५-११ माघ २०७० | 19-25 Janunary 2014

शूद्र संघर्षको चित्कार

Share:
  

दलित सौन्दर्य–बोध सम्पादकः राजेन्द्र महर्जन

प्रकाशकः समता फाउन्डेसन

मूल्यः रु.४००,

पृष्ठः ३०४+८

प्राचीन हिन्दू समाजमा जमीन र पशुधन लुटिएका पौरखी मानिसलाई कालान्तरमा शूद्र बनाइयो। आफ्नो श्रमबाट हिन्दू मालिकहरूको सेवा गर्नु तिनको कर्तव्य तोकियो। तिनलाई कजाउन विभिन्न समयमा धार्मिक साहित्य, राजकीय थिति तथा कानून रचना गरियो। आमोद–प्रमोदको वसन्त ऋतु ब्राह्मण र खेतीपातीको वर्षा शूद्रको भएको मान्यता स्थापित भयो।

स्वजाति शासकको प्रशस्तिमा आफ्नो वृत्ति–विकास देख्ने विद्वानहरूले यस प्रकारको धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक परिपाटी निर्माणमा प्रभावकारी भूमिका खेले। यसरी कालान्तरमा 'अछूत' हुँदै 'दलित' भनिएका शूद्रहरूलाई केवल श्रम र चाकरी लिन सकिने दीन–हीन अनि दयाका पात्र (कौवा–कुकुर सरह) का रुपमा चिनाउने, बुझाउने काम भयो। अमानुषिकताको यस्तो हिन्दू शासकीय महाजालबाट गैर–हिन्दू समुदाय पनि जोगिन सकेनन्। नेपालका शासक वर्गमा त्यस्तो थितिको मोह २०१९ सालसम्म देखिएको हो, राज्यको नीतिकै रुपमा।

संवैधानिक रुपमा संघीय गणतन्त्र नेपालमा अहिले जातीय, धार्मिक, राजनीतिक समानता व्यवहारमै लागू भइसकेको छ। तर, यो समानताको सतहमुनि शोषित–पीडितका अनेक सम्पदा र विपदाका कथा–व्यथा छन्। युगीन अपमानको श्रृंखलाभित्र अनेक योगदान, वलिदान र गौरवका आयाम छन्– दलित श्रम, सीप र साहित्यको रुपमा। समता फाउन्डेसनद्वारा प्रकाशित पुस्तक दलित सौन्दर्य–बोध ले ती निर्मम आयाम र यसभित्रका ज्वलन्त प्रश्नहरूलाई साहित्यिक अभिव्यक्तिको पाटोबाट केलाउने जमर्को गरेको छ। कथा, काव्य, नाटक, उपन्यास, निबन्ध मार्फत अभिव्यक्त दलित पीडा र विद्रोहका स्वरका सबल र दुर्वल पक्ष किताबमा छन्।

दलित सौन्दर्यशास्त्रको आलोकमा जन्मेको पुस्तकमा सम्पादक राजेन्द्र महर्जनको परिचय आलेखमा दक्षिण एशियामा 'शूद्र' उत्पादनदेखि शासक र उसका विदूषकहरूले नामेट बनाएको दलितको योगदान, इतिहास, साहित्य तथा समाजशास्त्रीय लेखनको चुनौती सिर्जना गरिएको छ। चार खण्डको किताबका १५ मध्ये पाँच वटा आलेख नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले पाँच वर्षअघि आयोजना गरेको अन्तरक्रियामा प्रस्तुत कार्यपत्रमाथि वक्ताहरूले गरेका टिप्पणीका सम्पादित रुप हुन्। निनु चापागाईंको कार्यपत्र 'दलित साहित्य र सौन्दर्यशास्त्र' र यसमाथि टिप्पणी गर्दै नेकपा–माओवादीका प्रमुख मोहन वैद्य 'किरण' ले दलित सौन्दर्यशास्त्रलाई 'मार्क्सवादी सौन्दर्यशास्त्र' भन्नु उचित हुने तर्क गरेका छन् भने डा. तुलसी भट्टराईले दलित वा गैर–दलित भनेर साहित्य पृथक् नहुने बताएका छन्।

चापागाईंको ५६ पृष्ठको कार्यपत्रबाट जन्मेको पुस्तकलाई आहुति, प्रदीप ज्ञवाली, खुशीराम पाखि्रन लगायतका टिप्पणी तथा डा. ताराकान्त पाण्डेय, पदम सुन्दास, ईश्वरचन्द्र ज्ञवाली, रमेशप्रसाद भट्टराई, भोलानाथ ओझाक, घनश्याम ढकाल र संगीतस्रोताका आलेखले गहकिलो बनाएका छन्। आजको भारतमा ३५ वर्ष पहिले छुवाछूतमा आधारित वर्णव्यवस्थाको जग हालिएको किताब बताउँछ। त्यसपछिका शताब्दीमा जहाँ हिन्दू राजाहरू शक्तिशाली भए, त्यहाँ वर्णव्यवस्था मजबूत भयो।

भक्तपुर दरबारमा मैथिल (तिरहुतिया) प्रभाव निर्णायक नभएसम्म नेपालमा वर्णव्यवस्था थिएन। दक्षिणका वैदिक ब्राह्मणहरूको सम्बन्ध–प्रभाव बढ्दै गएर पृथ्वीनारायण शाहको समयसम्म आइपुग्दा नेपाललाई 'असिल् हिन्दुस्ताना' बनाउने राज्यनीति बन्यो। जंगबहादुर राणाले पछि मैथिल ब्राह्मणहरूकै विशेषज्ञतामा हिन्दू वर्णाश्रममा आधारित मुलुकी ऐन बनाएर छुवाछूत नमान्ने समुदायमाथि पनि लागू गरे। परिणाम, नेपालमा वर्णवाद विरुद्वको चेतना र दलित मुक्तिको विषय धेरै पछाडि धकेलियो।

यी तमाम विषयलाई साहित्यको पाटोबाट बहसमा ल्याउने पुस्तक विशेष रुपमा इतिहास, समाजशास्त्र र साहित्यमा रुचि राख्ने जोसुकैका लागि पठनीय/संग्रहणीय छ।

comments powered by Disqus

रमझम