२८ पुस २०७० | 12 January 2014

नेपथ्यको सफल अभियान

Share:
  
- रघु पन्त

संगीत र श्रमको सम्बन्धबारे धेरै व्याख्या छन्। संगीतको जन्ममा जस्तै संगीतमा दक्ष बन्न पनि श्रम आवश्यक पर्छ। देश, परिवेश र समयसापेक्ष हुने भएकाले संगीतको रूप परिवर्तन भइरहन्छ। अघिल्लो पुस्ता रमाएको संगीतमा पछिल्लो पुस्ता रमाउँछ भन्ने हुँदैन। संगीतको आफ्नै भाषा, व्याकरण, आधार, पृष्ठभूमि, परम्परा र इतिहास हुन्छ। त्यसैले संगीतले आफ्नो परम्परा र माटोको सुगन्ध छोड्नुहुँदैन। संगीतको मौलिकता माटो, जनताको ढुकढुकी, संस्कृति र जीवनसँग अभिन्न रूपले गाँसिएको हुन्छ।

अमृत गुरुङले नेतृत्व गरेको नेपथ्य टोलीले देशका विभिन्न भागहरूमा 'शान्तिको लागि शिक्षा' अभियान २०७० को अन्तिम कार्यक्रम १४ पुसमा पाटन दरबार चोकमा गर्‍यो। जुन, श्रोता/दर्शकको उपस्थितिको दृष्टिकोणले उल्लेख्य थियो। कलेज पढ्ने पुस्ताको बाहुल्य रहेको श्रोता/दर्शकमा पुसको जाडोसँग सामना गर्दै नाच्ने जोश देखिन्थ्यो।

लोक र रकको फ्युजन

कार्यक्रममा अमृतले पुराना र प्रचलित गीतहरू सुनाए। उनका गीतको विशेषता भनेको नेपाली लोक र रक संगीतको फ्युजन हो। तर मौलिकता र लोक आधार फ्युजनको मुख्य पक्ष हुनुपर्छ भन्ने उनले बिर्सनुहुँदैन।

गीतलाई बाजाका सुर र तालले सुमधुर, सरस र सुगठित बनाउनुपर्छ। श्रोताले कलाकारको गायकी र गीतमा व्यक्त भावहरूलाई सुन्न र बुझ्न पाउनुपर्छ। नभए गीतले अनुभूति दिन सक्दैन। इलेक्ट्रोनिक वाद्यवादनको चर्को सुर र तालले गायकी छोपिनुहुँदैन। अबका कार्यक्रममा नेपथ्यले यसमा ध्यान दिनु जरुरी छ।

नेपाली वाद्यवादनहरूको प्रयोग नेपथ्यले बढाउनु जरुरी छ। हुन त कार्यक्रममा मादलको प्रयोग राम्रै भएको थियो, बाँसुरी, मुरली जस्ता बाजा प्रयोग भएको भए सुनमा सुगन्ध थपिने थियो। पोखराका अमृतले सारङ्गीको प्रयोग बढाएको भए अझ राम्रो हुनेथियो।

नेपथ्यले नयाँ सिर्जनाहरू पनि गरिरहनुपर्छ। हामीसँग पहाडीसँगै भोजपुरी/मैथिली/थारु र नेवारी समुदायका सांस्कृतिक परम्परा र लोकलयहरू छन् भने पूर्वी पहाडका लोकलय र धुनहरूको प्रयोग हुन अझ्ौ बाँकी छ।

संगीतले मानिसका भावना र मनलाई जोड्छ। संवेदना, दुःख र सुख समेट्छ। गाउँ, नगर, जिल्ला र देशलाई एक बनाउँछ। देशलाई परदेशमा समेत विस्तारित गर्छ। त्यसैले संगीत राजनीतिक सीमामा मात्रै सीमित हुँदैन। त्यो स्वच्छन्द र स्वतन्त्र रूपमा फैलन्छ। विश्वव्यापीकरणको यो युगमा त यो झ्ानै सत्य हो। त्यसैले हामी विश्व संगीतबाट अलग्गिन सक्दैनौं। तर विश्व संगीतमा हाम्रो पनि प्रभाव परोस् भनेर हामीले विचार गर्नै पर्छ।

सकारात्मक सन्देश

'नेपथ्य' ले दिने सन्देश उसको प्रमुख विशेषता हो। अशान्ति र द्वन्द्वले दशक गुमाएको यो देशमा स्थायी शान्तिको आवश्यकता छ। पढ्दै गरेका किशोर किशोरीका हातमा बन्दूक थमाउनुलाई क्रान्ति गरेको ठान्ने अविवेकी, अदूरदर्शी र देशवासीको भविष्यप्रति गैरजिम्मेवार राजनीतिक दल रहेको नेपालमा 'शान्तिको लागि शिक्षा' को झनै आवश्यकता छ।

जाति, क्षेत्र र समुदायबीच अविश्वास, द्वन्द्व र हिंसाको बीउ छरिएकोले सामाजिक र सांस्कृतिक अभियानद्वारा त्यसलाई समाप्त पार्ने उद्देश्यले नेपथ्यले यो अभियान थालेको हो। सबैलाई 'हामी नेपाली हौं' भनेर बुझाउनु आवश्यक छ पनि।

कार्यक्रममा अमृतले त्यस्तै अपील गरे। शिक्षा र शान्तिपूर्वक बाँच्न पाउने हक सबैलाई छ भने। पढ्न नपाउनेलाई पढ्ने अवसर दिउँ्क र पढ्ने विद्यालयहरूमा राजनीति नगरौं भने। राजनीतिक खिचातानी र हस्तक्षेपले सरकारी विद्यालयको पठनपाठन बिग्रेको अवस्थामा विद्यालयमा राजनीतिकरण रोकौं भन्ने उनको आग्रह सबैलाई चित्तबुझ्दो लाग्यो।

पुर्खाले बनाइदिएको सांस्कृतिक सम्पदा जोगाउन पनि अमृतले आग्रह गरे। तर, कार्यक्रममा उत्पन्न ध्वनिले सांस्कृतिक सम्पदाहरूमा क्षति नपुगोस् भन्नेतर्फ 'नेपथ्य', नेपालय र आयोजक संस्थाहरूले ध्यान पुर्‍याउनुपर्ने देखिन्छ।

नेपथ्यले अबको अभियानको शीर्षक 'शिक्षाको लागि शान्ति' छान्नु उपयुक्त हुने मेरो सुझाव छ। किनभने शान्तिपूर्वक पढ्न पाउने वातावरण शिक्षाका लागि अपरिहार्य हुन्छ।

comments powered by Disqus

रमझम