५-११ माघ २०७० | 19-25 Janunary 2014

सुधि्रन ढिला गर्नुहुँदैन

Share:
  

हिमाल (२८ पुस–४ माघ) मा प्रकाशित 'विघटनतिर' रिपोर्टले एमाओवादीभित्रको भद्रगोल केलाउन खोजेको देखियो। एमाओवादीभित्रको यो भद्रगोल सम्हालिएन भने त्यसको असर समग्र मुलुकको राजनीतिमा पर्न सक्छ। पछिल्लो चुनावको नतीजाले एमाओवादीमा ल्याएको तरङ्गको राजनीतिक व्यवस्थापन आवश्यक छ।

पार्टीभित्रको भद्रगोल र निर्वाचनमा कमजोर हुनुको मुख्य कारण पत्ता लगाएर पार्टी नेतृत्वले तत्काल समाधानका उपाय अवलम्बन गर्नुपर्छ। हिजो भ्रष्टाचार–अनियमितता हटाउन हाम्रो नेतृत्व आवश्यक छ भन्ने एमाओवादी सत्तामा पुगेपछि आफैं व्यक्तिगत स्वार्थमा लाग्दा आजको अवस्था आएको हो। त्यसैले, पार्टीको साख जोगाउने काम थाल्ने कर्तव्य पनि नेतृत्वकै हो।

सुनिलकुमार थापा, इमेलबाट

एमाओवादी पार्टी प्रणालीमा नचल्दा चुनावमा पराजित भएकोमा दुईमत नहोला। पार्टी ठूलो बनाउने नाममा चलाइएको नवप्रवेशीको लहर र योगदान भएका पुराना तथा समर्पित कार्यकर्ताप्रति गरिएको बेवास्ताका कारण एमाओवादी विघटनतिर अग्रसर भएको हो। अब पार्टी प्रणालीमा गएर, साँच्चिकै जनताको पार्टी बनेर नेपालको पहिलो दल हुन एमाओवादीलाई सजिलो छैन। अब पार्टी कुरा होइन काम गरेर आफूलाई अब्बल बनाउने चुनौतीमा छ। नेतृत्वले बुद्वि नपुर्‍याए एमाओवादीलाई विघटनबाट कसैले बचाउन सक्तैन।

विनोद पौडेल, इमेलबाट

'एमाओवादी विघटनको सँघारमा' पढेपछि हिंसात्मक आन्दोलनले कसैलाई पनि राम्रो गर्दैन भन्ने मेरो धारणालाई थप मजबूत बनाइदियो। देशको भलो नहुने हिंसात्मक आन्दोलनले त्यसका संचालकहरूलाई अल्पकालीन फाइदा दिए पनि अन्ततः उसलाई पनि निल्छ भन्ने उदाहरण एमाओवादी पार्टी बन्न लागेको छ। वास्तवमा हिंसाको व्यवस्थापन अति नै जटिल छ। एमाओवादीमा अहिले यही समस्या देखिएको हो।

सत्यनारायण शाह, इमेलबाट

राजनीतिमा व्यापारिक लगानी

हिमाल (२८ पुस–४ माघ) मा प्रकाशित 'त्यत्तिकै सभासद' रिपोर्टले इङ्गित गर्न खोजेको कुरा साँच्चै गम्भीर छ। पार्टीलाई पैसा दिएर आएका मौसमी सभासदहरूबाट असल राजनीतिको आशा गर्न सकिंदैन। यसबाट एकातिर सिद्धान्तको आधारमा पार्टीमा योगदान पुर्‍याएका राजनीतिक कार्यकर्ताहरूको हुर्मत लिने काम भएको छ भने अर्कातिर व्यवसायीहरूलाई राजनीतिमा लगानी गरेर नाफा कमाउने अवसर उपलब्ध भएको छ। व्यक्तिविशेष वा व्यापारिक घरानाबाट आर्थिक सहयोग लिनु पार्टीहरूको बाध्यता होला, तर चन्दादातालाई राजनीतिक पद नै बाँड्नु विडम्बना हो। यसो गर्दागर्दै भोलि नेताहरूले व्यापारीहरूलाई मन्त्री पद बेच्न थाले भने के गर्ने?

सूर्यमणि शर्मा, इमेलबाट

जालीहरूलाई सजिलो

हिमाल (२८ पुस–४ माघ) मा प्रकाशित 'जागीरको जाल' रिपोर्टले दुःखी बनायो। देशमा रोजगारको अवसर नभएर विदेशिएका नेपालीले दुःख पाएको यो नौलो घटना होइन। विदेशमा बिचल्लीमा परेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन पहल गर्नुपर्छ भन्ने कुरामा नेपाल सरकार जहिल्यै कमजोर देखिंदै आएको छ। त्यसो त, नबुझ्ी जाँदा बिचल्लीमा परिन्छ भन्ने कुराको ख्याल राखेको पनि पाइँदैन। त्यसैले, यस्ता जाल बिछ्याउँदै हिंड्नेहरूलाई सजिलो भएको छ।

सुलोचना चौधरी, इमेलबाट

स्याबास खुस्बु

हिमाल (२८ पुस–४ माघ) मा प्रकाशित 'समाजसेवी सुन्दरी' प्रेरणादायी लाग्यो। बेलायतको किङ्सटन युनिभर्सिटीबाट एमएस्सी गरेर उतै बस्ने क्षमता आर्जन गरेकी सुन्दरी खुस्बु ओलीले आफ्नै देश फर्केर गरेको समाजसेवा साँच्चै सराहनीय छ। हाम्रा कलाकारहरू कसैलाई सानो सहयोग गर्दा पनि के के न गरें भनेर मिडियाबाजी गर्छन्, तर एउटी पूर्व मोडलले चुपचाप त्यत्रो काम गरेको पढ्न पाइयो। देशमा काम गर्ने अवस्था छैन भन्दै विदेशिने नेपाली युवा–युवतीका लागि पनि खुस्बु एउटा गतिलो जवाफ भएकी छन्।

सुनिता माली, इमेलबाट

comments powered by Disqus

रमझम