५ माघ २०७० | 19 January 2014

यथार्थपरक समाचार

Share:
  

हिमाल (२१ पुस) मा प्रकाशित 'डाक्टर नबनाउने मेडिकल कलेज' समाचार पढेपछि नेपालका शिक्षण संस्थाको अवस्था थाहा हुन्छ। बिरामी पर्दा निको हुने आशा लिएर अस्पताल पुग्ने हरेकको अपेक्षा हुन्छ, आफ्नो उपचार योग्य र दक्ष चिकित्सकबाट होस्। गुणस्तरीय सेवाका लागि सबैभन्दा पहिला त चिकित्सकहरू नै दक्ष हुनुपर्दछ। अक्षम चिकित्सकको लापर्बाहीका कारण मानिसको मृत्यु भएका घटना पनि हामीले सुुनेकै छौं। यो समाचार पढेपछि मेडिकल शिक्षामा सुधार गर्नुपर्ने धेरै पक्ष रहेको प्रष्ट हुन्छ। यसो हुनुमा नेपाल मेडिकल काउन्सिल, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान र मेडिकल कलेज उत्तिकै जिम्मेवार छन्। जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा आगामी दिनमा पनि हिमाल ले खोजी समाचार पस्कियोस्।

निधि शर्मा, कपुरधारा, काठमाडौं

उपचार गर्न अस्पताल पुगेका बिरामीले गुणस्तरीय सेवा नपाएका समाचार त बेलाबखतमा आउने गरेका थिए तर मेडिकल शिक्षाको विकृतितिर भने धेरैको ध्यान गएको थिएन। केही वर्षअघिसम्म भगवानका रूपमा पुजिने डाक्टरमाथि अहिले बिरामीका आफन्तजनबाट हुने गरेको आक्रमणको एउटा कारण पनि यो हुन सक्दछ। निको हुने आशमा अस्पताल पुगेका बिरामीहरू डाक्टरको लापर्वाहीका कारण मृत्युको मुखमा पुग्दाको पीडा आफन्तलाई मात्र थाहा हुन्छ। गुणस्तरहीन जनशक्तिले दिने सेवा पक्कै पनि स्तरीय हुन सक्दैन। स्वास्थ्य क्षेत्रमा व्याप्त अस्तव्यस्त अन्त्य गर्न सरोकारवाला निकायले वेलैमा सोच्नुपर्छ।

सुलोचना चौधरी, इमेलबाट

कर बुझाऔं

हिमाल (२१ पुस) मा प्रकाशित कर छली सम्बन्धी आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माको अन्तर्वार्ता पढेपछि केही लेख्न मन लाग्यो। कर सबै देशमा अनिवार्य हुन्छ। सर्वसाधारणले कर तिरिरहेका हुन्छन् तर उच्च वर्गकाले राजनीतिक र प्रशासनिक आडमा कर छल्ने काम गरिरहेका हुन्छन्। अधिकांश सरकारी अधिकारी कर छलीमा संलग्न हुन्छन्, इमान्दार कमै कर्मचारी कर बढाउन लागेका हुन्छन्। अर्कोतिर करको सदुपयोग पनि भइरहेको हुँदैन। सरकारी अधिकारीहरू मात्र जिम्मेवार हुने हो भने अहिलेको भन्दा तीन गुणा बढी कर उठ्छ। जुन रकम सामाजिक र विकासको काममा लगाउन सकिन्छ। एकै रातमा धनी बन्न खोज्नु अहिलेको मुख्य समस्या हो।

रवीन्द्र घिमिरे, इमेलबाट

फोहोर व्यवस्थापन गरौं

हिमाल (२१ पुस) मा प्रकाशित अस्पतालजन्य फोहोर सम्बन्धी समाचार 'घातक बिस्कुन' यथार्थपरक लाग्यो। अस्पतालबाट निस्किएका फोहोर जथाभावी फ्याँक्दा त्यसले पुर्‍याउने असर लामो समयसम्म रहन सक्छ। वर्षौंसम्म नकुहिने यस्तो फोहोर एकै ठाउँमा फाल्दा त्यसले झ्नै जोखिम बढाउन सक्छ। त्यसैले समयमा यस्ता फोहोरको व्यवस्थापन गरी हानिकारक अस्पतालजन्य फोहोरबाट बच्न सकियो भने स्वास्थ्य समस्या कम हुन सक्छ।

गोपाल पौडेल, इमेलबाट

पीडामाथि पीडा

हिमाल (२१ पुस) मा प्रकाशित केदारनाथमा हराएका नेपालीका परिवारजनको पीडा सम्बन्धी समाचारमा बेपत्ताका आफन्तले खोजबिनका लागि गरेको सास्ती पढ्दा नरमाइलो लाग्यो। बेपत्ता आफन्तजनको खोजीमा भौंतारिइरहेका व्यक्तिलाई सहयोग गर्नुको साटो कहिले यता र कहिले उता जाऊ भनेर सरोकारवाला निकायले देखाएको लापर्वाहीले पीडा झ्नै दर्साउँछ। आफन्त आउने आशमा हरेक दिन बाटो हेरेर बस्नु कम्ती पीडादायक हुँदैन। बेपत्ताको खोजबिनको लागि सरकारले तदारुकता देखाउनुपर्छ।

रामबहादुर थापा, इमेलबाट

comments powered by Disqus

रमझम