५ माघ २०७० | 19 January 2014

उडानमा फोन

Share:
  
म अहिले हिमालको छेउबाट उड्दैछु भनेर फोनबाट सुनाउन पाउँदाको रोमाञ्चकता कस्तो होला?

प्लेनमा यात्रा गर्दा सबैभन्दा पहिले सुनिने अनाउन्समेन्ट हो– 'कृपया सीट बेल्ट बाँध्नुहोला, मोबाइल फोन स्वीच अफ गर्नुहोला, इलेक्ट्रिक ग्याजेटहरू बन्द गर्नुहोला।' प्लेनले एउटा निश्चित उँचाइ लिएपछि सीट बेल्ट खोल्न मिल्छ, कम्प्युटर, म्यूजिक प्लेयर जस्ता विद्युतीय उपकरणहरू चलाउन पनि पाइन्छ, तर उडान अवधिभर मोबाइल फोनमा कुरा गर्न पाइन्न।

तर, गत २२ मंसीरमा नेदरल्याण्ड्सको स्किपोल विमानस्थलबाट उडेको ४५ मिनेटपछि मैले नेदरल्याण्डमै रहेका सिरियाली साथीलाई मोबाइलबाटै फोन गरेर आफू ३८ हजार फिटमाथि पुगेको बताएँ। ऊ आश्चर्यमा पर्‍यो, किनकि विश्वका अधिकांश देशले प्लेनभित्र मोबाइल फोन प्रयोग नगर्ने नियम पालना गरेका छन्। मैले इमिरेट्स एयरलाइन्सको यात्रु भएकोले मात्र यो सुविधा पाएको थिएँ। यो एयरलाइन्सले मार्च २००८ मा पहिलो पटक यस्तो सुविधाको अनुमति लिएको थियो।

अब त इत्तेहाद, केएलएम, रायन, एयर फ्रान्स, थाई लगायतका एक दर्जन वायुसेवा कम्पनीहरूले आफ्ना विमानहरूमा धमाधम जीएसएम फोन र ब्रडव्याण्ड इन्टरनेट सुविधा जडान गरिरहेका छन्। युरोपियन कमिशनले धेरैजसो युरोपेली विमानस्थलबाट उड्ने प्लेनमा मोबाइल फोन चलाउने स्वीकृति दिइसकेको छ। ती प्लेनमा १० हजार फिटमाथि पुगेपछि क्याप्टेनले मोबाइल फोन प्रयोग गर्न सकिने संकेत दिन्छन्। तर, त्यत्ति माथि नेटवर्क टिप्ला त?

स्रोत अटकम

१० हजार फिटमाथि पुगेपछि जमीनका नेटवर्कहरू 'जाम' हुनसक्ने हुनाले प्लेनमा मोबाइलको सेटिङ्स मेनुमा गएर नेटवर्क सर्च गर्नुपर्छ। त्यसको लागि विमानभित्र छुट्टै नेटवर्क राखिएको हुन्छ, जसलाई खोजेर सेभ गर्नुपर्छ। त्यसपछि त मोबाइलबाट सहजै फोन या एसएमएस गर्न सकिन्छ। सिम प्रोभाइडरले फोन या एसएमएस वापतको महसूल रोमिङ्ग सहित प्रयोगकर्ताको ब्यालेन्सबाट काट्छ– प्रतिमिनेट ५–६ सय रुपैयाँ। यो महँगो शुल्कलाई भने आकाशबाट गरिएको कुराकानीको महत्व सम्झेर बिर्सनुपर्छ।

५० प्रतिशतभन्दा बढी यात्रुले प्लेनमा फोन गर्न नपाउनुलाई सामान्य मानेको अन्तर्राष्ट्रिय सर्वेक्षणहरूमा पढ्न पाइन्छ। तनाव र हल्लाखल्लामुक्त यात्राका लागि उडिरहेको प्लेनमा फोन निषेध ठीकै हुने उनीहरूको तर्क छ। तर, 'सिभिक सेन्स' का साथ प्रयोग गर्ने हो भने प्लेनमा फोनबाट गरिने कुराकानीले कसैको यात्रालाई तनावपूर्ण बनाउने सम्भावना कमै रहन्छ। त्यसो त, अमेरिकाको संघीय संचार आयोग (एफसीसी) ले पनि मोबाइलको विद्युतीय र चुम्बकीय तरङ्गहरूले प्लेनको संचार उपकरणहरूको 'फङ्क्सनिङ' लाई प्रभावित पार्ने हुनाले मात्र १९९१ मा उडान अवधिभर फोन प्रयोगमा रोक लगाएको थियो, जसलाई सबैजसो एयरलाइन्सहरूले पालना गरे। त्यसपछिका मोबाइल सेटहरूमा फ्लाइट या एअरप्लेन मोडको सुविधा राखियो, जसमा गीत सुन्न, भिडियो हेर्न सकिन्थ्यो।

अहिले त अमेरिकाकै फेडेरल एभिएसन एडमिनिस्ट्रेसन (एफएफए) ले पनि प्लेनमा डिजिटल डिभाइसहरू चलाउन सकिने नीति लिइसकेको छ। त्यस लगत्तै युरोपियन युनियनले यस्तै नीति लियो। उडानमा फोन प्रयोग गर्न नपाइने अन्तर्राष्ट्रिय प्रचलन पछ्याइरहेको नेपालमा पनि अबको केही वर्षमा आकाशबाट धरतीका प्रियजनसँग बोल्न पाइने आशा गर्न सकिन्छ।

गणेश आचार्य

comments powered by Disqus

रमझम