५-११ माघ २०७० | 19-25 Janunary 2014

पहाड–तराई भरिभराउ

Share:
  
- जीवनप्रसाद राई
तराई–मधेशबाट खाद्यान्न र लत्ता–कपडा बोकेर पहाड उक्लने ट्रकहरू धनकुटा क्षेत्रबाट फर्कंदा पनि भरिभराउ नै हुन्छन्।

तस्वीरः जीवनप्रसाद राई
बिक्रीका लागि ट्रकमा तरकारी राख्दै धनकुटाका किसान।

२०४८ सालमा वातावरण तथा कृषि नीति अनुसन्धान, प्रसारण, विकास केन्द्र (सिप्रेड) का तत्कालीन आयोजना संयोजक रामानन्दप्रसाद गुप्ताले तयार पारेको महिला कृषकको आयमूलक परियोजना धरान–बसन्तपुर सडकमा सञ्चालन गरियो। डानिडाको आर्थिक सहयोगमा सञ्चालित उक्त परियोजनाले धनकुटा नगरपालिका र सडक आसपासका राजारानी, भेडेटार, बूढीमोरङ, बेलाहारा, मूर्तिढुंगा, परवादिन, सिन्धुवा, बसन्तपुर लगायतका गाविसलाई समेटेको थियो। बेमौसमी तरकारी खेतीबाट किसानको जीवनस्तर उकास्ने यो परियोजना अहिले पनि नेपालको एउटा सर्वाधिक महत्वको परियोजनामा पर्छ।

किसानहरूको लगनशीलताबाट सफल भएको यो अभियानले बन्दा, काउली, मूला, केराउ, गाजर, साग लगायतका बेमौसमी तरकारी उत्पादन गरेर संकलन केन्द्रमा उपलब्ध गराउँछ। गत २२ वर्षदेखि किसान र उपभोक्ता बीचमा बसेर तरकारीको बजार व्यवस्थापन गरिरहेका कृषि उद्यमी मेघेन्द्र गुरुङको राष्ट्रिय चर्चालायक काम र अनुभवबाट देशका अन्य क्षेत्रले भने फाइदा लिन सकेको छैन। पर्दा पछाडि चूपचाप काम गरिरहेका गुरुङले धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरका हजारौं किलो तरकारी दैनिक धरान, विराटनगर, झापा, सिलगुडी, कलकत्ता र काठमाडौंसम्म पुर्‍याइरहेका छन्। यो पहाडी क्षेत्रका तरकारी कर्मले गुरुङकै कुशल बजार व्यवस्थापनबाट निरन्तरता पाउन सकेको छ भन्दा अत्युक्ति हुँदैन।

मेघेन्द्र गुरुङ,

कृषि उद्यमी।

हाल अमेरिकी संस्था युएसएआईडीमा कार्यरत रामानन्दप्रसाद गुप्ता धरान–बसन्तपुर सडकको कृषि सम्भावना नियालेर परिकल्पना गरिएको यो बेमौसमी तरकारी परियोजना दिगो रूपमा सफल भएकोमा सन्तुष्ट छन्। सिप्रेडका संस्थापक कृषि अर्थशास्त्री डा. हरिकृष्ण उपाध्याय सामाजिक परिचालन, क्षमता अभिवृद्धि र संस्थागत प्रयासले यो कार्यक्रमलाई सफल बनाएको बताउँछन्।

दिगो विकासको लक्षण

वैदेशिक रोजगारीलाई धेरै हदसम्म निरुत्साहित गरेको धनकुटा–तेह्रथुम क्षेत्रको तरकारी व्यवसायले कृषि पर्यटनको पनि प्रवर्द्धन गरेको छ। सिन्धुवा, भेडेटार, हिले र बसन्तपुर बजारका होटलहरूमा भदौदेखि मंसीरसम्म नेपालका साथै भारतका किसान, कृषि विशेषज्ञ एवं विद्यार्थीको आउजाउ बढेको देखिन्छ। तरकारीबाट पैसासँगै पर्यटक आकर्षित हुनु यस भेगको दिगो विकासको लक्षण भएको छ। यस भेगमा तरकारीबाट वर्षेनि रु.१४–१५ लाख कमाउने किसानको संख्या निकै छ। यहाँका अधिकांश किसानले झापा, मोरङ र सुनसरीमा घर–जग्गा जोडेका छन्।

यस्तो आर्थिक सक्षमताले एकातिर तराईतिर बसाइँ सर्ने क्रम बढाएको छ भने अर्कोतर्फ एकनासे मल–बीउबाट उत्पादनमा ह्रास आएको छ। जापान, कोरिया र थाइल्याण्डका बीउको निरन्तर प्रयोगले रैथाने बीउ नासिने अवस्था पनि छ। यो ठाउँमा अब कृषिकै अन्य विकल्प खोज्नुपर्ने वेला आएको छ। किसानलाई विशेषतः फलफूलतर्फ आकर्षित गर्नुपर्ने देखिन्छ। धनकुटा क्षेत्रका हजारौं किसानले करीब २५ वर्षसम्म निरन्तर तरकारी उत्पादन गरेर फाइदा लिनुलाई भने चानचुने कुरा मान्नुहुँदैन।

comments powered by Disqus

रमझम