१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

देउवालाई कांग्रेस

Share:
  

हिमाल (५–११ माघ) मा प्रकाशित 'मिसन प्रधानमन्त्री' रिपोर्ट पढेपछि नेपाली कांग्रेसका सभापति सुशील कोइराला सजिलै प्रधानमन्त्री बन्ने देखिंदैनन्। यसका लागि कोइरालाले पटक–पटक प्रधानमन्त्री बनिसकेका शेरबहादुर देउवालाई पार्टीको नेतृत्व छाडिदिनुपर्ने देखिन्छ। नेपालको राजनीति भनेकै भागबण्डाको खेल हो भन्ने कुरा सबैका सामु छर्लङ्ग भइसकेको छ। देउवालाई 'पार्टीको जिम्मा लेऊ बा' नभनेसम्म प्रधानमन्त्रीको कुर्सी चुम्न नसकिने कुरा अरूलाई भन्दा बढी कोइरालालाई नै थाहा होला।

सुनिलकुमार थापा, इमेलबाट

'मिसन प्रधानमन्त्री' रिपोर्टले सुशील कोइराला प्रधानमन्त्री र शेरबहादुर देउवा पार्टी सभापति हुने देखायो। यसरी पार्टीमा सहमति हुन्छ भने कोइरालाले सभापतिको लोभ नगर्दा हुन्छ।

विनोद पोखरेल, इमेलबाट

पीडादायी समाचार

हिमाल (५–११ माघ) मा प्रकाशित 'हामीलाई घर फर्काऊ' समाचार असाध्यै पीडादायी लाग्यो। करीब ८ लाख नेपाली रहेको मलेशियामा दुःख पाउने र जिन्दगीका सारा इच्छा उतै बिसाउने नेपालीको दर्दनाक कथाले मर्माहत बनायो। देश चलाउनेहरूले पनि यो समाचार पढे नयाँ सोच र चिन्ता पलाउँथ्यो कि!

सूर्यकुमार क्षेत्री, फेसबुकबाट

गलत संस्कार हटाऔं

हिमाल (५–११ माघ) मा प्रकाशित 'दीर्घकालीन समाधानको अवसर' पढेपछि थाहा भयो नेपालको स्वास्थ्य मात्र होइन, न्याय, प्रशासन, शिक्षा लगायतका यावत क्षेत्र राजनीतिक हस्तक्षेपबाट ग्रस्त रहेछन्। राजनीतिक हस्तक्षेपले हरेक क्षेत्रका योग्य र इमानदारहरूलाई पीडित बनाएको छ। सक्षम र स्वाभिमानहरूका लागि सबै क्षेत्रको ढोका बन्द छ। 'हाम्रालाई होइन, राम्रालाई अवसर दिनुपर्छ' भन्ने संस्कार नबसेसम्म डा. गोविन्द केसी जस्ता व्यक्तिहरूले त्यागमाथि त्याग नै गरिरहनुपर्छ। त्याग र बलिदानले भन्दा प्राप्ति र उपलब्धिले मह140व पाएसम्म यस्तो पीडादायी अवस्था रहिरहन्छ। त्यसकारण, नेपालीले सर्वप्रथम गलत संस्कार नै बदल्नुपर्छ।

विनोद पौडेल, इमेलबाट

स्वास्थ्य क्षेत्रलाई राजनीतिबाट मुक्त राख्नुपर्छ भन्ने डा. गोविन्द केसीको मागलाई चारैतिरबाट समर्थन जुट्यो। सही व्यक्ति अनशन बस्दा लाखौं मानिस उसैको साथमा हुँदा रहेछन्। देशको हर क्षेत्रमा बसेको गलत संस्कार अन्त्यका लागि सही मानिसहरूको नेतृत्व आवश्यक छ। राजनीतिक आडमा जे पनि गर्न सकिन्छ भन्ने संस्कार मौलाइरहेको समयमा डा. केसीले थालेको निस्वार्थ आन्दोलनको समर्थन र सिको सबैले गर्नुपर्छ। त्यसबाट गलत कुराहरू विस्तारै हराएर जालान्।

गोपाल पौडेल, इमेलबाट

पे्ररणादायी समाचार

हिमाल (५–११ माघ) मा प्रकाशित 'एउटै खुट्टाले छमछमी' समाचार प्रेरणादायी लाग्यो। मीना पुन मगरलाई साधुवाद छ, जसले शारीरिक अपाङ्गता प्रगतिको बाधक हुन सक्दैन भनेर प्रमाणित गरेकी छन्। नेपाली समाजमा अपाङ्गता भएकाहरूलाई बोझ् सम्झ्ने गएगुज्रेको सोच छ। परिवार र नातेदारहरू पनि अपाङ्गता भएका आफन्तलाई सघाउनुको साटो उसलाई घरभित्रै थुनेर राख्न उद्यत हुन्छन्। यो अवस्थामा मीना जस्ताहरूबाटै हो, सबैले प्रेरणा लिएर अगाडि बढ्ने।

सुलोचना चौधरी, इमेलबाट

जानकारीमूलक समाचार

हिमाल (५–११ माघ) मा प्रकाशित मुटु रोग सम्बन्धी रिपोर्टले नयाँ कुरा सिकायो। बिहानको हावा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने बुझेका हामी नजानिंदो तरिकाले चिसोको शिकार बनिरहेका रहेछौं। त्यसमाथि हामी नेपाली नियमित स्वास्थ्य परीक्षण गर्दैनौं। रोगले नच्यापेसम्म अस्पताल नजाने बानीले हामीलाई दुःख दिएको छ।

मिलन बम, इमेलबाट

comments powered by Disqus

रमझम