२८ पुस २०७० | 12 January 2014

अवश्यंभावी मृत्युचिन्तन

Share:
  

'मृत्युको अनुसन्धान उतिसारो रुचाइने विषय होइन, तर यो इतिहासमा सबैभन्दा बढी दोहोरिने घटना हो। हिसाब लगाउने हो भने आज यस धरतीमा जति मानिस बाँचेका छन्, त्योभन्दा धेरै मरिसके। मानिस बाँचिरहेको समय ऊभन्दा धेरै जनाले छोडेर गएको समय हो। अनुभव गर्न चाहे मानिसले आफ्नै वरिपरि कैयन् पुस्ता पूर्वजको रिक्तता भेट्टाउन सक्छ।'

यसरी शुरु भएको पुस्तकको भूमिका अगाडि बढ्छ– '... मृत्यु यहीं छ र अहिल्यै छ। तर, मानिसलाई मृत्यु किम्वदन्ती लाग्छ। किनभने, जीवनमा जम्मा एक पटक मरिन्छ, त्यतिवेला के हुन्छ, ऊ जान्दैन। मर्नुको स्वाद कस्तो हुन्छ, ऊभन्दा अघि मरेको आएर भन्दैन। ...

हिन्दूनेवारहरुको मृत्युचेतना

लेखकः योगेश राज

प्रकाशकः मार्टिन चौतारी

पृष्ठः ३३१+१६

मूल्यः रु.३५०

आजको संस्कृतिबाट मृत्यु अदृश्य भएको छ। विद्यालयको पाठ्यपुस्तकमा असल वा खराब मृत्युबारे कुनै पाठ छैन। एक दिन सबै मानिसले मर्नुपर्छ भनेर पढाइँदैन। मर्नु भनेको के हो बच्चाहरूलाई थाहा छैन। तिनले यस्तो प्रश्न गर्ने मौका पाउँदैनन्। केही गरी तिनले सोधिहाले पनि हामी कुरा मोडिदिन्छौं। यसरी मृत्यु–प्रश्न खाटमुन्तिर गुट्मुट्याइएको पोको बन्छ। एकातिर मृत्यु सर्वव्यापी छ। अर्कोतिर त्यसलाई नहेर्ने आम सहमति बनेको छ। यो पुस्तक त्यो आम सहमति विपरीत मृत्युबारे बहस थाल्न लेखिएको हो।'

इतिहासका अध्येता योगेश राजले यो किताब लेख्नुको कारण भूमिकामै खुलाउँदै लामो अध्ययन–अनुसन्धानबाट तयार गरेको हिन्दूनेवारहरूको मृत्युचेतना ले सामान्यतः आतंकको रुपमा ग्रहण गरिएको मृत्युलाई वैयक्तिक तहमा बुझ्ने र व्यवस्थापन गर्ने दार्शनिक–सामाजिक पाटो उधिनेको छ। कतिपय कवि र बैरागीहरूले युद्ध, प्रकोप, महामारी, रोग, भोक र शोकको दास भन्दै व्यंग्य गर्ने गरेको मृत्युबारे विश्वका अरु धेरै समाजमा जस्तै नेपालमा पनि सामाजिक जीवनमा गम्भीर विमर्श गर्ने चलन छैन। हामीकहाँ 'बैंस मेरो बुढ्यौली कालको' भन्ने मूर्खतापूर्ण र सतही सोच हावी हुँदै गएको छ। यो सोचले घर–घर र समाजमा वृद्ध–वृद्धालाई एक्लो पार्दै लगेको छ। यस्तो अवस्थामा योगेश राजको विशद अध्ययनबाट यो पुस्तक आएको छ। मोटाइ जस्तै वजन बोकेको यो किताबलाई नेपाली समाजशास्त्र/नृतत्वशास्त्रको क्षेत्रमा एउटा गतिलो उपलब्धि मान्नुपर्छ।

जन्मसँगै जोडिएर आउने मृत्यु वा कालबारे सामान्यतः कोही अनभिज्ञ छैन, तर यसलाई बोध र व्यवस्थापन गर्ने प्रक्रिया खण्डित वा अवरुद्व छ। मृत्युप्रतिको आतंकजनित उपेक्षाभावले व्यक्तिको समाजोपयोगी जीवन बचाइमा समेत ह्रास आएको छ। अर्थात्, अवश्यंभावी मृत्युप्रतिको उदासीनताले व्यक्तिगत र सामाजिक नैतिकतालाई कमजोर बनाएको यो किताब पढ्दा थाहा हुन्छ। आधुनिक अर्थ–राजनीतिले समाजको परम्परागत चिन्तनलाई व्यक्ति केन्द्रित बनाउँदा मानिसको मृत्यु एक प्रक्रिया नभई बीभत्स जैविक घटना हुन पुगेको छ। जबकि, हिन्दूनेवार र अरु पनि मानव समुदायको संस्कारले मृत्युको सामाजिक आयामलाई आत्मसात गरेर यसलाई समाजको मार्गदर्शक बनाउन खोजेको छ।

हिन्दूनेवार समाजको मृत्युचेतना पर्गेल्ने क्रममा लेखकले पुस्तकको 'मृत्यु साक्षात्कार' खण्डमा सहज–असहज मृत्युवरण, मृत्युबोध, मृत्युप्रति उदासीनता र मृत्यु आतंकका अनेक शब्दचित्र प्रस्तुत गरेका छन्। दैनन्दिनको मृत्यु घटनाहरूमा अभ्यस्त भए पनि त्यसलाई स्वीकार्न नसकेका पाठक मृत्युसँगको विविध खाले साक्षात्कार पढ्दा स्तब्ध हुन्छन्। व्यक्तिपिच्छे फरक मृत्युबोध बुझ्ााउने ती साक्षात्कारहरूमा समाजमा चलेका मृत्यु–रहस्यहरू पनि समेटिएका छन्। एउटा उदाहरण :

'एउटा बिरालो कोठाभित्र आउँछ र कसैले चाल नपाउने गरी निद्राले झ्ाुम्म भएको मानिसको जीउभित्र अस्ताउँछ। त्यो मान्छे राति आफ्नी स्त्रीमाथि घोप्टिंदा बिरालो सरक्क स्त्रीको जीउभित्र पस्छ। बिहान भाँडा माझ्दै गर्दा बिरालो उसको जीउबाट बाहिर उफ्रेर भान्साको झ्यालबाट निस्कन्छ। छानैछाना चहारेर अन्त्यमा कौसीमा निदाइरहेको दूधे बालकको जीउभित्र ओत लाग्छ।

बालकलाई उफार्दै मनोरञ्जन गरिरहेका बाबु, बाबुको अफिसमा काम गर्ने सहकर्मी, सहकर्मीकी बिरामी आमा, यसरी बिरालो नवौं जीउभित्र प्रवेश गर्छ। त्यो नवौं मानिस चार तलामाथिको बार्दलीबाट हाम फाल्छ। पिखालखु मा एउटा बिरालो मरेको छ। एउटी युवती बिरालो आँखा लिएर तपाईंसित मात्रै रहस्यमय मुस्कान साट्दै बसमा उक्लिन्छे। तपाईं उसलाई बस्न दिन सीटमा अलिक पर सरिदिनुहुन्छ।'

सहज मृत्युबोध/वरणको एउटा उदाहरण– 'ठूलो बालाई दम थियो। उनी हँसिला र घरव्यवहारमा निपुण थिए। निश्छल पनि। भन्थे, यसपालि दशैं नाघ्दैन। दशैं ननाघ्दै कौसीमा जाँदा चिप्लिएर लडेछन्। मद्दत गर्न पुग्नेलाई कः कः जिताः कुता यंकी (ल, ल, मलाई तल लैजाऊ) भनेछन्। तल छिंडी पुर्‍याउन मात्र भ्याइयो।' हिन्दूनेवारहरूको मृत्युचेतना भनिए पनि यो पुस्तक मृत्यु नामको अन्त्य प्रक्रियाको एक विशद अध्ययनको रुपमा आएको छ। संसारका सबै प्राणी, वनस्पति र मानव समाजका हरेक सदस्य मरणशील छन्, ती सबै मर्नलाई जन्मेका/उत्पत्ति भएका हुन्। अपवाद बाहेक सबै मानिस मृत्युलाई जीवनको अन्तिम दुःख मान्छन् र मृत्युलाई लिएर सबै समाजले आ–आफ्नो संस्कार निर्माण गरेका छन्। जीवन, मृत्यु र मृत्युपरान्तको अवस्थाबारे हरेक समाजको आ–आफ्नै बुझाइ छ र त्यसको सामना गर्ने विधिविधान पनि। यद्यपि, मृत्युलाई खाली दैहिक विसर्जन मात्र नमानेको हिन्दूनेवार समाजमा यसप्रति अलि बढी अभ्यस्त हुने संस्कार रहेछ।

एउटा उदाहरण– 'प्रत्येक नेवार घरबाट निस्कँदा पिखालखु मा उभिएर हस्तिपरिक्रमा गर्छ, मानौं ऊ अब कहिल्यै नफर्कने गरी जान लागेको होस्।' मृत्युमाथिको चिन्तन–बहस आफैंमा दुरुह दार्शनिक उपक्रम हो, जुन यो पुस्तकले गरेको छ। मृत्यु साक्षात्कार, उपसंहार, सन्दर्भ सामग्री र अनुक्रमाणिका सहित आठ खण्डको पुस्तक दोस्रो भागबाट हिन्दू मृत्युका शास्त्रीय चिन्तनतर्फ गहिरिन्छ।
यो खण्डमा मृत्यु अर्थात् कालको प्रादुर्भाव हुनुको साथै अपराजेय सृष्टितत्वको रुपमा सावित/स्थापित हुन्छ। नेवारहरूको विशिष्ट मृत्यु संरचनामा किसानको मृत्यु, राक्षसको मृत्यु, देवदेवीको मृत्यु, मृत्यु संस्कार, मृत्युको सामाजिक व्यवस्थापन, मृत्यु वर्णन आदिको विश्लेषण पुस्तकको हिन्दूनेवारको मृत्यु खण्डमा छ। पुस्तकमा मृत्युको दर्शनशास्त्रदेखि मृतक परिवारका सदस्य र आफन्तजनले गर्न हुने–नहुने (उचित–अनुचित) सम्मका विवरण समेटिएको छ। र पनि, लेखकले प्रस्तुत मृत्यु विमर्शबाट हिन्दूनेवारहरुको केही विशेषता मात्र बुझ्न मद्दत पुग्ने बताउँदै थप अध्ययनको दायरा देखाएका छन्।

आम मानिसमा अप्रिय विषयमाथिको किताबको भाषालाई आफ्नै पारामा भाँचेर सरसता गुमाउनु लेखकको कमजोरी भएको छ। विषय र भाषा दुवैले आम पाठकलाई किताबमा अड्याइरहन मुश्किल पर्ला, तर समाजशास्त्र, नृतत्व, इतिहास, मनोविश्लेषण आदिका विद्यार्थी तथा गम्भीर अध्येताहरूका लागि यो कृति एउटा दुर्लभ उपहार भएर आएको छ। संस्कार, परम्परा, किम्वदन्ती, मिथक, भाषा र ऐतिहासिक स्रोतहरुको गहिरो अध्ययनबाट तयार भएको प्रस्तुत पुस्तकलाई नेपाली समाजभित्र पसेर निकालिएको खजाना भन्न सकिन्छ।

comments powered by Disqus

रमझम