५ माघ २०७० | 19 January 2014

सिर्जनाकली आमा बनी

Share:
  

सपना भिलेज लजका मालिक धु्रव गिरीजीले २१ पुसको एकाबिहानै फोन गरेर सिर्जनाकली आमा बन्न लागेको खबर सुनाएपछि हतार–हतार सौराहा पुगें। नभन्दै म लजको हात्तीसार पुग्दा ३८ वर्षकी सिर्जनाकली बेथाले छटपटाइरहेकी थिई। अलिअघि सौराहामा भेटिएका माहुते राजेन्द्र चौधरीले सामान्यतः हात्ती बेलुका ब्याउने बताएका थिए, तर यहाँ बिहान यस्तो भइरहेको थियो।

२१ पुसको राति कुरुवा बस्दै माउते वीरबहादुर गुरुङ।

२२ पुस दिउँसो प्रसव वेदनामा सिर्जनाकली।

ब्याउने क्रममा छावाको खुट्टा निस्कँदै

सिर्जनाकलीको वरिपरि जुटिरहेका गिरीजी र माउतेहरूको लाइनमा उभिएर म हात्तीबारे अगाडि नसुनेका अनेक कुरा सुनिरहेको थिएँ। सौराहामा सरकारी र निजी क्षेत्रका धेरै हात्ती रहेछन्। तर, सिर्जनाकली बच्चा पाउने दोस्रो निजी हात्ती रहिछे। हात्ती; त्यो पनि गर्भवती हात्ती पाल्न धेरै गाह्रो हुनेरहेछ। रात–दिन आराममा राख्नुपर्ने गर्भिणी हात्तीलाई खाना नै महीनामा रु.६० हजारको चाहिने रहेछ। छावा जन्मिएपछि पनि माउ तीन वर्ष आरामै बस्दिरहिछे। अर्थात्, हात्ती मालिकले आम्दानी विनाको धेरै खर्च गर्नुपर्दो रहेछ। त्यही कारण ढोईहरूलाई हत्तपत्त आमा बन्न दिइँदो रहेनछ।

जन्मेपछि बच्चा सालबाट निकाल्दै माउतेहरु।

जन्मेको १५ मिनेटपछि उठ्ने कोशिश गर्दै छावा।

यस्ता कुरा सुन्दासुन्दै दिन गएर रातको १२ बज्यो, छावाको सुरसारै थिएन। माउतेहरूले 'समय भएपछि बोलाउँछौं, अहिले सुत्नुस्' भनेपछि म कोठातिर लागें। भोलिपल्ट दिउँसो साढे दुई बजे सिर्जनाकलीले छावा जन्माउँदा म त्यहाँ पुगिसकेको थिएँ। दुई दिनदेखिको तनाव सकिएर सबै उत्सवको मूडमा देखिए। विदेशीहरू पनि 'बेबी एलिफ्यान्ट' भन्दै त्यहाँ झ्ाुम्मिएका थिए। २२ महीनामा जन्मेको सुन्दर–स्वस्थ छावा ३० पुसमा ९ दिनको भएपछि न्वारान गरेर नाम राखिने छ।

बिक्रम राई, शब्द/तस्वीर

comments powered by Disqus

रमझम