५-११ माघ २०७० | 19-25 Janunary 2014

कफी संस्कृति

Share:
  
- रामजी दाहाल
ठमेलमा १५ वर्षअघि खुलेको हिमालयन जाभाले कफी संस्कृति भित्र्याउन योगदान पुर्‍याएको छ।

कफीको स्वाद लिएर थकान मेटाउँदै पुस्तक पढ्न र ल्यापटपमा अफिसको वा व्यक्तिगत काम गर्न कफी सप जाने चलन बढ्दै गएको छ, राजधानीमा। वाईफाई सुविधायुक्त यस्ता कफी सपमा घण्टौंसम्म बस्नेहरूमा युवा बढी देखिन्छन्।

जुनसुकै वेला पिउन मिल्ने कफीलाई संस्कृति बनाउने जस ठमेलको 'हिमालयन जाभा' कफी सपलाई जाने बताउँछन्, सिभिल मलका संचालक लालकाजी गुरुङ। आफैं पनि सो कफी सपका नियमित ग्राहक रहेका गुरुङको विचारमा कफी सपले शहरी जीवनशैली धेरै हदसम्म परिवर्तन गरिदिएको छ। नेपालमा चार हजारभन्दा बढी कफी सप खुलेको जानकारहरूको भनाइ छ।

एस्प्रेसोः एक सटमा पिइने एस्प्रेसो बनाइँदै।

मिहिनेतको फल

काठमाडौंका गगन प्रधानले १५ वर्षअघि ठमेलमा हिमालयन जाभा स्थापना गरेका थिए। अस्टे्रलियाको इन्टरनेशनल होटल म्यानेजमेण्ट स्कूलबाट 'ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट' पढेर सन् १९९९ मा नेपाल फर्केका प्रधानले कफीको स्वाद उतै पाएका थिए। त्यतिवेला सर्वसाधारणको पहुँच नरहेको तारे होटल अन्नपूर्ण बाहेक अन्यत्र कफी सप थिएन। रेस्टुरेन्ट, क्याफे, गेस्टहाउस खुलिसकेको काठमाडौंमा कफीको सम्भाव्यता देखेका उनलाई आफैंले गरेको बजार सर्भेको नतीजाले अरु उत्साहित बनायो। त्यसपछि 'स्पेसाल्टी कफी एसोसिएसन अफ अमेरिका' बाट तालीम लिएर फर्केपछि उनले कमलादीको हेरिटेज प्लाजामा कफी सप खोले। त्यहाँ कफी सप खोल्नुको कारण थियो, विदेशी निकायका थुप्रै कार्यालय हुनु।

विदेशीका लागि कफी सप नौलो नभए पनि नेपालीका लागि नयाँ थियो। कैयौं ग्राहक मेन्यूमा लेखिएका अनेक थरी कफी पढ्थे मात्र। पिउनेहरूमध्ये कैयौंले 'कति तीतो' भन्दै नाक खुम्च्याएर पैसा नतिरी हिंडेको प्रधान सम्झन्छन्। विस्तारै विदेशीसँग आउने नेपालीले मन पराएर आफन्त र साथीभाइलाई ल्याउन थाले। त्यसपछि उनले कफी सपलाई पर्यटकको बढी चहलपहल हुने ठमेलमा सारे।
कफी सप ठमेल सरेपछि नाम जुर्‍यो, हिमालयन जाभा। यो नाम कफीका लागि विश्व प्रख्यात इन्डोनेशियाको जाभा र नेपालीपन बोक्ने हिमाल जोडेर बनाइएको थियो। कफी सप खोल्दा इन्डोनेशियाबाट कफी ल्याउने योजना बनाएका प्रधानले विदेशीलाई नेपाली स्वाद चखाउनु उपयुक्त हुने निष्कर्ष निकालेर नयाँसडकको फ्रेस हाउस डिपार्टमेन्टल स्टोरबाट नेपाली अर्गानिक कफी ल्याए।

विदेशसम्म विस्तारित

हेरिटेज प्लाजामा शुरुमा मासिक रु.४५०० को कफी बेचेका प्रधान अहिले राजधानीका ९ वटा आउटलेटबाट मनग्ये आम्दानी गरिरहेका छन्। हिमालयन जाभाका ब्लूबर्ड त्रिपुरेश्वर, सिभिल मल सुन्धारा, स्टार मल कमलादी, मण्डला स्वीट ठमेल, राइजिङ मल कमलपोखरी, बसन्तपुर र भक्तपुरमा पनि आउटलेट छन्। पर्यटक धेरै आउने पोखरा, जोमसोम, लुक्ला र नाम्चेमा छिट्टै आउटलेट विस्तार गर्ने प्रधानको योजना छ। टोरन्टो र चीनको ल्हासामा शाखा खोलेको हिमालयन जाभा सन् २०१४ को अन्त्यसम्ममा विश्वका अन्य केही मुलुकमा पनि विस्तार हुँदैछ।

कफी उत्पादक मुलुक भनेर संसारमा नचिनिएको नेपाललाई कफीबाट अन्तर्राष्ट्रिय रुपमा चिनाएका प्रधान किसानलाई कफी खेतीमा लाग्न प्रोत्साहित गर्न सरकारले कार्यक्रम ल्याउनुपर्ने बताउँछन्।

उनका अनुसार कफीका लागि नेपालको हावापानी राम्रो छ। उँचाइमा फलेको कफी गुणस्तरीय हुने र नेपालमा ६० हजार हेक्टरमा कफी खेती गर्न सकिने उनको अध्ययनले बताउँछ। तर अहिले १७६० हेक्टरमा मात्र खेती गरिएको छ। नेपालमा उत्पादन हुने ६ हजार टन कफीमध्ये ७० प्रतिशत स्वदेशमा खपत हुने बताउँदै प्रधान भन्छन्, “यहाँ उत्पादन हुने कफी अमेरिकी बजारका लागि 'पिनट्स' भन्दा बढी हुँदैन।”

कफीका स्वाद र मूल्य

७० प्रकारका कफी बनाउन सकिन्छ।

** क्यापचिनो― रु.१८६ (प्रतिकप)।

क्यापचिनोमा एस्प्रेसो र दूध मिसाइएको हुन्छ। जाडो मौसमलाई राम्रो मानिन्छ।

ल क्याफे लाटे― रु.१९९
दूध बढी मिसाइन्छ।

** क्याफे मोक्का― रु.२४८

गुलियो बढी हुन्छ। चकलेट, एस्प्रेसो, दूध र फिटेको क्रिम मिसाइएको हुन्छ।

** अमेरिकानो― रु.१५५

एस्प्रेसो र तातोपानी मिसाइएको हुन्छ।

** एस्प्रेसो― रु.१३१ एक सटमा पिउन मिल्ने एस्प्रेसो ३० मिलिग्रामको र तीतो हुन्छ।

** डबल ग्राण्ड मक― रु.२७६

** रिस्टे्रटो― रु.१००

** ब्ल्याण्डेड मोक्का― रु.२१५

हिमालयन जाभाका संचालक गगन प्रधान।

गुणस्तरीय कफी बनाउन बोटबाट टिपेको ६ घण्टाभित्र बोक्रा छोडाइ सक्नुपर्छ। तर, कतिपय किसानले बोटबाट टिपेर केही समय बुईगलमा राख्छन्। त्यसो गर्दा भान्साको धूवाँले कफी गन्हाउँछ। त्यस्तो हुँदा कफी बनाउने मशीन, काम गर्ने स्टाफ, पानी, दूध सबै ठीक भए पनि कफी मीठो हुँदैन।


कफी स्कूल

तस्वीरहरुः बिक्रम राई

युवा पुस्तालाई कफीबारे जानकारी दिन हिमालयन जाभाले सिभिल मलमा 'एच जे बरिष्टा कफी स्कूल'खोलेको छ। स्कूलले विदेशमा पढ्न जान लागेका विद्यार्थीलाई 'अन द जब टे्रनिङ' दिन्छ। नेपालबाट सीप लिएर विदेश जाँदा काम पाइने हुनाले यो तालीम उपयोगी रहेको प्रधान बताउँछन्।

अहिलेसम्म यो तालीम दुई हजारभन्दा बढीले लिएका छन्। शुरुमा रु.५ हजारमा लिन पाइने यो तालीमलाई अहिले रु.२५ हजार तिर्नुपर्ने तालीम निर्देशक माधव देवकोटाले बताए।

comments powered by Disqus

रमझम