२८ पुस २०७० | 12 January 2014

'महिला हिंसा बढ्यो'

Share:
  

महिलामाथि भइरहेका हिंसाका घटना दिनहुँजसो सार्वजनिक भइरहेका छन्। महिला हिंसा सभ्य समाजका लागि कलंक नै हो। हिमाल ले गत साता देशका प्रमुख ११ शहरमा गरेको सर्वेक्षणले महिलामाथि हुने गरेको हिंसा पहिलेभन्दा बढेको देखाएको छ। 'तपाईंलाई महिलामाथि हुने कुटपिट, आक्रमण, बलात्कार लगायत विभिन्न प्रकारका हिंसा पहिलेभन्दा बढेको जस्तो लाग्छ?' भनेर ३६५ जनासँग सोधिएको प्रश्नमा ६०.३ प्रतिशतले 'बढेको छ' भन्ने उत्तर दिए। २७.४ प्रतिशतले 'बढेको छैन' र ७.७ प्रतिशतले 'पहिलेभन्दा घटेको छ' भन्ने जवाफ दिए। 'थाहा छैन' भन्ने ४.७ प्रतिशत उत्तरदाता भेटिए।

महिला हिंसा 'बढेको छ' भन्नेमा सबैभन्दा धेरै पश्चिमाञ्चलका ७४ प्रतिशत छन्। सुदूरपश्चिमाञ्चलका ६८, मध्यपश्चिमाञ्चलका ६४, मध्यमाञ्चलका ५७ र पूर्वाञ्चलका ५३.३ प्रतिशतले महिलामाथिको हिंसा बढेको बताए। ७२.९ प्रतिशत महिलाले महिला हिंसा 'बढेको छ' भन्ने उत्तर दिए भने हिंसा 'बढेको छ' भन्ने पुरुष ४९.२ प्रतिशत मात्र छन्। स्नातकोत्तर वा सोभन्दा माथिका ३५.१ प्रतिशतले महिला हिंसा 'बढेको छैन' भन्ने उत्तर दिए।

पछिल्लो समयमा महिलामाथि हुने गरेका कुटपिट, बलात्कार लगायतका हिंसाका घटनाहरू पहिलेभन्दा धेरै सार्वजनिक हुन थालेका छन्। यसको कारण के होला भनेर सोधिएको प्रश्नमा ४२.५ प्रतिशतले 'सञ्चारमाध्यमको पहुँच बढेकाले' भन्ने उत्तर दिए। २७.७ प्रतिशतले 'प्रहरीमा पहिलेभन्दा बढी उजुरी पर्ने भएकाले' तथा २५.२ प्रतिशतले 'पहिलेभन्दा धेरै हिंसा भएकाले' यस्ता घटना सार्वजनिक हुने क्रम बढेको बताए।

'महिलामाथिका हिंसाका घटना बढ्नु वा नरोकिनुमा तपाईं केलाई बढी जिम्मेवार ठान्नुहुन्छ?' भन्ने प्रश्नमा ३९.५ प्रतिशतले 'कमजोर कानूनी व्यवस्था' लाई कारण माने। ३६.७ प्रतिशतले 'समाजमा मौलाउँदो दण्डहीनता र अराजकता' का कारण महिलामाथिको हिंसा बढेको बताए। 'पुरुषहरूमा बढ्दो हिंस्रक सोच' लाई दोषी मान्नेहरू २०.५ प्रतिशत छन् भने ३.३ प्रतिशतले 'थाहा छैन' भन्ने उत्तर दिए।

'पुरुषहरूमा बढ्दो हिंस्रक सोच' का कारण महिला हिंसा बढेको उत्तर दिनेमा सबैभन्दा धेरै नेपालगञ्जका ४० र काठमाडौंका ३४.४ प्रतिशत छन्। 'समाजमा मौलाउँदो दण्डहीनता र अराजकता' का कारण महिला हिंसा बढेको उत्तर दिनेमा सबैभन्दा धेरै काठमाडौंका ५२.२ तथा पोखरा, वीरगञ्ज, धरान र दमकका ४० प्रतिशत छन्। 'कमजोर कानूनी व्यवस्था' का कारण महिला हिंसा बढेको बताउनेमा सबैभन्दा धेरै नारायणगढका ८० तथा घोराही र धनगढीका ६४ प्रतिशत छन्।

'महिलामाथि हुने गरेका विभिन्न प्रकारका हिंसा कम गर्न के गर्नुपर्ला?' भनेर सोधिएको प्रश्नमा सबैभन्दा धेरै ७१ प्रतिशतले 'हिंसा गर्नेमाथि कडा कारबाही हुने कानून बनाउनुपर्ने' उत्तर दिए। २६.३ प्रतिशतले 'महिलाहरू नै बढी सचेत बन्नुपर्छ' भन्ने उत्तर दिए। ८१.२ प्रतिशत महिला र ६२.१ प्रतिशत पुरुषले 'हिंसा गर्नेमाथि कडा कारबाही हुने कानून बनाउनुपर्ने' उत्तर दिए। १८–२४ उमेर समूहका ६९.३, २५–३९ उमेर समूहका ६७.९, ४०–५९ उमेर समूहका ७५.५ तथा ६० वर्षमाथिका ७१.१ प्रतिशतले 'हिंसा गर्नेमाथि कडा कारबाही हुने कानून बन्नुपर्ने' जवाफ दिए।

हिंसा हुन नदिन 'महिलाहरू नै बढी सचेत बन्नुपर्छ' भनेर उत्तर दिनेमा मुस्लिम ५० प्रतिशत, मधेशी ४२.१ प्रतिशत, पहाडी दलित ३०.८ प्रतिशत, पहाडी २७.२ प्रतिशत, मधेशी जनजाति २० प्रतिशत, पहाडी जनजाति १६.७ प्रतिशत तथा नेवार १६.२ प्रतिशत छन्। शतप्रतिशत मधेशी दलितले महिला हिंसा रोक्न 'हिंसा गर्नेहरूमाथि कडा कारबाही हुने कानून बन्नुपर्ने' उत्तर दिए।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम