५ माघ २०७० | 19 January 2014

मण्डलामा मीतज्यू

Share:
  

। २६ पुसदेखि राजधानीको मण्डला थिएटरमा शुरु भएको नाटक मीतज्यू ले नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी परम्पराको कथालाई दर्शकसमक्ष पेश गरेको छ।

मीतज्यू मा विजय बराल र बुद्धि तामाङका बीचमा सिर्जना सुब्बा
१ घण्टा १५ मिनेटको नाटकमा लिम्बू र माझी तन्नेरीले किशोरवयमा गाँसेको मितेरी वृद्धावस्थासम्म उस्तै प्रगाढ देख्न पाइन्छ। हर्कबहादुर चेम्जोङ (बुद्धि तामाङ) र रामबहादुर माझी (विजय बराल) को मितेरी साइनोले पूर्वी पहाडको लिम्बू गाउँको झल्कोलाई जीवन्त बनाएको छ। गाउँले जीवन र लिम्बू समुदायको च्याब्रुङ नाचले त्यस भेगको प्रतिनिधित्व गर्ने दर्शकलाई 'नोष्टाल्जिक' बनाउँछ।

नाटकमा दुई मीतको जीवनका उतारचढाव र अनुभवलाई 'फ्लासब्याक' शैलीमा उतारिएको छ। हाक्पारे गाउँदा मन परापर भए पनि हर्कबहादुरलाई छाडेर लाहुरेसँग बिहे गर्न बाध्य मनमाया (सिर्जना सुब्बा) को मनोभावनाले दर्शकको मन तान्छ। मनमाया पल्टनमै विधवा हुन्छिन्। यसरी एक्लिएकी मनमायालाई पर्खेर बसेको हर्कबहादुरको मनोदशाप्रति दर्शकमा सहानुभूति उर्लन्छ।

सोमनाथ खनाल लेखक र दयाहाङ राई निर्देशक रहेको मीतज्यू ले नेपाली समाजमा हराउँदै गएको मितेरी परम्परालाई मञ्चमै भए पनि पुनर्जीवन दिएको छ। ठेट गाउँले बोलीचाली र रौसे जीवनशैलीले दर्शकलाई भरपूर मनोरञ्जन दिए पनि दुई मीताको अन्तरङ्गको पाटो अझै नखुलेको आभास हुन्छ। सुलक्षण भारती, उमेश तामाङ, किरण सुनुवार आदिको समेत अभिनय रहेको नाटकमा राजन खतिवडाको राम्रो मञ्च परिकल्पनालाई गज्जब भन्न कर लाग्छ। मीतज्यू २६ माघसम्म हेर्न सकिनेछ।

शब्द/तस्वीरः अनुशील

comments powered by Disqus

रमझम