५-११ माघ २०७० | 19-25 Janunary 2014

अर्को 'स्मार्ट' ग्याजेट

Share:
  

प्रविधिविज्ञहरुले २०१४ लाई 'वेएरेवल ग्याजेट' अर्थात् शरीरमा पहिरिन मिल्ने ग्याजेटहरुको वर्ष हुने आकलन गरे अनुसार बजारमा स्मार्टवाच युद्ध शुरु भइसकेको छ।

स्मार्टफोनहरुका कारण आफ्नो सोचभन्दा 'स्मार्ट' बनेको मानिने नयाँ पुस्तालाई अब स्मार्टवाचले 'स्मार्टनेश' को अर्को उँचाइमा पुर्‍याउँदैछ। केही समयअघि बजारमा भित्रिएको स्मार्टवाचलाई प्रविधिविज्ञहरु स्मार्टफोन 'एड–अन' पनि भन्छन्। पुराना नाडी–घडीका सबै कुरा प्रयोग गर्न पाइने स्मार्टवाचमा त्यस बाहेकका अनेकौं नयाँ सुविधा छन्, जसले यसलाई घडीको भविष्य बनाएको छ– सबैको हातमा परम्परागत घडी विस्थापित हुने सम्भावनाका कारण।

यो हो स्मार्टवाच

समयको सूचनासँगै पर्सनल डिजिटल एसिस्टेन्ट (पीडीए) अर्थात् पाल्मटप कम्प्युटरकै श्रेणीमा पर्ने ग्याजेट हो, स्मार्टवाच। यसमा एसएमएस, फोन रिसिभ–डायल गर्ने, गेम, क्यामेरा, एफएम रेडियो प्लेब्याक आदि सुविधा छ। गीत–संगीतको मूड आउँदा यो म्युजिकप्लेयर बन्छ भने मर्निङ्गवाक या स्पिड कन्टेस्टका वेला दौडको गति नाप्ने स्पिडोमिटर। ग्याजेट फ्रिकहरुका लागि स्मार्टवाच ग्याजेट लाइब्रेरीको अभूतपूर्व हिस्सा पनि हो।

भीडभाडमा हुँदा वा यात्राका वेला आफ्नो फोनको के कुरा मन पर्दैन? भनेर सोध्दा धेरै साथीहरुबाट मैले पाएको उत्तर हो– साइज। यात्राको वेला ठूलो साइजका फोनसेट झन्झटिलो हुँदो रहेछ। त्यसैले पनि होला, अब 'झन्झट फ्रि' स्मार्टवाच आएको छ।

स्मार्टवाच स्मार्टफोनको रिमोट कन्ट्रोल हो, जुन ब्लुटुथ मार्फत स्मार्टफोनसँग जोडिन्छ। नाडीको स्मार्टवाचबाट स्मार्टफोनका धेरैजसो कुराहरु चलाउन सकिन्छ– झ्ाोला या गोजीभित्रको स्मार्टफोनलाई समेत। फोनका सबै सुविधाका साथै फोनमा इन्स्टल गरिएका सबै सामाजिक संजालका एपहरु चलाउन मिल्ने यो ग्याजेटले धेरै सजिलो बनाउने पक्का छ। स्मार्टवाचमा पृथ्वीको कुन ठाउँमा कति बज्यो भनेर जान्न सकिने वर्ल्डवाच, धड्कन नाप्ने कार्डियोग्राफ, गति नाप्ने स्पिडोमिटरका साथै आफ्नै केही इन–विल्ट एप्लिकेशन हुन्छन्। अलार्म, रिमाइन्डर, नोट आदि सेट गर्ने सुविधा त छँदैछ। प्रयोगकर्ताका लागि 'स्मार्ट–पीडीए' बनेर आएको यसले भीडभाडमा आफ्नो मोबाइल फोनको सुरक्षा पनि गर्छ।

अहिले सामसुङको ग्यालेक्जी गियर मात्रै किन्न पाइने नेपाली बजारमा बढीमा अबको दुई वर्षभित्र सबै प्रकारका स्मार्टवाचहरु आइसक्नेछन्। ग्यालेक्जी नोट–३ सँगै ग्यालेक्जी गियर नेपाली बजारमा आएको हो। अबको केही समयमै सोनी स्मार्टवाच, पेबल र एप्पलको आइवाच नेपालमा पाइने आशा गर्न सकिन्छ। लगानीको दृष्टिबाट स्मार्टवाचका लागि १५–२० हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन सक्छ।

विश्वबजारमा सोनी, पेबल, एलजी, जेडटीई लगायतका दुई दर्जनभन्दा बढी कम्पनीका स्मार्टवाच आउन थालेका छन्। यो दौडमा केही चिनियाँ कम्पनी पनि छन्। अर्थात्, बजारमा स्मार्टवाच युद्ध शुरु भइसकेको छ।

गणेश आचायर्

comments powered by Disqus

रमझम