५ माघ २०७० | 19 January 2014

टोखाको चाकु

Share:
  

शब्द/तस्वीरः देबकी विष्ट

'टोखाया चाकु, मचा बुल हाकु' अर्थात् टोखाको चाकुले बच्चा जन्मियो कालो। चाकुको लागि प्रसिद्ध टोखासँग जोडिएका यस्ता रमाइला कथन धेरै छन्। 'बच्चा कालो जन्मियो' भन्दाभन्दै पनि पौष्टिकताको कारण सुत्केरीलाई चाकु खुवाइन्छ। चिसो याममा अरूले पनि चाकु खाने विशेष चलन छँदैछ। माघेसङ्क्रान्ति र यमरी पुन्हीःमा चाकु अनिवार्य हुन्छ। नेवारी समुदायमा मान्छे मरेपछि मृतकको परिवार र निकटका आफन्तजनले चाकु मात्र खानु हुन्छ।

संस्कृतिविद् तेजेश्वर बाबु ग्वाङ्गका अनुसार मकर सङ्क्रान्तिमा सूर्य विषुवत् रेखाबाट मकर रेखामा प्रवेश गर्दा मौसम परिवर्तन हुन्छ। यो मौसममा चाकु खाँदा शरीरलाई चिसोबाट बचाउँदै पौष्टिकता दिन्छ।

पुसको जाडोमा ठूल्ठूला तामाको फोसीमा सक्खर खन्याउँदै गरेका कृष्णबहादुर श्रेष्ठले चाकु बनाउने तरिकाको साथै यसको महत्व पनि बताए। तीन पुस्तादेखि चाकु व्यवसायमा रहेका श्रेष्ठ पुस मसान्तसम्म चाकु बनाउँछन्, जसको अर्डर मंसीर अगाडि नै आइसकेको हुन्छ। चाकुमा खुवा, बदाम, पेस्ता, काजु आदि पौष्टिक चिज र मसला राखिएको हुन्छ।

comments powered by Disqus

रमझम