५ माघ २०७० | 19 January 2014

झिलिक–झिलिक

Share:
  
- महेश थापा
उत्पादन–वितरणभन्दा बाह्रैमासलोडसेडिङ तालिका बनाउने हाम्रो बिजुली अड्डालाई खिसीटिउरी गर्नेहरू पनि छन्, तर यो अड्डा छ र त हामीले घर अघिल्तिर ठिङ्ग्रिङ्ग उभिएको खम्बाका लठाराहरू बिजुली दौडाउनलाई हो भनेर बिर्सन पाएका छैनौं!

बिलाश राई
मंसीरमा निर्वाचन परेकाले यसपालि झ्न् गजबै भयो। दशैं–तिहारदेखि मतगणना अवधिसम्म लुकामारी नखेलेकी बिजुली मैयाँको व्यवहारबाट घनचक्कर बनेका नेपालीहरूले स्वदेशमा छौं या विदेशमा भनेर खुट्याउनै सकेनन्। हरेक वर्ष हिउँद लाग्दै गर्दा 'भारतबाट बिजुली आयात गर्न सकियो भने मात्र सुक्खायाममा लोडसेडिङ दैनिक १६ घण्टामा सीमित राख्न सकिन्छ' भन्ने भार–प्रेषण केन्द्रका भुवनेश्वर साहेबको नामबाट जारी हुने उर्दी पनि सुन्नु परेन।

सम्भावित २१ घण्टे लोडसेडिङको हाउगुजी सम्प्रेषण गरेपछि प्रसारण लाइन निर्माण, थर्मल प्लान्ट, सौर्य ऊर्जा, वायु ऊर्जाको लागत–लाभ विश्लेषण गर्दै सरकार–विपक्षी दलबीच चल्ने दोहोरीबाट निःशुल्क मनोरञ्जन प्राप्त हुनथालेको दशक पुग्न लाग्यो। त्यसमा विज्ञ र पत्रकारहरू पनि थपिएपछि त्यो मनोरञ्जन तेहरी/चौहरी हुन्छ। यस्तो दोहोरीले घर–घरको बत्ती नबाले पनि हिउँ पग्लिउन्जेल धैर्य गर्ने ऊर्जा दिएको छ।

ऊर्जा मन्त्रीले यो वर्ष दैनिक १२ घण्टाभन्दा बढी लोडसेडिङ हुन नदिने घोषणा गरेका थिए। नभन्दै, त्यत्ति नै घण्टे लोडसेडिङ तालिका निस्किएको छ। नयाँमन्त्री पनि रित्तोहात पक्कै नआउलान्, फागुन/चैतसम्ममा उपहार थप्लान् नै। अरू देशमा नेताहरू चुनावअघि जनतासँग वाचा गर्छन् र जितेपछि राहत लेराउँछन्। हामीकहाँ जितेपछि महँगी, लोडसेडिङ बढाउँछन्, हारे भने भोट किन्दाको पैसा फिर्ता माग्छन्। यस्तो नेता–जनता लेनदेनलाई सकारात्मकै मान्नुपर्छ।

छिमेकमा भने यतिवेला केजरी 'वेभ' चलेको छ। दिल्लीका नवनिर्वाचित मुख्यमन्त्री अरविन्द केजरीवालले विद्युत् महसुल ५० प्रतिशत कटौती गरिदिएपछि अन्य भारतीय राज्यहरूमा भाउ घटाघटको प्रतिस्पर्धा छ। जनताको रायबाट मात्र निर्णय लिने प्रत्यक्ष लोकतन्त्रको अभ्यास थालेका केजरीवालको 'डिमाण्ड' नेपालमा नबढ्ने कुरै भएन। राजनीतिक शुद्धीकरणका लागि अन्ना हजारेको दुहाइ दिनेहरू केजरीवाल जपिरहेका छन्। केजरी प्रेरणाबाट ओतप्रोत हाम्रो बिजुली अड्डाले पनि जनतासँग सोधेर महसुल वृद्धि गर्ने निर्णय लिएको छ। बिजुली अड्डाको केजरीपथबाट हौसिंदै एक मनुवाले 'लोडसेडिङ तालिका चित्त नबुझे सम्पर्क राख्नुहोला' भनी पुछारतिर दिइएको नम्बरमा झ्ट्ट फोन लगाउँदै भनेछन्, “यो बाह्रघण्टे लोडसेडिङ चित्त बुझेन, घटाइदिनुस्।”

अब उप्रान्त यो झ्मेला बेहोर्नु पर्दैन भन्ने जवाफबाट गजक्क पर्दै सुतेका उनी भोलिपल्ट 'अत्यधिक चुहावट हुने फिडर' अन्तर्गत ६ घण्टा लोडसेडिङ थपिएको चाल पाउँदा इन्तु न चिन्तु भई अहिले अस्पताल निवासी बनेका छन्, जुन नितान्त वेग्लै कुरा हो।

लोडसेडिङका अनेक सकारात्मक पाटाहरू छन्, जसलाई नजरअन्दाज गर्नेहरू फेसबूक, ट्वीटर, कार्टून, भिडियो गेम र 'सास–बहु' सिरियलमा खण्डित भएको परिवार–समाजमा संवाद सुचारु भएको देख्दैनन्। छोराछोरी घडीमा अलार्म लगाई रातको एक बजे उठेर मोबाइल, आइफोन, ल्यापटप, ट्याबलेट, फ्याबलेट चार्जमा हाल्छन् भने अभिभावकहरू दुई बजे उठेर मोटरले पानी तान्छन्। चराहरूको चाइँचुइँ अगावै ओछ्यानबाट ट्वीट गर्न नपाएपछि मानिसहरू प्रातः भ्रमणमा निस्कन थालेका छन्।

लोडसेडिङका यस्ता विविध फाइदालाई ध्यानमा राख्दै बिजुली अड्डा २० प्रतिशत महसुल वृद्धिको मनस्थितिमा पुगेको हो। पोहोर पनि झिलिमिली पार्छौं भन्दै २० प्रतिशत महसुल बढाएथे। यसपालि चाहिं सरकारले नदिएको कबोल रकम र कर्मचारीले असुल्न नसक्या बक्यौता शोध भर्नाका लागि वृद्धि गर्न लाग्या रे! बरा, जनउत्तरदायी संस्थाले जनताबाट न असुलेर के गरोस् त!

मूल्य र लोडसेडिङ जति बढाए'नि जनतासँग अन्तरक्रिया गर्ने निर्णयको उच्च सम्मान गर्दै बिजुली अड्डाका केजरीवालहरूलाई एउटा सुझाव छ– घण्टौं लामो लोडसेडिङको सट्टा बिजुली काटिएको पत्तै नहुने 'झिलिक–झिलिक प्रणाली' अपनाउनुस्। एक मिनेटको अन्तरालमा बिजुली काट्ने र छाड्ने प्रविधिबाट लोडसेडिङको किस्सै खत्तम हुन सक्छ।

comments powered by Disqus

रमझम