५ माघ २०७० | 19 January 2014

जीवनोपयोगी दस्तावेज

Share:
  

द पावर अफ सेल्फ माइन्ड कन्ट्रोल

(आफ्नो मनलाई नियन्त्रण गर्ने शक्ति)

लेखकः बर्ट गोल्डम्यान

अनुवादः ऋषिराम पाण्डेय

प्रकाशकः रेड एप्पल पब्लिकेशन प्रालि

मूल्यः रु.३९५,

पृष्ठः ३०८+१६

अमेरिकी भिक्षु बर्ट गोल्डम्यानको किताब 'द पावर अफ सेल्फ माइन्ड कन्ट्रोल (आफ्नो मनलाई नियन्त्रण गर्ने शक्ति)' खुशी र दुःखको उल्झनमा सताइएको समाजलाई नयाँ बाटो देखाउने प्रेरणाको स्रोत बन्न सक्छ। गल्तीको अनुभूति र डरको कारण खुशीका अवसर चुकाउने व्यक्ति मनको अनियन्त्रित आवेगकै कारण दुःखको रापमा रापिन बाध्य हुने तथ्य किताबले प्रस्तुत गरेको छ।

पश्चिमी समाजमा व्याप्त हतार, आवेग र क्रोधले धमिलिएको मनलाई शान्तिको सन्देश सिकाउने मूल उद्देश्य बोकेको किताबमा पूर्वमा विस्तारित अस्थिरतालाई पनि सम्बोधन गर्ने शक्ति छ। अल्मलिएको खुशी चिन्ने पाँच उपाय सिकाएका गोल्डम्यानले मन परेको कुराबाट आनन्द लिन, मन नपरेकोलाई छोडिदिन, मन नपरे पनि छोड्न नसकेकोलाई परिवर्तन गर्न तथा छाड्न र परिवर्तन गर्न पनि नसक्ने कुरालाई दृष्टिकोण परिवर्तन गरेर स्वीकार्न सुझाव दिएका छन्।

गोल्डम्यानका अनुसार, हरेक परिणामलाई तटस्थ भावले स्वीकार्न सक्नु नै जीवन्त आनन्दको स्रोत हो र नकारात्मक भावको जन्मदेखि नै त्यसलाई व्यवस्थापन गर्दै पुनः आनन्द प्राप्त गर्न सकिन्छ। आफूबाट भएका गल्ती पहिचान गरी नदोहोर्‍याउनु र आफूलाई क्षमा दिनु सार्थक जीवनशैलीको अभ्यास हो। निराशाबाट घेरिएको कुनै व्यक्तिमा आशाको सञ्चार गर्न उसलाई ठीक समयमा भेट्ने, आफ्ना सकारात्मक विषयतिर आकर्षण गर्ने र त्यसले तत्काल सम्भव नभए उसलाई स्वीकार्दै लामो समयसम्म सकारात्मक प्रयत्न जारी राख्नुपर्ने लेखकको सुझाव छ।

किताबले जीवन निर्वाहका क्रममा भावनाको व्यवस्थापन मात्र होइन भौतिक उन्नतिको बाटो पनि देखाएको छ। व्यवसाय गर्ने सोचमा रहेको व्यक्तिले सफलता हात पार्ने उपाय उसको प्रारम्भिक प्रयत्नबाटै निर्धारण हुने पुस्तक बताउँछ। खेती गर्न चाहने व्यक्तिले फसलको कल्पनामा डुब्नुभन्दा उचित बीउ छनोट, जमीनको तयारी, हेरचाह र भित्र्याउने काम गरेमा सफलता हात लाग्ने किताब बताउँछ। यस्तो बानीले धैर्य र सही समयमा उपयुक्त निर्णय गर्ने क्षमता विकास हुन्छ नै।

समग्रमा किताब जीवन व्यवस्थापनको उपाय सिकाउने उपयोगी दस्तावेज बनेको छ। लेखकको अनुमतिमा रेड एप्पल पब्लिकेसन प्रालिले नेपालीमा अनुवाद गराएको किताबमा अनुवादक ऋषिराम पाण्डेयले शाब्दिक अनुवादमा जोड दिएको देखिन्छ। जसले गर्दा भाषिक मिठास हराएको छ। र पनि, किताब पठनीय र संग्रहणीय छ।

प्रभात भट्टराई


तेस्रो रङ्ग

लेखकः उषा शेरचन

प्रकाशकः रत्न पुस्तक भण्डार

मूल्यः रु.२००,

पृष्ठः १९१+२०

मूलतः कविको रुपमा परिचय बनाएकी उषा शेरचनको पूर्व प्रकाशित कथाहरूको संकलन हो, तेस्रो रङ्ग। १६ सामाजिक कथाको सँगालोका अधिकांश कथाले तेस्रो लिंगीप्रति सहानुभूति प्रकट गर्दछन्। तेस्रो लिंगीप्रति समाजको हेय र अपमानप्रति उनको तीव्र असन्तोष छ। तेस्रो लिंगी हुनु अप्राकृतिक होइन भन्ने आवाज पनि यी कथामा उठाइएको छ। महिलामाथिको थिचोमिचोलाई पनि यसमा तिखो व्यङ्ग्य गरिएको छ।

घाम अझै उघि्रएको छैन

लेखकः गंगा सुवेदी

प्रकाशकः रत्न पुस्तक भण्डार

पृष्ठः १३९, मूल्यः रु.१९५

१५ वटा कथा उनेर गंगा सुवेदीले लेखेको पुस्तक घाम अझै उघि्रएको छैन भर्खरै बजारमा आएको छ। बारम्बार गर्भ तुहाउन श्रीमान्ले दिएको दबाबका बाबजूद डाक्टरको सल्लाहमा जन्माएको बच्चा निसन्तानलाई जिम्मा लगाएको कथा हो, पीडा। यी र यस्तै मर्मस्पर्शी कथाले भरिएको कथासंग्रह पठनीय छ।

comments powered by Disqus

रमझम