५-११ माघ २०७० | 19-25 Janunary 2014

सडक नपुग्दा संकट

Share:
  
निर्माण शुरु भएको १८ वर्ष पुग्दा पनि सडक बन्न नसक्दा बाजुरामा खाद्य संकट कायम छ।

प्रकाश सिंह
स्ट्रेचरमा राखेर बिरामीलाई अस्पताल लैजाँदै स्थानीयवासी।
बाजुराको सदरमुकाम मार्तडी जोड्न अछामको साँफेबाट २०५२ मा निर्माण शुरू भएको ५७ किलोमिटर साँफे–मार्तडी सडक अझ्ै बनेको छैन। ८ मंसीर २०५२ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले शिलान्यास गरेको यो सडक २०६० भित्र बनाइसक्ने लक्ष्य राखिएको थियो। लक्ष्य १० वर्ष नाघ्दा साँफेबाट २९ किलोमिटर कालोपत्रे सहित ४३ किलोमिटर टाढाको तिपाडासम्म कच्ची सडक पुगेको छ।

मंसीरदेखि जेठसम्म मात्र यातायात साधन चल्ने यो सडक निर्माणमा रु.९२ करोड ७ लाख खर्च भइसकेको सडक विभागको तथ्याङ्क छ। विभागका अनुसार, ट्रयाक खोल्न, २९ किलोमिटर कालोपत्रे गर्न र पुल निर्माणमा यो रकम खर्च भएको छ।

भत्कियो कालोपत्रे

राम्रोसँग नबनाइएकाले कालोपत्रे गरेको एक वर्ष नपुग्दै सडक भत्किन थालेको नेपाली कांगे्रस बाजुराका सभापति मानबहादुर रावल बताउँछन्। कालोपत्रे खण्डमा बनाउनुपर्ने ८ वटा पुलमध्ये आरद्धाला, जिजाडी र इकडी गाडमा मात्र पुल बनेका छन् भने बार्जुगाड, गुइगाड र ठाडो खोला लगायत साना खोलाहरूमा पुल बनाउन शुरू मात्र गरिएको छ। यो खण्डमा पर्ने सबैभन्दा ठूलो नदी बुडीगंगामा भने पुल बनाउने योजना समेत नरहेको सडक विभाग स्रोत बताउँछ।

सडक निर्माणको गति बढाउनका लागि दबाब दिन जिल्ला प्रशासन कार्यालयमा दर्जनौं पटक सर्वपक्षीय बैठक भइसकेका छन्। तर, बाजुरामा सडक निर्माण आयोजना कार्यालय नभएकाले अछामको कार्यालयलाई सडक निर्माण छिटो गर्न अनुरोध गर्ने निर्णय गर्दै ती बैठक टुङ्गिने गरेको एमाले बाजुराका उपसचिव गगन रावलले बताए।

पाँच वर्षयताका सबै सरकारले बजेट छुट्याएको यो सडकको निर्माण सशस्त्र द्वन्द्वकालको पाँच वर्ष बाहेक अरू वेला नियमित रूपमा भएको स्थानीय तुला थापा बताउँछन्। अर्का स्थानीय शेर शाहीको विचारमा सडक निर्माण कछुवा गतिमा अघि बढ्नुमा सडक डिभिजन कार्यालयको सुस्त कार्यशैली जिम्मेवार छ।

सडकले मार्तडीलाई नजोडेकाले बाजुरामा खाद्य संकट हुने गरेको देखिन्छ। बाजुराको उत्तरी क्षेत्रका ११ गाविस र मार्तडी छेउका गाविसमा हरेक वर्ष खाद्य संकट हुने गरेको छ। यो वर्ष ती गाविसमा मंसीरमै खाद्य संकट शुरू भएको कोल्टी खाद्य संस्थान प्रमुख रमेशबहादुर सिंहले बताए। बाटो नपुगेकाले ती गाविसमा फल्ने स्याउ बजार नपाएर कुहिने गरेको खाद्य संस्थान बाजुराका प्रमुख वासुदेव भट्टको भनाइ छ।

प्रकाश सिंह, बाजुरा


अपहरणः निशानामा निजगढ

आर्थिक–सामाजिक गतिविधिले गुल्जार बन्दै गएको निजगढ क्षेत्र अपहरणकारीहरूको निशानामा परेको छ।

गत ३१ भदौमा आफ्नै गाउँपूर्वको जंगलबाट अपहरित निजगढ–८ का पशु स्वास्थ्य कार्यकर्ता भगवान बडाल (३५) फिरौती बुझाएर पनि घर फर्किन पाएनन्। बडाललाई सकुशल फर्काउन आतुर आफन्तहरूलाई अपहरणको तीन दिनमा हेटौंडा बोलाएर रु.१० लाख फिरौती लिएका अपहरणकारीहरूले उनलाई रौतहटको कनकपुर गाविसस्थित सिम्री जंगलमा लगेर मारेको डेढ महीनामा रौतहट कनकपुर–५ का रावण माझी पक्राउ परेपछि खुल्यो।

दक्षिणी बाराका सीमावर्ती गाविस र सदरमुकाम कलैया आसपासमा सीमित अपहरण अपराध पछिल्लो समय उत्तरको निजगढ क्षेत्रमा बढेको छ। प्रहरीका अनुसार, अघिल्ला तीन वर्षमा जिल्लामा भएका १३ अपहरणमध्ये आठ वटा निजगढ क्षेत्रमा भए। तीमध्ये निजगढका तत्कालीन गाविस सचिव आसमहमद अन्सारी र फतुवाहर्षा–७ रौतहटका टेकनाथ पौडेल फिरौती बुझाएर मुक्त भए भने निजगढकै इन्द्रप्रसाद चौलागाईं र भीमलाल श्रेष्ठ बेपत्ता छन्।

शुरूको दुई सातासम्म लगातार मोबाइलमा फोन गरेर रु.३०/३५ लाख मागेको चौलागाईंकी छोरी रमिला बताउँछिन्। गरीब छौं भनेर बिन्तीभाउ गरेपछि रु.१० लाख लिएर आउनु भने पनि रकम ठीक पारेपछि फोन आउनै छाडेको उनले बताइन्। भरतगंज सिगौल–१ का नरेन्द्र राई, सोही ठाउँका सरोज बल र कर्थली–३ सिन्धुपाल्चोकका गाडीचालक मीनबहादुर श्रेष्ठलाई भने फिरौतीको मोलमोलाइ हुँदै गर्दा प्रहरीले मुक्त पारेको थियो।

भीमलाल श्रेष्ठ, इन्द्र चौलागाईं, टेकनाथ पौडेल, भगवान बडाल।

पल्केको अपराधी

यस क्षेत्रबाट अपहरणमा परेका पहिलो व्यक्ति गाविस सचिव अन्सारी हुन्। ११ माघ २०६७ मा निजगढ पश्चिमको तामागढी वनबाट अपहरित उनलाई परिवारले रु.१० लाख फिरौती बुझ्ाएर फर्काएको थियो। अन्सारीबाट सजिलै रकम असुलिएपछि हौसिएको अपराधी समूहले यस क्षेत्रमा अपहरण गरेर रकम माग्ने, नपाए बेपत्ता पार्ने क्रम बढाएको देखिएको छ। २४ भदौ २०६८ मा सोही जंगलबाट अपहरणमा परेका रौतहटका पौडेलले रु.१० लाख बुझाएर ज्यान जोगाए।

जिल्लाका दक्षिणी भेगमा निगरानी बढेपछि अपहरणकारीहरू निजगढ क्षेत्रमा केन्द्रित भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक रामनाथ घिमिरे बताउँछन्। यो क्षेत्रको भौगोलिक अवस्थितिले पनि अपराधीहरूलाई सजिलो बनाएको छ। चारकोसे जंगलबीच चुरे पहाड फेदको निजगढमा केही वर्षदेखि आर्थिक क्रियाकलाप तीव्र बनेको छ। अन्तर्राष्ट्रिय विमानस्थल र तराई–काठमाडौं फास्टट्रयाक निर्माणको प्रस्तावसँगै चर्चामा आएको निजगढमा बसाइँसराइ र घरघडेरीको मूल्य अत्यधिक बढेको छ। पूर्व–पश्चिम राजमार्गबाट बारा र रौतहटको दक्षिणी भेग पस्ने मुख्य नाका पनि निजगढ नै बनेको छ।

प्रभावहीन प्रहरी

अपराधीहरूले अपहरणपछि फिरौतीका लागि मोबाइल फोन प्रयोग गर्छन्। प्रहरीले सम्बन्धित दूरसंचार कम्पनीबाट कल डिटेल रिपोर्ट (सीडीआर), टावर लोकेशन र युजर आइडी लिएर फोन गरेको स्थान, सम्पर्कमा आएका व्यक्ति र मोबाइल प्रयोगकर्ताको विवरण लिन्छ। तर, अपहरणकारीको फोन आएलगत्तै आफन्तले नम्बर दिंदा पनि पीडितलाई छुटाउन प्रहरी विफल भएको थुप्रै घटना छन्। पौडेल पत्नी उत्तरा भन्छिन्, “प्रहरीले दिनभरमा श्रीमान्लाई लुकाएको ठाउँ पत्ता लगाउन नसकेपछि ज्यान जोगाउन रकम बुझायौं।”

त्यस दिन विदा परेकाले प्रहरीले नेपाल टेलिकमबाट पौडेलको मोबाइलको सीडीआर र लोकेशन हात पार्न सकेको थिएन। ज्वाईं पुष्कर आचार्यले हेटौंडामा रु.१० लाख बुझ्ाएपछि पौडेल भोलिपल्ट साँझ् इलाका प्रहरी कार्यालय निजगढदेखि दुई किमी पूर्वको जंगलबाट मुक्त भएका थिए। रकम माग्न पहिलो पटक आएको मोबाइलमा जिल्लाको कोल्हवी गाविसस्थित नेपाल टेलिकम टावर र रकम बुझाउन आफन्तलाई बोलाउँदा मकवानपुरको लोथर टावरको प्रयोग भएको थियो। सूचना पाएर पनि समात्न नसकिएकोमा पछुतो मान्दै प्रहरी निरीक्षक घिमिरे भन्छन्, “हामीले प्रक्रिया पूरा गर्दागर्दै अपराधी आफ्नो काम गरेर फरार भयो।”

उनले कहिले पीडितका आफन्तजनले सूचना लुकाउँदा प्रहरी असफल हुने गरेको बताए। अपराधीले 'पुलिसलाई भने राम्रो हुँदैन' भनेर धम्क्याएका हुन्छन्। तल–माथि होला भन्ने त्रासमा परिवारजन प्रहरीलाई थाहै नदिई रकम बुझाउनतिर लाग्छन्। निरीक्षक घिमिरेले बडाल र पौडेलका आफन्त पनि प्रहरीले काम गर्दागर्दै रकम बुझाउन गएको बताए। गाविस सचिव अन्सारीले रकम बुझाएर आएपछि मात्र प्रहरीलाई घटना बताएका थिए।

गोकुल घोरसाइने, बारा


फूलले फलिफाप

२०२९ सालमा पाँच धुर जमीनमा फूल खेती थालेका धनुषाको देवपुरा रुपैठा–९ का रामदयाल भण्डारी (६३) को प्रगति लोभलाग्दो छ। फूल बेचेको कमाइले उनले जनकपुर–जटही सडकखण्डको जनकपुरभन्दा चार किमी दक्षिणमा साढे चार कट्ठा घडेरी किनेका छन्, गाउँको मुख्य चोकमा दुईतले पक्की घर बनाएका छन् र गाउँमा रु.१० लाख प्रतिकट्ठा पर्ने ३० कट्ठा खेत जोडेका छन्।

बजार काठमाडौं

फूल खेती थाल्दा कमजोर आर्थिक अवस्था भएका उनले तीन छोरा र दुई छोरीलाई शिक्षा दिएर राम्ररी पालनपोषण गरे। उनका नाति जितेन्द्र पूर्वाञ्चल विश्वविद्यालयबाट इन्जिनियरिङ गर्दैछन् भने अर्को नाति उच्चशिक्षाका लागि अस्ट्रेलिया जाने तयारीमा छन्। त्यतिवेला व्यावसायिक फूल खेती गर्दा धेरै समस्या झेल्नुपरेको बताउँदै भण्डारी भन्छन्, “बजार थिएन, ढुवानीको समस्या पर्ने हुँदा सातामा एकपटक मात्र काठमाडौं माला पठाउन सकिन्थ्यो, अहिले त्यस्तो समस्या छैन।”

अहिले उनी दैनिक तीन हजार माला काठमाडौं पठाउँछन्। जेठा छोराबुहारी काठमाडौंमा बसेर खुद्रा व्यापारीलाई माला दिन्छन् र पैसा उठाएर पठाउँछन् भने माहिलो छोरा ललित गाउँमै बसेर सयपत्री र गुलाबको फूलको माला बनाउँदै बसबाट काठमाडौं पठाउँछन्। जानकी मन्दिर वरिपरि रु.२५ मा बिक्री हुने सयपत्रीको माला काठमाडौंमा थोकमा रु.१५ मा बिक्री हुन्छ।

४० वर्षअघि कलकत्ता र बनारसबाट फूलको बीउ मगाउनुपर्दथ्यो। अहिले जनकपुरमा उत्पादन हुने सयपत्रीको बीउ भण्डारीले नै कलकत्ता र बनारस पठाउँछन्। भण्डारीको प्रगति देखेर देवपुरा रुपैठाका अरू ६ जना किसान पनि फूल खेतीमा लागेका छन्। चार हेक्टर जमीनमा फूल खेती हुने देवपुरा रुपैठा–९ का राकेश भण्डारी भन्छन्, “यो खेती थालेपछि हातमुख जोर्ने समस्या परेको छैन।”

तर, गाउँका युवाहरू वैदेशिक रोजगारीमा गएकाले त्यहाँका किसानलाई कामदारको अभावले समस्या परेको छ। त्यही भएर उनीहरूले गाउँभरिका गृहिणीलाई फूल दिएर माला उन्न लगाउने उपाय अपनाएका छन्। गृहिणीहरूले एउटा माला बनाएको रु.२ सम्म पाउँछन्।

कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सुरेन्द्र गोइतका अनुसार, जिल्लाका देवपुरा रुपैठा, ठेरा कचुरी, सोहनी सिनुरजोडा र रघुनाथपुरको ३० हेक्टर जमीनमा फूल खेती हुन्छ।

ईश्वरचन्द्र झा, जनकपुर


गाँठाले ढाकिएकी बुधसरी

गोपाल गडतौला

झापा गौरादह–७ की बुधसरी ताजपुरिया (६२) को शरीर गाँठैगाँठाले भरिएको छ। ४९ वर्षअघि दोखालालसँग विवाह हुँदा उनको शरीरमा दुई वटा साना गिर्खा मात्र थिए। बुधसरीका दिवंगत बुबा सदरको शरीरमा यस्तै गाँठा थिए भने बहिनी तारा र छोरी अमासीको पनि शरीरमा गाँठा छन्। १० धुर जमीनमा सानो घरमा बसेर मजदूरी गरी गुजारा चलाइरहेकी बुधसरी भन्छिन्, “दबाई गर्न डाक्टरकहाँ जाऊ भनेर सबैले भने पनि पैसा नभएकाले कतै जान सकेकी छैन।”

गोपाल गडतौला, झापा


विद्यालयको जमीनमा व्यक्तिका घर

प्रेमनारायण आचार्य
विद्यालयको जग्गा अतिक्रमण गरी स्थानीयवासीले बनाएका घर।
अर्घाखाँचीको नरपानी गाविसस्थित भृकुटी निम्नमाध्यमिक विद्यालयको करीब १५ रोपनी जमीनमा स्थानीयले दुई दशकदेखि घरटहरा बनाएर बसिरहेका छन्। तर, उनीहरूलाई उठाउन विद्यालय प्रशासन, व्यवस्थापन समिति र जिल्ला शिक्षा कार्यालयले आजसम्म पहल गरेको देखिंदैन।

१८/१९ वर्षअघि टहरा निर्माण गरेकामध्ये केहीले पक्की घर बनाएका छन्। सन्धिखर्क–गोरुसिङ्गे सडकसँग जोडिएको यहाँको प्रति घडेरीको रु.१० लाख पर्ने स्थानीय बताउँछन्। भाडा तिर्ने गरी अस्थायी टहरा बनाउने सम्झौता नाघेर पक्की घर बनाइएको प्रधानाध्यापक लिलबहादुर महतराले बताए।

शिक्षालाई जानकारी छैन

आफू भर्खरै विद्यालयको प्रधानाध्यापक बनेकाले विद्यालयको जमीनमा २४ वटा घरटहरा निर्माण हुनुको कारण थाहा नभएको महतराले बताए। विद्यालयको जमीनमा अरूको घर बनेको जिल्ला शिक्षा कार्यालयलाई जानकारी नगराइएको पनि उनको भनाइ छ।

तर, जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाल विद्यालयको लागि नयाँ दुईकोठे भवन निर्माण गर्ने ठाउँ हेर्न भर्खरै जाँदा विद्यालयको जमीनमा व्यक्तिका घर निर्माण भएको देखेको बताउँछन्। खनालका अनुसार जिल्ला शिक्षा कार्यालयलाई त्यसबारे कसैले औपचारिक जानकारी गराएको थिएन। “जानकारी नगराएकाले विद्यालय नै दोषी देखिन्छ”, खनाल भन्छन्। विद्यालयलाई छिट्टै घरटहरा हटाउन निर्देशन दिइएको र जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराइएको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक विद्यालयको जमीनमा निर्माण गरिएका घरटहरा हटाइने बताउँछन्। “हटाउने समय दिन्छौं, अटेर गरे सुरक्षाकर्मी लगाएर पनि हटाउँछौं”, उनले भने।

विद्यालयको जमीनमा पक्की घर बनाउनेमा व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर भण्डारी पनि छन्। मासिक रु.२ हजार भाडा तिर्ने गरी पञ्चायतकालदेखि नै बसेको उनको भनाइ छ। घरटहरा हटाउनुको साटो सहमतिले त्यहीं बस्न पाउनुपर्ने उनी बताउँछन्।

कच्ची घर बनाएका लिलबहादुर खड्काले चाहिं विद्यालयले छाड्न भन्दा छाड्नुपर्ने भए पनि विद्यालयले आफूहरूलाई जमीन बेच्नु उपयुक्त हुने सुझाए।

प्रेमनारायण आचार्य, अर्घाखाँची

comments powered by Disqus

रमझम