा चार जनामा खुम्चिँदै गएको देखाउँछ। काठमाडौं बाहिर पनि पूर्वको झापा या ताप्लेजुङ होस् वा सुदूरपश्चिमको कञ्चनपुर या डोटी, औसत परिवार सदस्य संख्या घट्दो छ (हे.चार्ट)।

शहरमा घरजम गरेका छोराबुहारी गाउँका बाबुआमा या सासूससुरासँग नबस्ने प्रवृत्ति शहरमै बस्नेहरूबीच पनि देखिएको छ। समाजशास्त्री डा. डिल्लीराम दाहाल आर्थिक उपार्जन गरेर आत्मनिर्भर बन्ने बाध्यात्मक अवस्थाले हरेक परिवारका सदस्यलाई एकअर्काबाट टाढा बनाउँदै लगेको बताउँछन्। नेपालमा मध्यम, निम्नमध्यम र निम्न वर्गीय परिवारको संख्या धेरै छ। उनीहरू सबैमा अलग बस्ने संस्कृति मौलाएको छ। यसमा आफैं कमाएर आफूखुशी खर्च गर्ने आर्थिक उपार्जनको लालसासँगै पश्चिमा रहन–सहन, खानपान र जीवनशैलीको प्रभावले पनि काम गरेको छ।

अर्थविद् केशव आचार्य पनि समाजका हरेक वर्ग र व्यक्ति कमाउने होडमा लागेकाले त्यसको प्रत्यक्ष असर पारिवारिक बनोटमा परेको बताउँछन्। “नेपाली समाजमा जसरी पनि कमाउने 'होमो इकोनोमिक्स' को सोचले जरा गाड्न थालेको छ”, आचार्य भन्छन्, “तर पनि बढ्दो महँगी र कमाइको असन्तुलनले असंख्य परिवारमा मनमुटावसँगै थप विखण्डन भित्रिएको छ।”

p18a

बुढेसकालमा छोरा–छोरीले
नहेर्ने क्रम बढेकाले
धेरैलाई नमरुञ्जेल चल– 
अचल सम्पत्ति आफ्नै 
नाममा राख्ने सल्लाह 
दिने गरेको छु। 
डा. डिल्लीराम दाहाल,
समाजशास्त्री 

सन् १९८१–९० बीचको गाउँबाट शहरतिरको बसाइँसराइले नेपालमा सामाजिक असन्तुलन निम्त्याएको अर्थशास्त्रीहरू बताउँछन्। शहरमा कमाउन थालेकाहरू गाउँ फर्केनन्। गाउँको संयुक्त परिवार छिन्नभिन्न हुनुका साथै बन्धुबान्धवहरूसँग उनीहरूको सम्बन्ध टुट्यो। मानवशास्त्री सुरेश ढकाल समयले ल्याएको यस्तो परिवर्तनमा नेपाली समाज आफ्नो मौलिक पहिचान र पारिवारिक सम्बन्धलाई यथावत् राखेर अघि बढ्न नसकेको बताउँछन्।

दिनहुँ आर्थिक उपार्जनको धपेडीमा फँसिरहेकाहरू बूढा बाबुआमालाई बिर्संदै छोराछोरीको लागि 'मरिमेटेर' काम गरिरहेका छन्। संवेदनाविहीन परिवेशमा हुर्केको नयाँ पुस्ताले पनि आफ्ना बाबुआमालाई त्यसैगरी बिर्सनेछ। बाबु–आमाको मुख नताक्ने आत्मनिर्भर पुस्ता हुर्कनु आफैंमा सकारात्मक भए पनि तिनमा सामाजिक, पारिवारिक मूल्यमान्यता नहुनु घातक हुन्छ। यसमा राज्यको ध्यान जान ढिला भइसकेको छ।

बढ्दो दूरी
परिवार संकुचनको ठूलो मार वृद्धवृद्धा र बालबालिकामा परिरहेको छ। संस्कार–संस्कृतिको पाठशाला मानिने हजुरबा–हजुरआमाको काखबाट टाढा पुगेका बालबालिका परम्परागत ज्ञान, संस्कार र विवेकबाट बञ्चित भएका छन्। अधिकांश परिवारका बालबालिकाले आफ्ना हजुरबा–हजुरआमालाई भेट्न दशैं कुर्नुपर्छ। दुर्गम गाउँमा बाजेबज्यै भएकाले त त्यही पनि पाउँदैनन्। अर्कातिर, बाजेबज्यैले नातिनातिना भेट्ने तिर्सना मेट्न नपाएर एक्लोपनको शिकार हुनुपरेको छ। यसबाट बालबालिकामा बाजेबज्यै र आफन्तको महत्व घट्दै गएको समाजशास्त्री डिल्लीराम दाहाल बताउँछन्।

शहरमै पनि छोराहरू बुहारी ल्याउनासाथ बाबुआमासँग छुट्टिन्छन्। जेसुकै कारणले होस्, गाउँबाट शहर र शहरबाट विदेश बसाइँ सर्नेहरूका बालबच्चा मूलथलोमा विरलै फर्कन्छन्। परिवर्तित जीवनशैलीलाई स्वाभाविक मान्ने संस्कृतिविद् सत्यमोहन जोशी पारिवारिक विखण्डनले बालबालिका र वृद्धवृद्धामा गहिरो असर पारेको बताउँछन्। पाटनमा दुई वटा घर भएका जोशी स्वयंका तीन छोराबुहारी अलग बस्छन्। उनीहरूको प्रगतिमा वयोवृद्ध जोशी दम्पती खुशी छन्, तर सँगै बस्न नपाउँदा पारिवारिक दयामाया र स्नेह हराउँदै गएको उनीहरूको ठम्याइ छ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि भित्रिएको आर्थिक उदारीकरण र आधुनिक प्रविधिबाट जीवनशैलीमा ठूलै परिवर्तन अनुभव गरेका नेपालीहरू परम्परागत कृषि पेशामाथिको निर्भरता छाडेर नयाँ रोजगारी र आर्थिक उत्पादन प्रणालीमा गए। यसक्रममा सामाजिक असन्तुलन आउने गरी बसाइँसराइ बढ्यो र खेतीपातीका लागि आवश्यक संयुक्त परिवारको सामूहिकता भत्कियो। बाबु र छोराको पेशा फरक हुँदा परम्परागत ज्ञानसीपको महत्व घट्यो। बदलिंदो रोजगारी र पेशाले संयुक्त परिवार तथा पारिवारिक सम्बन्धमा दूरी बढायो।

मानवशास्त्री ढकालको विश्लेषणमा, कमाउने छोराछोरी सदैव आर्थिक दबाब र आफ्नै छोराछोरीको भविष्यको चिन्तामा पर्दा बूढा बाबुआमा स्वतः बेवास्तामा परे। यही क्रममा धेरै बाबुआमा सडक र वृद्धाश्रममा पुगेका हुन्। “मानिसहरू सामाजिक–पारिवारिक भन्दा आर्थिक प्राणी बनेकाले 'पैसामुखी', 'व्यक्तिवादी', 'एकलकाँटे' र कतिपय अवस्थामा संवेदनाविहीन पुस्ता तयार हुँदैछ”, ढकाल भन्छन्, “नयाँ पुस्तामा परिवार र आफन्तलाई बेवास्ता गर्ने प्रवृत्ति झ्न् बढ्नेछ।”

बढ्दो विश्वव्यापीकरणले मानिसहरूलाई 'व्यक्तिवादी' आर्थिक प्राणी बनाउँदै लगेको अवस्थामा नेपाली समाजमा पनि व्यक्तिको मूल्याङ्कन उसको आर्थिक अवस्था, लवाइखवाइले निर्धारण गर्न थालेको छ। मनोविज्ञ रुचिरा कोइराला यस्तो सामाजिक–आर्थिक रूपान्तरणले मानिसलाई केवल पैसाको पछि दौडाएको बताउँछिन्। समाजमा पैसा, कार, बंगला, ब्राण्डेड लुगा आदिको तडकभडकबाट मान्छेको सम्मान बढ्ने परिपाटीले पारिवारिक संरचनालाई धरासायी बनाउँदै लगेकोले वृद्धवृद्धाहरू छोराछोरी र आफन्तबाट बढी तिरस्कृत भएका छन्। “धनी परिवारका कतिपय छोराछोरीले समेत सम्पत्ति आफ्नो नाममा पारेर बाबुआमालाई बिचल्लीमा पारेका छन्”, मनोविज्ञ कोइराला भन्छिन्, “धनसम्पत्ति नभएका बाबुआमा त झ्नै हेलाँमा परेका छन्।”

अहिले वृद्ध अग्रजहरूलाई हेलाँ गर्ने र घरबाट निकालेर बेसहारा बनाउनेहरूले पनि बुढ्यौली त झ्ेल्नै पर्छ। यो कुरालाई सबैले मनन् गर्ने हो भने धेरैका घाउहरूमा मल्हम लाग्नेछ।

साथमा सोहन श्रेष्ठ, धरान;
कमल रिमाल, विराटनगर;
छवि मगर, पोखरा;
रमेश कुमार, रसुवा।


p17a

सात सन्तानकी आमा एक्लै भएँ
भगवती पौडेल (७५), रसुवा, लहरेपौवा माझ्गाउँ 

मैले पाँच छोरा र दुई छोरी हुर्काएँ, तर मेरो कोही सहारा भएनन्। निसन्तान दिदीको मृत्युपछि ११ वर्षमै बाबुले ३० वर्षका भिनाजुसँग विवाह गरिदिएका थिए। २२ सन्तान जन्माएँ, सबैलाई हुर्काउन सकिनँ। बाँचेका सातमध्ये एउटा छोरो २५ वर्षदेखि बेपत्ता छ, अरू आ–आफ्नै घरव्यवहारमा मस्त छन्। छानो चुहिने घरमा एक्लै गाउँलेहरूले दिएको अन्नको भरमा बाँचेकी छु। गाउँलेहरू घर भत्कन लाग्यो घर सर भन्छन्, तर म यो घर छाड्दिनँ। छोराछोरी नै आइदिए हुन्थ्यो।

p17b

बूढिसँगै बस्न पाए हुन्थ्यो
शम्भुप्रसाद आचार्य (७४), विराटनगर

छोराहरुलाई एउटाले आमा, एउटाले मलाई पाल भनेको मानेनन्। श्रीमतीलाई तिम्रो जीवन आफैं पाल, म आफैं बाँच्छु भनी माइत काठमाडौं पठाएर विराटेश्वर वृद्धाश्रममा बस्न थालेको चार वर्ष भयो। दुई वर्षअघि श्रीमती भेट्न आएकी थिइन्। अब कहिले आउलिन् भनी कुरेर बसेको छु। म भेट्न जाउँ भने खर्च धेरै लाग्छ। बुढेसकालमा बूढीसँगै बस्न पाए हुन्थ्यो।

छोराहरूलाई हुर्काउन, पढाउन र बिहेदान गर्नमै हाम्रो उमेर बित्यो। ठूलो गजेन्द्र पढाउँछ, कान्छो जितेन्द्र फ्याक्ट्रीमा काम गर्छ। दशैंमा टीका लगाउन पनि आउँदैनन्। किरिया पनि नगर्ने भनेका छन्। प्रहरीको जागिरबाट रिटायर हुँदा आएको पैसाले उनीहरूकै बिहेमा लागेको ऋण तिरें। घर बनाउँछौं भनेकाले भएको घर बेचेर पैसा बाँडिदिएँ। विराटनगरमै दुवैको घडेरी छ, तर आमाबाबुलाई राख्नुपर्छ भनेर घर बनाउँदैनन्।

p18

छोरो आउँछ जस्तो लागिरहन्छ
सरमाया आचार्य (७७), सोल्मा–७, खोटाङ

“पहिला छोरोले घिउभात नखाइदिंदा आमा रुन्थिन्, अहिले छोरोले खान नदिएर आमा रुन्छिन्!'

यो भनाइ मेरै जीवनमा लागू भयो। घर खोटाङको सोल्मामा भए पनि धरान–९ भोटेपुलमा डेरा गरेर बसेकी छु। एक छोरो र एक छोरीलाई सुखैले हुर्काएका थियौं। तीन वर्षअघि श्रीमान् खस्नुभएपछि बेहाल शुरू भयो। बुबाको मृत्यु हुँदा मुख देखाएको छोरो कृष्ण त्यसपछि फर्केर आएन, काठमाडौंमा विवाह गरेर राखेको बुहारी र नातिनातिनाको मुख पनि देखाएन। छोरी चाहिं कहिलेकाहीं भेट्न आउँछे र आफूसँगै हिंड्न कर गर्छे, तर सम्धी–सम्धिनी भएको घरमा गएर कसरी बस्नु? भानुचोकको चौतारीमा रु.३०० पूँजीको खुद्राव्यापार गरेर महीनावारी १२०० कोठाभाडा तिर्दै बाँचिरहेकी छु। हातखुट्टा चलुञ्जेल वृद्धाश्रम जान्न। छोरो आउँछ जस्तो पनि लागिरहन्छ।

p19

घरबाटै निकालिदिए
सावित्री बराल (७७), पुम्दीभुम्दी, कास्की

२०१८ सालमा छोरी गर्भमै छँदा श्रीमान् बित्नुभयो। अनेक दुःख गर्दै छोरीलाई हुर्काएँ, राम्रो केटा खोजेर बिहे गरिदिएँ। छोरीले नातिनातिना जन्माएपछि तिनलाई पनि हुर्काएँ, बढाएँ। एक नाति चार नातिनी हुर्केपछि भने हेलाँ गर्न थाले। एकदिन घरबाटै निकालिदिएपछि भौंतारिंदै देवघाटमा गएर १० वर्ष बसें। पोखराको होटलमा मालीको काम गरें। धनी भए पनि छोरीले हेरिनँ, त्यत्रो दुःखले हुर्काएको बिर्सिई। मेरै हातमा हुर्केकी एउटी नातिनी जापान, एउटी अष्ट्रेलिया र अर्की काठमाडौंमा छन्। म वृद्धाश्रममा छु भन्ने कुरा सबैले बिर्सिए।

p19a

धनी भए पनि वास्ता गरेनन्
हरिलाल पौड्याल (६८), आरुखर्क–७ स्याङ्जा

मेरा एउटा छोरो र ६ छोरी छन्। छोरोलाई बीएसम्म पढाएँ, गाउँकै स्कूलमा शिक्षक थियो। धेरै कमाउन भनेर भारत मेघालय गएको २२ वर्ष भयो, अत्तोपत्तो छैन। त्यो जमानामा पनि सबै छोरीलाई कक्षा ८ सम्म पढाएँ, असल वर खोजेर बिहेदान गरें। बुढेसकालमा छोरीहरूलाई घरमा आएर बस भनें, कसैले मानेनन्। काम गर्न नसक्ने भएपछि पाल्छन् कि भनेर छोरीहरूका घरमा जाँदा 'गइहाल, निक्लिहाल' सम्म भने। पोखरा नयाँबजारमा घर बनाएकी साइली छोरीकहाँ जाँदा त नातिले पृथ्वीचोकमा ल्याएर अलपत्र छोडिदियो। त्यसपछि सेतीमा हाम फालेर मर्नुपर्‍यो भन्ने सोचिरहेको बेला एकजना चिनारुले वृद्धाश्रममा ल्याएर राखिदिए।

p20

एक्लै बस्नु परेकोमा दुःखी छैन
प्राध्यापक डा. हरि श्रेष्ठ, (६३) नक्साल, काठमाडौं

पद्मकन्या क्याम्पसमा इतिहास र संस्कृति पढाउँछु। चार छोरामध्ये एउटाको विवाह हुन बाँकी छ। एक छोराबुहारी पोखरामा र अरू काठमाडौंमा अलग–अलग बस्छन्। दुई छोराबुहारीबाट दुई नातिनातिना छन्। जीवनसंगिनीको निधनपछि दुई वर्षदेखि एक्लो छु। नेपाली समाजमा मजस्ताको संख्या बढिरहेको छ। यो 'कुरा आउँछ, न उनीहरू नै बस्न सक्छन्।

मैले नयाँ 'करिअर' शुरू गरेपछि बाबुआमालाई पनि राजधानी ल्याएर सँगै राख्न खोजेको थिएँ, तर उहाँहरूले भोजपुरमा जीवनभर गरेको 'सृष्टि' छाड्न सक्नुभएन। त्यसको तीन दशकमा आज मेरा छोराबुहारी विना कुनै झ्गडा वा मनमुटाव एउटै शहरमा मभन्दा अलग छन्। हामी मानसिक रूपमा मात्र सँगै छौं। अहिलेको समयमा सँगै बसेर मनमुटाव बढाउनुभन्दा अलग बसेर आत्मीयता बढाउनु बढी जाती हुन्छ।

comments powered by Disqus

रमझम