५ माघ २०७० | 19 January 2014

आत्मनिर्भरसँगै सम्मान पनि

Share:
  

खाना, खजाना (सम्पत्ति)र जनाना (महिला) लुकाउनुपर्ने मधेशी समुदायमा चलेको उखानलाई कर्मशील मधेशी महिलाले धेरै हदसम्म परिवर्तन गरिदिएका छन्। बारीमा तरकारी खेती गरेर बजारमा बेच्ने पर्साको गादी―५ का महिलालाई देख्दा लाग्छ, अब मधेशी महिला विस्तारै घर बाहिर निस्कँदैछन्। उनीहरूमध्ये अगुवा बनेका छन्, सुरपतिदेवी, कलावतीदेवी, कोशिलादेवी, रमियादेवी र सुगान्तीदेवी।

तस्वीरहरुः अली असगर
व्यवहार फेरियो

कोशिलादेवी राय (३५) बारीमा फलेका तरकारी टिपेर बजार पुर्‍याउन बिहानैदेखि व्यस्त हुन्छिन्। बजार नगएको दिन पनि बारीमा तरकारी किन्न आइपुग्छन्, व्यापारी र गाउँले। चार कट्ठा बारीमा भान्टा, काउली, आलु र रायोको साग लगाएकी उनी पतिको पनि सहयोग रहेको बताउँछिन्।

केही नगर्दा भन्दा तरकारी खेती गर्न थालेपछि पतिको राम्रो व्यवहार पाएकी कोशिलादेवीले कमाउन थालेपछि घर बाहिर जान पनि सजिलै अनुमति पाएको अनुभव गरेकी छिन्। बजारमा तरकारी बेच्दा शुरुमा नराम्रो सोच्ने गाउँले पनि सकारात्मक हुँदै गएको उनी बताउँछिन्। स्थानीय 'आमा समूह' बाट रु.१५ हजार ऋण लिएर शुरु गरेको तरकारी खेतीको कमाइले ऋण चुक्ता गरेर तीन जना छोराछोरी सहितको परिवार चलाएको उनको भनाइ छ।

कोशिलाको आम्दानी बढेको देखेर अँधियामा लिएको एक कट्ठा बारीमा तरकारी खेती थालेकी रमियादेवी। चार जनाको परिवार पाल्न सहज भएको बताउँछिन्। काउली, सूपको साग र आलु खेती गरिरहेकी उनलाई पनि आम्दानी गर्न थालेपछि पतिले पहिले जस्तो व्यवहार गर्न छाडेको अनुभव भएको छ। मन लागेको कपडा लगाउन र खानेकुरा किन्न पाएकी उनी पतिको आशामा बस्नु नपर्दा सन्तुष्ट भएको बताउँछिन्।

तरकारी खेती गरेर आत्मनिर्भर भएपछि घरमा झ्गडा समेत हुन छाडेको दुवैको अनुभव छ।

अली असगर, वीरगञ्ज


कब्जा जमीनमा गाईवस्तु लगाइयो

दीर्घराज उपाध्याय

सशस्त्र द्वन्द्वकालमा माओवादीले कब्जा गरेको र अहिले पनि एमाओवादी र माओवादी कार्यकर्ताले खेती गरिरहेको कैलालीको मुनुवा गाविसको ४४ बिघा जमीनको बाली स्थानीयले गाईवस्तु छाडेर नष्ट गरिदिएका छन्। २०४० मा दुष्यन्त राइस मीलका सञ्चालक टेकबहादुर मल्लले विभिन्न वित्तीय संस्थामा बन्धकी राखेको त्यो जमीन १२ वर्षअघि माओवादीले कब्जा गरेको थियो। लालपुर्जा आफ्नो नाममा भए पनि वित्तीय संस्थामा बन्धकी रहेको तथा माओवादीले कब्जा गरेका कारण स्थानीयले जमीन उपभोग गर्न पाएका थिएनन्। वित्तीय संस्थाहरूबाट बन्धकी छुटाएर लालपुर्जा दिन माग गर्दा टेकबहादुरका छोरा दुष्यन्तले माओवादीको कब्जाबाट जमीन छुटाएपछि मात्र वित्तीय संस्थाबाट फुकुवा गर्न सकिने बताउँदै आएका थिए।

त्यही विवादमा स्थानीयले गाविस कार्यालयमा लगाएको ताला सर्वदलीय बैठक गरेर समस्या समाधान गर्ने निर्णय भएपछि २३ पुसमा खोलेका छन्।

दीर्घराज उपाध्याय


स्वाइन फ्लु संक्रमण

स्वाइन फ्लु भनिने 'एचवान एनवान भाइरस' बाट राष्ट्रिय योजना आयोगका सहसचिव भवकृष्ण भट्टराईको ज्यान गएपछि यो रोगबारे जिज्ञासा बढेको छ। अमेरिकाबाट फर्किएलगत्तै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका भट्टराईको २३ पुसमा मृत्यु भएको थियो।

नेपालमा कति छन् रोगी?

सन् २००९ मा मेक्सिकोबाट शुरू भएर विश्वभरि फैलिएको यो संक्रमण यसअघि पनि नेपालमा देखिएको थियो। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा. जीडी ठाकुुर यसको संक्रमण साउन/भदौ र पुस/माघमा बढी हुने र वर्षेनि दर्जनभन्दा बढी स्थानमा देखिने गरेको बताउँछन्। सन् २०१३ मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ५१ जनामा यो भाइरस देखिएको पुष्टि गरेको थियो। सोही वर्ष इन्फुएन्जा ए (एचवान एनवान) र इन्फुएन्जा बीसँग मिलेर थप ११ जनामा यसको संक्रमण देखिएको थियो।

नेपालमा यो संक्रमणबाट ज्यान गएको आधिकारिक पुष्टि भएका भट्टराई पहिलो भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बताए। यद्यपि, विश्वभरि रुघाका कारण मर्नेको दर १ देखि २ प्रतिशत हुने भएकाले एचवान एनवान भाइरसबाट मर्ने अरू पनि हुनसक्ने डा. ठाकुर बताउँछन्। उनको अनुमानमा यो संक्रमणबाट वर्षेनि दुई/तीन जनाको मृत्यु भएको हुन सक्छ।

सुँगुरबाट मान्छेमा सरेकाले स्वाइन फ्लु नाम दिइएको यो संक्रमण रुघा जस्तै सरुवा रोग हो। यो रोग लागेका ९० प्रतिशत बढीलाई अन्य रुघासरह आफैं निको हुने र बाँकीको उपचारबाट निको हुने डा. ठाकुर बताउँछन्। “यो भाइरसबाट मृत्यु हुने दर ०.५ प्रतिशत मात्र हो”, उनको भनाइ छ। परीक्षणबाट यो संक्रमणको दर बढिरहेको देखिए पनि महामारीको अवस्था नरहेको विभागका निर्देशक डा. मरासिनी बताउँछन्। विभागले सन् २००९ अप्रिलदेखि मे २०१० बीचमा रुघा लागेका ६०९ जनामा गरेको अध्ययनमा १७२ जनामा यो संक्रमण देखिएको थियो।

यो संक्रमण गराउने जीवाणु शरीरमा प्रवेश गरेपछि फोक्सो र श्वास–प्रश्वास प्रणालीमा प्रभाव पार्छ। ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, श्वास–प्रश्वास प्रणालीमा असर गर्ने यसका लक्षण हुन्। मधुमेह, दम, उच्च रक्तचापका रोगी र गर्भवती महिलालाई यो संक्रमणले बढी असर पार्ने जानकारी दिंदै ठाकुर भन्छन्, “साबुनपानीले हात धुने, तातोपानी पिउने, भीडभाडमा मास्क प्रयोग गर्ने तथा रुघा लाग्दा जस्तै हेरविचार गरे यो संक्रमणबाट बच्न सकिन्छ।”

comments powered by Disqus

रमझम