२८ पुस २०७० | 12 January 2014

'रु.११ अर्ब कर छलेको पाइयो'

Share:
  

पछिल्ला तीन आर्थिक वर्षयता भ्याट र आयकर छली सम्बन्धी अनुसन्धानमा रु.११ अर्बभन्दा बढी थप कर उठ्ने निष्कर्ष निकालेको आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्मा भन्छन्, “निजी क्षेत्रले स्वयं कर प्रणालीप्रति विश्वासघात गर्‍यो।”

अहिलेसम्ममा रु.११ अर्बभन्दा बढी राजस्व छली भएको पाइनुले के संकेत गर्छ?

पहिलो चरणमा ५१८ फर्मको अनुसन्धान गर्दा करीब रु.७ अर्ब राजस्व छलेको पाइयो भने दोस्रो चरणमा ४९५ फर्ममध्ये ३७७ को अनुसन्धान सकिंदा रु.४ अर्बभन्दा बढी कर छलेको पाइयो। तेस्रो चरणमा १ हजार ५३३ मध्ये २६० फर्मको अनुसन्धान गर्दा थप रु.३५ करोड कर छलेको भेटियो।

अनुसन्धानको दायरामा ल्याइएका सबै फर्म दोषी नै देखिएका हुन्?

अनुसन्धान गरिएका सबै फर्मले कुनै न कुनै रूपले कर छलेको पाइयो। सबैले नक्कली भ्याट बिल नबनाए पनि आयकर वा अरू वित्तीय विवरण झूटो बनाएका थिए।

यसले हाम्रो कर प्रणालीको कमजोरी देखाउँदैन र?

हाम्रो कर प्रणालीका केही त्रुटि भए पनि वैज्ञानिक छ। हाम्रा कर सम्बन्धी नियम र कानूनले पहिलो चरणको कर अधिकृतको अधिकार करदातालाई दिएको छ। उनीहरुले व्यवसायको लेखा परीक्षण गराई स्वयं कर निर्धारण गर्न पाउँछन्। आधुनिक कर प्रणालीले अपेक्षा गरे अनुरूपको नैतिकता र इमान्दारी निजी क्षेत्रले नदेखाएको मात्र हो।

त्यसो भए सरकारले गरेको विश्वासलाई निजी क्षेत्रले दुरुपयोग गरेको हो?

हो। निजी क्षेत्रले स्वयंकर प्रणालीप्रति विश्वासघात गरेको छ। तर, निजी क्षेत्रप्रति राज्यको विश्वास टुट्यो भन्ने होइन।

विभागले सुधारका उपाय अवलम्बन गर्दैन?

स्वयंकर निर्धारण प्रणालीको सबैभन्दा सुन्दर पक्ष भनेको व्यवसायी आफैंले आफ्नो आम्दानीको विवरण देखाएर राज्यलाई कर तिर्न पाउनु हो। नियमित रूपले कर तिर्ने हो भने नाफाका आधारमा पाइन्छ भने कर छल्दा कारोबारकै ८० प्रतिशत तिर्नुपर्छ।

comments powered by Disqus

रमझम