२८ पुस २०७० | 12 January 2014

राज्य कहाँ छ?

Share:
  

हिमाल (१४ पुस) को आवरणमा प्रकाशित 'सुधीर बस्नेत प्रकरणः ७ अर्ब ठगी' रिपोर्ट पढेपछि नेपालका अतिभ्रष्ट कर्मचारी र राजनीतिकर्मी गैरजिम्मेवार हुँदा सर्वसाधारणले कतिसम्म दुःख पाएका छन् भन्ने प्रष्ट हुन्छ। महङ्गो र आलिसान घर बनाउन तथा जग्गाजमीन विश्वका जुनसुकै मुलुकमा खरीद गर्न नेपालका अधिकांश कर्मचारी र राजनीतिकर्मी सक्षम छन्। तर, यस्तोमा जाडो शुरू भएको १५ दिनभित्रै ७ जनाभन्दा बढी नेपालीले चिसोमा कठ्यांग्रिएर ज्यान गुमाउनु परेको छ। जोसँग जाडो छल्न आगो बाल्ने दाउरा, न्यानो कपडाको त कुरै छाडौं चिसोले पिरोल्दा पेटभरी खाने अन्न समेत छैन। सबैलाई थाहै छ, मृत्युपर्यन्त शरीर गाड्न ६ फिट जमीन या डढाउन केही थान दाउरा बाहेक अरू केही आवश्यक पर्दैन। तर पनि, पैसाका लागि किन यति मरिहत्ते गरेर आम जनतालाई रुवाएका होलान्?

प्रेमप्रसाद सञ्जेल, इमेलबाट

सर्वसाधारणमाथि हदैसम्मको ज्यादती हुँदा समेत सरकार मूकदर्शक भएको यो प्रकरणबाट पुष्टि हुन्छ। सरकारी अनुमतिप्राप्त सहकारी र हाउजिङ परियोजनाका नाममा पैसा उठाएर अर्बौं ठगी गर्दा समेत कुनै पनि निकायबाट कारबाही नहुनु र सर्वसाधारणको डुबेको रकम उठाउन जिम्मेवारी नदेखाउनुले राज्यविहीनताको स्थिति प्रष्टिन्छ। जनगुनासो सुनुवाई गर्नुको साटो स्वार्थी राजनीतिक नेताहरूप्रति जिम्मेवार कर्मचारीतन्त्र नसुधि्रएसम्म यस्ता घटना दोहोरिइरहने खतरा छ।

अशेष अधिकारी, इमेलबाट

फाष्ट ट्रयाकमा जोड

हिमाल (७ पुस) मा प्रकाशित 'बाटोले विकास' समाचारले सर्वसाधारणमा केही आशा थपेको छ। मुलुकको प्राथमिकता काठमाडौं–निजगढ फाष्ट ट्रयाक र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमै हुनुपर्छ। यी दुई संरचनाले मुलुकमा पूर्वाधार विकासको बलियो जग तयार गर्नेछन्। अन्यथा जताततै अन्तर्राष्ट्रिय विमानस्थल र दलगत स्वार्थका आधारमा सडक निर्माणको गफ गर्दै जाँदा मुलुकको विकास हुन सक्दैन। सस्तो लोकप्रियताका लागि घोषित प्रचारमुखी परियोजनाले आर्थिक दृष्टिमा समेत मुलुकलाई दुर्घटनातर्फ अग्रसर गराउँछ।

विशाल लिम्बू, इमेलबाट

विकल्प सोलार

हिमाल (७ पुस) मा प्रकाशित वैकल्पिक ऊर्जा सम्बन्धी 'विकल्पले राहत' ले सोलार ऊर्जाबारे धेरै जानकारी दिएकोमा हिमाल लाई धन्यवाद। नेपाल जलस्रोतमा धनी र जलविद्युत् मार्फत नेपालीलाई ऊर्जा पुर्‍याएर बिक्री समेत गर्ने सम्भावना भए पनि निर्णय क्षमताको कमीका कारण पानी त्यसै खेर गइरहेको छ। यो अवस्थामा छोटो समयमै कम खर्चमा जडान गर्न सकिने सोलार ऊर्जा प्रयोग गरी आयातीत पेट्रोलियम पदार्थको खपत घटाउने तथा वनजंगल फडानी रोक्नेतर्फ सबैको ध्यान पुग्न जरूरी छ।

राजबहादुर राई, इमेलबाट

मूर्तिकारलाई सलाम

हिमाल (३० मंसीर) मा प्रकाशित 'मूर्तिकलामा महिला' समाचार पठनीय लाग्यो। पुरुषकै समेत उल्लेख्य उपस्थिति नभएको मूर्तिकला विधामा महिलाको उत्साहप्रद उपस्थिति रहेको थाहा पाउँदा गद्गद् भएँ। मनोरन्जन क्षेत्रमा एउटा फिल्ममा देखिंदा वा कुनै गीतमा मोडलिङ गरेका महिलाका तस्वीरले पत्रपत्रिका छाउँछन्। तर मूर्तिकलामा वर्षौं काम गरेका यस्ता विषय अहिलेसम्म ओझ्ेलमा परेका थिए। वर्षौंदेखि मूर्तिकलामा लागेका पुष्पाञ्जली शेरचनदेखि मीना कायस्थ, सिलासा राजभण्डारी लगायतका कलाकारले आफ्ना सिर्जना मार्फत समकालीन नेपाली ललितकलाको क्षेत्रमा गरेको कामलाई हिमाल ले बाहिर ल्याउनु सराहनीय छ। सिर्जनात्मक मात्र नभई शारीरिक रूपमा समेत काम गर्न कठिन मूर्तिकला विधामा सक्रिय यी दिदीबहिनीको कर्मलाई सलाम!

निशा फुयाल, दोलखा

प्रशंसनीय काम

हिमाल (१६ मंसीर) मा प्रकाशित 'कत्थक नर्तनमा सुविमा' समाचार सान्दर्भिक लाग्यो। भारतको नयाँदिल्लीस्थित श्रीराम भारतीय कलाकेन्द्रबाट शास्त्रीय नृत्य कत्थकमा स्नातकोत्तर गरेर सुविमाले पश्चिमा शैलीका नाचको बोलवाला बढ्दै गरेको नेपालमा फरक छवि आर्जन गर्ने आशा गर्न सकिन्छ। हुन त शास्त्रीय संगीत/नृत्यको महत्व बुझनेहरू अझै कम छन्। अब्बल कला क्षमता भएर पनि पछाडि परेका सुविमा जस्ता गहनाको खोजी गर्दै आगामी दिनमा हिमाल ले चिनाउँदै जाओस्।

प्रमोदराज केसी, दिक्तेल, खोटाङ, हालः काठमाडौं


कुरा यसो पनि हो

हिमाल (३० मंसीर) मा प्रकाशित नेपाल–अंग्रेज युद्धसम्बन्धी आलेखका लागि दिनकर नेपाल र योगेश राजजीलाई धन्यवाद। यद्यपि, मेरो बुझ्ाइमा फरक परेका केही बुँदा यहाँ प्रस्तुत छन्ः

(क) लेखकहरूले भने झैं नेपालले आफ्नोतर्फको लडाईंको रणनीति, योजना र फौज परिचालन कहाँ, कति गरेको थियो भन्ने अभिलेख हालसम्म भेटिएको छैन। अंग्रेजहरूकै बयानको आधारमा नेपालले आफ्नो इतिहास बनाएको हो। यद्यपि, दिनकरजीले दिएको कुल २५ हजार अंग्रेज फौजको आँकडा धेरै कम हो। युद्धमा पटक–पटक गरेर ४० हजार अंग्रेज फौज संलग्न थिए।

(ख) बलभद्र कुँवर 'सरदार' थिएनन्, बरु उनलाई विभिन्न अभिलेखमा कप्तान भनिएको छ।

(ग) हरिहरपुर गढीमा दोस्रो चरणमा मात्र युद्ध भएको थियो। त्यसमा नेपालको नराम्रो हार भएर सुगौली सन्धि बाध्यात्मक बन्यो। अंग्रेज फौज मकवानपुर गढी नभई कर्रा खोला इलाकासम्म मात्र आइपुगेको थियो। दोस्रो चरणमा पनि यस क्षेत्रमा खासै ठूलो युद्ध भएको होइन।

(घ) 'बाघ बुढा' भन्ने उपनाम सरदार भक्ति थापाले होइन, बडाकाजी अमरसिंह थापाका पिता भीमसिंह थापाले पाएका थिए। पलाञ्चोक गढी (हाल काभ्रेपलाञ्चोक) मा भएको एकीकरण युद्धमा भीमसिंहले वीरगति पाएका थिए।

(ङ) कुमाउ र गढवाल क्षेत्रको युद्ध क्रमशः चौतारा बम शाह र बडाकाजीअमरसिंह थापाले संचालन गरेका थिए। बम शाहका आफन्त हस्तीदलले कमाण्ड गरेको ६०० फौज बम शाह मातहत थियो, बडाकाजीसँग सम्बन्धित होइन।

(च) जनरल अक्टरलोनीसँग सन् १८१५ को सम्झ्ौता पत्रमा हस्ताक्षर गर्ने जनरल अमरसिंह थापा होइनन् बडाकाजी नै थिए। जनरल अमरसिंह थापा त जनरल भीमसेन थापाका पिता हुन्।

(छ) दोस्रो चरणको निर्णायक युद्ध भएको राप्ती नदी चितवन र हेटौंडाबीचको हो। मेजर जनरल अक्टरलोनी हरिहरपुर गढी र मकवानपुर गढीलाई एकै पटक कब्जामा लिने योजनामा थिए। अंग्रेज फौज अन्यत्र परिचालित थिएन।

(ज) नेपाल–अंग्रेज युद्धमा चीनले नेपाललाई सहयोग गर्न पठाएको फौज ल्हासा आई नपुग्दै सुगौली सन्धि भएको नयाँ तथ्य योगेश राजजीको लेखमा देखियो। त्यसको थप आधिकारिक जानकारी प्रकाशित भए शोधकर्ताहरूलाई निकै राम्रो हुनेथियो।

(झ्) सन् १८१४–१६ को युद्धस्थल भनेर नेपालको बृहत् नक्शामा देखाइए पनि काँगडामा लडाईं भएको थिएन। यसैगरी, नालापानी भनेर मलाउ किल्लाको भग्नावशेष देखाइएको छ।

(ञ) योगेश राजजीले लेखे जस्तो नेपाल दरबारले नचाहँदा नचाहँदै बडाकाजी अमरसिंह थापाले काँगडा किल्लामा हमला गरेर कब्जा गरेको होइन। त्यो किल्लालाई बडाकाजीले करीब तीन वर्ष घेरामा पारेका मात्र हुन्। त्यही बीचमा मुख्तियार भीमसेन थापाले आफ्ना भाइ काजी नयनसिंह थापाको नेतृत्वमा फौज पठाई काँगडा किल्लामा असफल हमला गरे, जसमा नयनसिंह सहित सयांै नेपाली वीरहरू मारिए।

अन्त्यमा, सुगौली सन्धिस्थल भनेर देखाइएको तस्वीर धेरै वर्षदेखि बेलायती तथा नेपाली इतिहासकारले प्रयोग गर्दै आएका छन्। अतिरथी केशरशमशेर राणाले कल्पना गरी बनाएको त्यो तस्वीरको सक्कल लोकभक्त शमशेर राणासँग छ भन्ने मैले सुनेको छु। तर, त्यो तस्वीरमा देखिने जमीनको बनावट न मकवानपुर क्षेत्रको जस्तो छ न त सुगौली (भारत) को जस्तो। त्यसमा देखाइएको नेपाली फौजको पोशाक र हतियार पनि अमिल्दो छ। अर्को कुरा, सैनिक संग्रहालयबाट प्राप्त हरेक तस्वीर मुनि स्रोत खुलाएको भए उत्तम हुनेथियो।

प्रेमसिंह बस्न्यात, हालः सुर्खेत

comments powered by Disqus

रमझम