५ माघ २०७० | 19 January 2014

जिन्दगीको गतिमा बे्रक

Share:
  
- चन्द्रकिशोर
तराईमा बढ्दो शीतलहरको प्रकोपसँग जुध्न राज्यले विशेष व्यवस्था गर्नुपर्छ।

२३ पुस मलाई काठमाडौंबाट वीरगञ्ज जानुपर्ने थियो। घमाइलो काठमाडौंको विमानस्थल पुग्दा थाहा पाइयो– तराईतिर जाने प्रायः उडान कुहिरोले गर्दा स्थगित भएछन्। फर्किन जरूरी भएकाले मोटरबाटो रोजें। तर, तराईतिर भिजिविलिटी कम भएकाले उडान स्थगित भएको भन्दा कतिपय काठमाडौंवासीले पत्याएनन्। पहिला भने मलाई पनि जाडोको असर महाभारतभन्दा उत्तरतिर बढी हुन्छ भन्ने लाग्थ्यो। काठमाडौंका हुनेखानेहरू जाडो छल्न मधेश र्झ्थे।

के हो शीतलहर?

केही वर्षयता शीतलहर तराईको जीवनमा प्रकोप बनेको छ। वायुमण्डलमा मिसिएको जलको सूक्ष्मकण पृथ्वी सतहभन्दा केही माथि जमेर वाफ बन्दा धूवाँ जस्तो देखिन्छ, जसलाई कुहिरो भनिन्छ। र, त्योसँगै चिसो हावा चल्नुलाई शीतलहर भनिन्छ। घाम निस्केपछि चिसो हावा तातो भएर माथि उठेपछि कुहिरो हट्न शुरू हुन्छ। शीतलहर कति लामो चल्छ, कहिले हट्छ भनेर वार्षिक रूपमा सूचीकृत गर्न सकिंदैन। कुनै वेला हप्तौंसम्म चल्छ भने कहिले भोलिपल्टै घाम लागेर हट्छ। शीतलहर नेपालको तराईमा मात्र नभएर चुरे पर्वत श्रृंखला भन्दा दक्षिण गंगाको तटीय क्षेत्र अर्थात् पाकिस्तानदेखि उत्तर भारतहु147दै बंगलादेशसम्म चल्छ।

देशकै सर्वाधिक जनघनत्व बोकेको तराईमा प्रतिव्यक्ति आय कम भएका व्यक्तिहरू बढी बसोबास गर्छन्, उनीहरूको लागि शीतलहर त्रासदी बन्छ। कवयित्री रुपाली सिंहले मौसमको मार भन्ने कवितामा भनेकी छिन्

रात जसमाथि मनभरि वर्षाउँछ कहर

पाश! यो मौसम अमिरहरूको लागि हो

उसो त गरीबहरूको कुनै मौसम हुँदैन

उनीहरूलाई त लड्नु छ लामो लडाईं

आफ्नो मनमाफिकको मौसमका लागि

अहिले,

मौसमको मार निकै खतरनाक छ पाश

मौसम निरंकुश तानाशाह छ हाम्रो लागि।

शीतलहरले मानिसको मृत्यु भएको समाचार आउन थालेपछि कतिपयले प्रश्न उठाएका छन्, चिसोले मानिस मरेका हुन् कि गरीबीले? चिसोको प्रकोप धनी र गरीब दुवैलाई हुने भए पनि धनीसँग त्योबाट जोगिने बन्दोबस्त हुन्छ, त्यसकारण मर्नेहरू आर्थिक रूपले कमजोर नै हुन्छन्। तराईमा सामाजिक रूपमा कमजोरहरू आर्थिक रूपमा पनि कमजोर हुन्छन्।

शीतलहरको कारणबारे पर्यावरणवादी, मौसम वैज्ञानिक र भूगोलविद्का आ–आफ्ना धारणा छन्। पछिल्ला डेढ दशकदेखि यो समस्या प्रकोप बन्न थालेपछि थोरबहुत खोजबिन हुन थालेको छ। पाकिस्तान र उत्तरी भारतमा ठूलो संख्यामा सिंचाइ योजना, भू–जलको प्रयोग र तटबन्धले गर्दा यो क्षेत्रमा सापेक्षिक आर्द्रता बढ्न गएको बताइन्छ। जाडोमा तापक्रम कम हुँदा चिस्यान झ्न् बढ्छ।

वायुमण्डलको प्रदूषण र हरितगृह ग्याँसको उत्सर्जनको असरले कुहिरो पनि बढाउँछ। पहाडमा भने जाडो मौसम सफा हुने गरेको छ। समुद्रबाट टाढा र उत्तर पर्ने नेपालको पश्चिमी तराईमा शीतलहरको असर अरू बढी देखिन्छ।

सबैलाई असर

शीतलहरले मानवसँगै तराईका कोशी टप्पु, पर्सा, चितवन, बर्दिया र शुक्लाफाँटा आरक्षका वन्यजन्तुलाई पनि उत्तिकै असर पुर्‍याउँछ। धेरै मानिस बस्ने तराईमा सुकुम्बासी, कमैया, घरवारविहीन, घुमन्तेहरूको पनि ठूलो संख्या छ। शीतलहरका भुक्तभोगी उनीहरू नै हुन्। निम्न तथा मध्यम वर्गीय परिवारका पुरुषले भन्दा महिलाले बढी जाडो खेप्नुपर्छ, पुरुषहरू ओछ्यान वा अँगेनो वरिपरि र महिलाहरू काममा हुने भएकाले।

शीतलहरको वेला औद्योगिक उत्पादन पनि घट्छ, कारखाना बन्द हुने वा रात्रिकालीन सिफ्ट कम हुने भएकाले। व्यापार व्यवसायमा पनि मन्दी ल्याउँछ। घना कुहिरोले दिउँसै बत्ती बालेर हिंड्नुपर्ने, दुर्घटना बढी हुने भएकाले यातायातका साधनले यात्रु धेरै पाउँदैनन्। खुला आकाशमुनिको व्यवसाय सुक्छ। माटोका भाँडा बनाउने, माछा मार्ने, कपडा धुने काममा पनि शीतलहरले बाधा पुर्‍याउँछ। हवाई यातायात अवरुद्ध हुँदा तराईसँगै पहाडी क्षेत्रलाई समेत असर पार्छ। शीतलहरको प्रकोप हुने मंसीरदेखि माघसम्ममा बालीनालीको उत्पादन घट्छ। गाउँको उत्पादन शहरसम्म पुर्‍याउन गाह्रो हुन्छ। विद्यालयमा पठनपाठन बन्द हुन्छ, कार्यालयहरूको सेवामा असहजता आउँछ। जिन्दगीको गतिमै बे्रक लाग्छ।

पारम्परिक रूपमा “जीवेत शरदः शतम्” भन्दै सय वर्ष बाँच्ने कामना गर्दा सय वटा शरद ऋतुसम्म बाँच्ने भनिन्थ्यो। अहिले भने शरद ऋतु संहारको कारण बन्दैछ। यो उक्तिले पहिला यो रूपको शीतलहर नहुने संकेत गर्छ। अहिले शीतलहरले तराईको जीवनशैली फेर्नुपर्ने बाध्यता ल्याउँदै छ। गर्मी हुने तराईका मानिसको रहनसहन, घरको बनोट, खानपान गर्मी छल्ने किसिमको हुन्छ। तर, अब गर्मी र जाडो सहन सक्ने जीवनशैली विकसित गर्नुपर्ने भएको छ। जाडो हुने पहाड र हिमालका मानिसहरू जाडोसँग जुध्न अभ्यस्त छन्, त्यसका लागि उनीहरूले बन्दोबस्त पनि गरेका हुन्छन्। मधेशमा भने मानिसहरू बल्ल जाडो छल्न सिक्दैछन्।

शीतलहरलाई राष्ट्रिय प्रकोप मान्नुपर्ने अवस्था पनि आइसकेको छ। शीतलहर उद्धारका लागि सदरमुकामभन्दा गाउँमा केन्द्रित हुनुपर्छ। बालीमा पुग्ने नोक्सानीबारे किसानहरूलाई जानकारी गराउनुपर्छ। युवा रित्तिएका तराईका गाउँका वृद्ध र बालकहरूको उपचारमा अप्ठ्यारोपन ल्याएको छ। त्यस बारेमा जिल्लाभरिका स्वास्थ्य चौकीलाई प्रभावकारी बनाउँदै शीतकालीन स्वास्थ्य शिविर संचालन गर्ने योजना बनाउनुपर्छ। अहिलेसम्म शहरी क्षेत्रका केही ठाउँमा आगो बालिदिने, केही थान कम्बल बाँड्ने जस्ता काम मात्र भएका छन्। स्वास्थ्य सम्बन्धी चेतना फैलाउन स्थानीय मिडिया मार्फत स्थानीय भाषामा जानकारी दिइनुपर्छ। त्यस्तो वेला के गर्ने, के नगर्ने र कस्ता रोगीले के गर्ने भन्ने सूचित गर्नुपर्छ। ट्राफिक दुर्घटनाबाट जोगिन पनि सचेतना फैलाउनुपर्छ।

शीतलहर एउटा वर्गको लागि कारोबारको उत्कर्ष समय हो। सिरक, जाडोका कपडा, हीटर, दाउराको कारोबार बढ्छ। तर सिरक बनाउने झ्न्झ्ट भन्दा ब्ल्याङ्केट किन्ने, हातबुनुवा स्वेटर भन्दा रेडिमेट किन्ने जस्ता चलनले सिरक बनाउने वा खुला ऊन बेच्नेहरूको कारोबार घट्दैछ। जाडो छल्न चिया पिउनुपर्ने बुझ्ाइले चियाको कारोबार पनि बढाएको छ।

comments powered by Disqus

रमझम