५ माघ २०७० | 19 January 2014

जागीरको जाल

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ, क्वालालम्पुर, मलेशियामा
पढाइपछि उतै आकर्षक जागीर पाउने लोभ देखाउँदै रु.८ लाख लिएर मलेशिया पुर्‍याइएका विद्यार्थी पढ्न र काम पाउनुको साटो जेल पर्दैछन्।

तस्वीरहरुः डम्बरकृष्ण श्रेष्ठ
बिजोगः मलेशियाको क्वालालम्पुर, सेतापाकस्थित होस्टलमा अलपत्र विद्यार्थी।
नेपालका आधा दर्जन एजुकेशन कन्सल्टेन्सीले मलेशियाको ग्रीनसिटी कलेज र एकेडेमीमा 'हस्पिटालिटी इन क्रुज म्यानेजमेन्ट' पढ्न पठाएका ३०० भन्दा बढी विद्यार्थीको रु.६ देखि रु.८ लाखसम्म डुबेको छ। जसमध्ये क्वालालम्पुरमा रहेका ३५ विद्यार्थीले राजदूतावासमा निवेदन दिएका छन् भने केहीले स्थानीय अदालतमा मुद्दा समेत दायर गरेका छन्।

काठमाडौं, बानेश्वरका अक्सन इन्ष्टिच्युट एन्ड कन्सल्टेन्सी र कान्तिपुर ओपन इन्टरनेशनल, पुतलीसडकका कङ्गारु एजुकेशन, मापल इन्टरनेशनल, डायनामिक कन्सल्टेन्सी, बसुन्धराको एक्टिभ कन्सल्टेन्सी, चितवनको सेफिल्ड एजुकेशन मार्फत दुई वर्षयता उनीहरू मलेशिया पुगेका थिए। उनीहरूमध्ये करीब २०० जना डुबेको रकम उठाउन कन्सल्टेन्सी र कलेजलाई ताकेता गर्दै मलेशियामै छन् भने चार महीना यता अक्सन इन्ष्टिच्युटले पठाएका अरू २० जनाको स्थिति पनि उस्तै छ। उनीहरूमध्ये कैयौंको भिसा सकिएको छ भने कलेजमा बुझाएको पासपोर्ट पनि पाएका छैनन्।

लोभ देखाएर ठगी

एक वर्षको लागि रु.६ लाख कलेज शुल्कमा रु.२ लाख थपेर रु.८ लाख तिर्दा मासिक २५०० अमेरिकी डलर तलबको पानीजहाज (क्रुज) मा रोजगारी पाउने लोभ देखाएर उनीहरूलाई मलेशिया पुर्‍याएको पाइएको छ। २० पुसमा हिमाल ले क्वालालम्पुरमा भेटेका विद्यार्थीले मलेशियाको कलेज र नेपालका कन्सल्टेन्सीले योजनाबद्ध रूपमा आफूलाई फसाएको बताए। ६ सेप्टेम्बर र ९ अक्टोबरमा अक्सन कन्सल्टेन्सीले पठाएका २० जना सहित करीब ३० जना बस्ने होस्टलको अवस्था नाजुक देखिन्थ्यो। पहिल्यै रु.८ लाख तिरेकाले घरबाट थप पैसा मगाउन नसक्दा दुईछाक खान समेत नपाएको उनीहरूको भनाइ छ। भिसा थप्न कलेजले पासपोर्ट लगेर फिर्ता नदिएका कारण २१ पुसमा मुस्कान गाहा मगरलाई स्थानीय कोतराय बजारबाट पक्रेर जेल पुर्‍याएको छ।

पुतलीसडकको राम ढकाल संचालक रहेको मापल कन्सल्टेन्सी मार्फत आएका काठमाडौंका निरज श्रेष्ठ, पोखराका हिमाल गुरुङ र ईश्वर सापकोटाले सञ्चालन गरेको अक्सन कन्सल्टेन्सीबाट आएका रामचन्द्र जिसी, लगायत धेरै जनाको भिसा सकिएको छ। निरज भिसा थप्न पासपोर्ट बुझाएको तीन महीना हुँदा पनि कलेजले भिसा नथपेको र पासपोर्ट पनि नदिएको बताउँछन्।

१० अक्टोबरदेखि पढाइ शुरू हुने भनिएकाले ९ अक्टोबरमा ९ जनाको टोलीमा मलेशिया पुगेकी काठमाडौं कलङ्कीकी रोजिना रिसाल एयरपोर्टमा ७ घण्टापछि मात्र कलेजका प्रतिनिधि लिन आउँदा मनमा चिसो पसेको बताउँछिन्। एक महीनासम्म पढाइ नभएपछि ठगिएको निष्कर्ष निकाल्दै उनले १२ नोभेम्बरमा कलेज विरुद्ध मलेशियामै मुद्दा दिएकी छिन्। काठमाडौं बागबजारमा एक व्यावसायिक संस्थामा म्यानेजर रहेकी उनी राम्रो जागीर पाउने आशाले रु.८ लाख तिरेर त्यहाँ पुगेको बताउँछिन्। उनका अनुसार ३०० नेपाली विद्यार्थी ठग्ने ग्रीनसिटीको नाम फेरेर बनाइएको लेन्स एकेडेमीमा नै उनलाई भर्ना गराइएको पछि मात्र थाहा भयो। सयौंलाई क्रुजमा रोजगारी दिने भने पनि १५ जना नेपाली विद्यार्थीलाई मात्र क्रुजमा काम दिलाइएको र उनीहरूकै तस्वीर देखाएर अरूलाई लोभ्याइएको रोजिना बताउँछिन्।

तस्वीरः ईश्वर सापकोटाको फेसबुकबाट
मिलेमतोः ग्रीनसिटी कलेज र लेन्स एकेडेमीका सञ्चालकहरू लिली योङ्ग, इक्राम र मोख्तारका साथमा अक्सन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक ईश्वर सापकोटा (रातो घेरामा)।
मलेशियाली लिली योङ्ग, इक्राम र मोख्तार सञ्चालक रहेको ग्रीनसिटी कलेजले नेपाल सहित भारत, इरान, बंगलादेश र मंगोलियाबाट विद्यार्थी ल्याएर 'इन्टर्नसीप प्रोग्राम' को नाममा हप्ताको पाँच दिन १२ देखि १६ घण्टासम्म विभिन्न होटलका रेस्टुरेन्टमा काम लगाउने र आधा पैसा मात्र दिने गरेको विद्यार्थी बताउँछन्। हप्ताको छुट्टी हुने दुई दिन पढाउने गरेको सो कलेजले तल्लोस्तरका रेस्टुरेन्टहरूमा पनि भाडा माझन पठाएको झ्ापाका विनोद गुरुङ बताउँछन्। होटलमा काम गर्दा पानीले आफ्नो खुट्टामा घाउ बनाएको पनि उनले देखाए। दुबईमा मासिक रु.८० हजारको जागीर छाडेर अक्सन कन्सल्टेन्सीका सञ्चालक राजकुमार गुरुङ मार्फत उनी मासिक १००० देखि २५०० अमेरिकी डलर कमाउने लोभमा आएका थिए। डायनामिक कन्सल्टेन्सीबाट आएका सिन्धुलीका पेमा शेर्पाले मुद्दा दिएपछि ग्रीनसिटीले मलेशियन सरकारबाट कक्षा १० सम्म मात्रै पढाउने स्वीकृति पाएको खुलेको थियो। त्यसपछि ४ महीनाअघि ग्रीनसिटीको नाम फेरेर लेन्स एकेडेमी बनाइएको हो। २२ पुसमा बहस हुने भनिएको रोजिना सहित अन्य देशका ३० विद्यार्थीले कलेज विरुद्ध दायर गरेको मुद्दाको सुनुवाई २ माघका लागि सरेको छ।

कारबाहीको कमजोर पहल

विद्यार्थी र अभिभावकको दबाब बढेपछि पुस दोस्रो साता नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) का अध्यक्ष राजेन्द्र बरालको नेतृत्वमा कन्सल्टेन्सी संचालकहरूको टोली मलेशिया पुगेर कलेज सञ्चालक र नेपाली राजदूतावासका पदाधिकारीसँग छलफल गरेको थियो। एक साता मलेशिया बसेको सो टोलीमा ईक्यानका उपाध्यक्ष प्रकाश पाण्डे, महासचिव तथा कङ्गारु कन्सल्टेन्सीका महेशबाबु तिम्सिना, कानूनी सल्लाहकार ज्योति अधिकारी, अक्सनका ईश्वर सापकोटा, एक्टिभका पूर्णबहादुर केसी, कान्तिपुर ओपनका बिके श्रेष्ठ र सेफिल्ड एजुकेशनका खिम श्रेष्ठ थिए। उनीहरूले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाली राजदूतावासको सहयोगमा कलेजका सञ्चालकहरूसँग छलफल गरे पनि समस्याको समाधान नआएको विद्यार्थी बताउँछन्।

ईक्यानका अध्यक्ष बरालले चाहिं कलेजहरूले भने अनुसार नगरेकाले समस्या देखिएको बताए। कलेजले भने अनुसार नै अक्सन कन्सल्टेन्सीले विज्ञापन गरे पनि कलेजले धोका दिएको र ग्रीनसिटी कलेजले विद्यालयस्तरको पढाइको मात्र अनुमति लिएको देखिएको उनको भनाइ थियो। नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्नेत, कलेजका सञ्चालक लिली योङ्ग र एनआरएनएका प्रतिनिधि सहितको छलफलले विद्यार्थीलाई तारे होटलमा इन्टर्नको व्यवस्था मिलाउने, पढाइ सकेकालाई जागीर दिलाउने र त्यो सम्भव नभए सबै पैसा फिर्ता दिने सहमति भएको उनको दाबी छ। मलेशियाको 'हस्पिटालिटी इन क्रुज म्यानेजमेन्ट' को पढाइमा समस्या देखिएपछि ईक्यानले दुई महीनाअघि सरकारलाई भनेर विद्यार्थी पठाउन रोक लगाएको पनि उनले दाबी गरे। बरालले भने “कलेजलाई रकम बुझाइसकेकाले कन्सल्टेन्सीको दोष देखिएन, कलेजको बदमासी देखिएकाले ईक्यान, दूतावास, एनआरएनए मिलेर कलेजबाट क्षतिपूर्ति लिने प्रयत्न गरिरहेका छौं।”

राजदूत बस्नेत ठगी गरेको आरोपमा मलेशियन सरकारले निलम्बन गरेको ग्रीनसिटी कलेजले नाम फेर्दै कन्सल्टेन्सीहरूको सहयोगमा नेपाली विद्यार्थी ल्याएको पाइएको बताउँछन्। ग्रीनसिटी र लेन्स एकेडेमीका नाममा ठगी गर्ने गिरोह एउटै रहेको पनि उनको भनाइ छ। २०० भन्दा बढी नेपाली विद्यार्थी ल्याएकोमा कैयौं फर्केको र ३५ जनाको समस्या दूतावासमा आएको बताउँदै उनले भने “१० जनवरीसम्ममा समस्या हल नभए मलेशियाको शिक्षा मन्त्रालयलाई लिखित पत्र पठाउने कलेजका सञ्चालकहरूलाई बताएको छु।”

ठगीको जालः लेन्स एकेडेमीका नाममा शतप्रतिशत 'जब ग्यारेन्टी' गरिएको पर्चा र अक्सन कन्सल्टेन्सीको विज्ञापन।

पानीमाथिको ओभानो

मलेशिया सरकारले निलम्बन गरेको ३०० विद्यार्थी ठग्ने ग्रीनसिटी कलेजमा विद्यार्थीलाई किन पठाइयो भन्ने हिमाल को प्रश्नमा अक्सन कलेजका प्रबन्ध निर्देशक ईश्वर सापकोटाले आफूले त्यस्तो होला भन्ने थाहा नपाएर २० जना पठाएको बताए। ग्रीनसिटीमा समस्या देखेरै विद्यार्थी नपठाएको तर लेन्समा राम्रो व्यवस्थापन रहेको आफैंले देखेपछि पठाउन थालेको उनको भनाइ छ। तर सापकोटाकै फेसबुक पेजमा ग्रीनसिटी लेखिएको ब्यानर अगाडि कलेजका सञ्चालकहरूसँग खिचेको तस्वीर हिमाल ले फेला पारेको छ। आफूले पठाएका नयाँ विद्यार्थीले भने अनुसार सुविधा र जागीर नपाएपछि फर्कने मनस्थितिमा रहे पनि खाने/बस्ने समस्यामा नपरेको उनको दाबी छ। तर, उनले दुई महीनाअघि दुई पटकमा फूलमाला लगाएर पठाएका २० जना विद्यार्थी बेहालमा छन्।

ग्रीनसिटी कलेज बारे नकारात्मक समाचार सुनेका विद्यार्थीलाई उनले “फरक संस्था भएकाले ढुक्क भएर गए हुन्छ” भनेको प्रहरीले पक्रनुअघि सुर्खेतबाट मलेशिया पुगेका विद्यार्थी मुस्कान गाहा मगरले बताएका थिए। “मैले ग्रीनसिटीको बदमासी सुनाउँदा त्यो अर्कै कलेज भएको बताउँदै ढिलो पैसा बुझ्ाए हजार रिंगिट (रु.३० हजार) बढी लाग्छ भन्दै पैसा लिए” उनले भनेका थिए। सुनसरीका कमल राई भन्छन्, “उनीहरूले होस्टल, कलेज सबै हेरेको बताउँदै वेस्टर्न स्टाइलको बसाइ, तारे होटलमा इन्टर्न र एक वर्षपछि क्रुजमा जागीर हुने भनेका थिए।” कान्तिपुर दैनिकमा छापिएको 'शतप्रतिशत जब ग्यारेन्टी' को विज्ञापन देखेर लोभिएकी काठमाडौंकी रजनी कार्कीको भनाइ पनि राईको जस्तै छ। “क्रुजको जब, धेरै कमाइ र वर्ल्ड टुरको सपना देखाए”, कार्की भन्छिन्।


'अरूलाई नपठाऊ भन्दा पनि पठाए'

कमल राई धरान,

सुनसरी

अक्सनबाट पहिलो लटमा आएका हामी ११ जनाले ठगिएको थाहा पाएपछि कन्सल्टेन्सीका ईश्वर सापकोटालाई 'हामीलाई फर्काऊ, अरूलाई नपठाऊ' भन्यौं। तर, एक महीना नबित्दै अरू ९ जनालाई पनि उनले पठाए। मलेशियामा क्रुजको रोजगारीको नाममा हुने बदमासी थाहा पाएर साथी सुरेश गुरुङ र मैले अक्सनका राजकुमार गुरुङलाई भन्दा “वेस्टर्न बसाइ र पढाइ रहेको हामीले देखेकाले ढुक्क भएर जाऊ” भन्दै रु.८ लाख लिए।

'कमिशनका लागि हामीलाई बेचे'

ज्ञानीराज उप्रेती

चन्द्रनिगाहपुर, रौतहट

भेनस क्यासिनोमा गेम खेलाउने काम गरेको वेला अक्सन कन्सल्टेन्सीका ईश्वर सापकोटाले क्रुजको जागीरको लोभ देखाए। ग्रीनसिटीमा रकम डुबाएर काम नपाएकाहरूबारे भन्दा उनले पैसा नडुब्ने ग्यारेण्टी भयो भन्दै कलेजलाई रु.६ लाख २० हजार र अरू खर्च गरी रु.८ लाख लिए। अहिले थाहा भयो, उनले कमिशनका लागि हामीलाई बेचेछन्। कलेजले पनि इन्टर्नका नाममा काम लगाएर आधा पैसा आफैं राख्ने रहेछ।

'पैसा फिर्ता नलिई फर्कन्न'

रोजिना रिसाल

काठमाडौं

राम्रो संस्थामा काम भए पनि धेरै कमाउने र संसार घुम्ने लोभमा मलेशिया आएँ। तर, अक्सन कन्सल्टेन्सीले भने जस्तो यहाँ केही थिएन। ठगिएको थाहा पाएपछि लेन्स एकेडेमी विरुद्ध रकम फिर्ता र क्षतिपूर्तिको माग सहित मुद्दा हालेकी छु। डुबेको रकम फिर्ता नलिई घर फर्कन्न।

'प्लान गरेरै ठग्यो'

मुस्कान गाहा मगर

सुर्खेत

ऋण गरेर जुटाएको रु.८ लाख पनि गयो, बिजोग पनि भयो। ग्रीनसिटीले नेपाली ठगेको थाहा पाएर अक्सनका सञ्चालकलाई भन्दा “फरक कलेज हो, ढुक्क हुनु, एक वर्षपछि क्रुजमा जागीर खानेछौ” भने। तर यहाँ आएपछि सुत्ने ओछ्यान समेत राम्रो पाइएन। यहाँको कलेज र नेपालको कन्सल्टेन्सीले प्रि–प्लान गरेरै हामीलाई ठगेको रहेछ।

comments powered by Disqus

रमझम