राणा प्रधानमन्त्री चन्द्रशमशेरले १९७७ सालमा सती प्रथा उन्मूलन गर्नुअघि यो पर्वते मुलुकमा पति मर्दा पत्नीले सँगै चितामा पोलिनुपर्थ्यो। त्यो युगको विषयवस्तुमा कृष्ण धरावासीले २०५७ सालमा लेखेको कथा झोला माथि यादव भट्टराईले फिल्म बनाएका छन्। कथाको रचना गर्भबारे धरावासी भन्छन्ः
फागुन २०५७ मा नेपाल–भारत बीपी कोइराला फाउण्डेशनले आयोजना गरेको साहित्यिक कार्यक्रममा भाग लिन धनगढी गएको थिएँ। फर्किंदा काठमाडौंमा प्रज्ञा–प्रतिष्ठानमा प्राज्ञ सनत रेग्मीसँग भेट भयो। मैनाली कथा प्रतियोगिता आयोजनाको तयारीमा रहेका रेग्मीले मलाई पनि एउटा कथा पठाउन भन्नुभयो, जुन समकालीन साहित्यमा पनि छापिन्थ्यो। मोफसलको लेखकका लागि त्यो एउटा अवसर थियो। मलाई पाए पुरस्कार, नत्र प्रतिष्ठित साहित्यिक पत्रिकामा छापिने मौका जुरेको थियो, तर हातमा गतिलो कथा थिएन।
दिवा बसमा झापा फर्किंदा जति घोरिए पनि घतपर्दो विषय पटक्कै आएन। आएका कति विषय आउँदा आउँदै हराए, दिक्कै लाग्यो। हुँदा हुँदा मन त म किन धनगढी गएँ भन्नेतिर पो जान थाल्यो। आयोजकले पूर्वाञ्चलका दर्जनौं नामी लेखकमध्ये कसैलाई नबोलाएर मलाई नै बोलाएकोमा झ्वाँक पनि चल्यो। फेरि हैन, म केही हुँ कि क्या हो भन्ने तरंग पनि आयो। छेउको सीटमा बोलिरहन नपर्ने मान्छे परेछ, मलाई कल्पनामा हराउन सजिलो भयो। अन्त्यमा, म दुई देशका ठूल्ठूला साहित्यकारको जमघटमा निम्त्याइन लायकको लेखक भएको निष्कर्षमा पुगें अनि आमालाई सम्झिएँ।
२०३३ सालमा १६ वर्षको म स्कूल जाँदै गरेको वेला बुबा बित्नुभयो। भाइबहिनी धूलो खेल्दैथिए। त्यहीवेला घर जल्यो। जसोतसो बनाएको टहरोलाई पनि हुण्डरीले लग्यो। खाने अन्न थिएन। अभावको त्यो अँध्यारोबीच पनि आमाले हाम्रो स्कूलतर्फको बाटो बन्द गरिदिनुभएन। आमाको प्रतापले गर्दा कसैका घरमा हली–गोठालो बस्नु परेन। धन्न सती प्रथा मेरो युगसम्म आइपुगेन! अनि त मैले आफैं भित्र राम्रो कथा भेट्टाएँ। साँझ पर्दै गर्दा बिर्तामोडमा उत्रेर कतै नअल्मलिई शनिश्चरेको घर पुगेर लेख्न थालें।
खाटमा बसेर एकै खेपमा लेखिसकेको कथा हो, यो। पहिलो पाण्डुलिपिमा ऊ वेला लेख्दालेख्दै झारेका आँसुका धमिला दाग अझै छन्। झोला कथाको रचना गर्भ यही हो। प्रतियोगिताको लागि पठाएको कथा समकालीन साहित्यमा छापियो।
प्रस्तुतिः गोपाल गडतौला