१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

'संविधान बन्न डेढ वर्ष लाग्छ'

Share:
  

नेपाली कांग्रेसकी सभासद कौशर साह भन्छिन्, “दलहरूले एक वर्षभित्रै संविधान बनाउने प्रतिबद्धता जनाए पनि वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय विषय सम्बोधन गर्नुपर्ने भएकाले संविधान बनाउन डेढ वर्ष लाग्छ।”

देबकी विष्ट
पहिलो पटक संविधानसभामा पुग्दा कस्तो अनुभव भएको छ?

गर्व महसूस गरेकी छु। पार्टीले मूल्यांकन गरेर जनताको काम गर्ने जिम्मेवारी दिएकोमा खुशी छु। जनताको अधिकार स्थापित हुने गरी संविधान बनाउने प्रयत्न गर्नेछु।

एक वर्षमै संविधान बनाउन सकिएला?

दलहरूले एक वर्षमै संविधान बनाउने प्रतिबद्धता जनाएका छन्। कांग्रेसले पनि घोषणापत्रमै उल्लेख गरेको छ। तर जातीय, वर्गीय, लैङ्गिक, क्षेत्रीय मुद्दा सम्बोधन गर्नुपर्ने भएकाले थप ६ महीना समय लाग्न सक्छ। व्यावहारिक जीवनमा पनि त निर्धारित समयभन्दा आधा–एक घण्टा ढिलो पुग्ने नेपालीको बानी नै छ।

गत संविधानसभाले चाहिं संविधान बनाउन किन नसकेको होला?

एमाओवादी ठूलो दल भएकाले पनि सहमति कायम हुन नसकेको हो जस्तो लाग्छ। संविधान बन्न नसक्नुमा पनि त्यही कारण रह्यो। जनताले पर्याप्त समय दिएको त्यो वेला कांग्रेस ठूलो दल भएको भए संविधान पक्का बन्नेथियो।

यो पटक चाहिं संविधान निर्माणमा कस्ता समस्या आउलान्?

हिजोदेखिका विवादमै विवाद हुन्छ भन्ने लाग्छ। राज्य पुनर्संरचना र शासकीय स्वरुप जस्ता विषयमा हिजो जस्तो अब पनि विवाद हुनेछ। तर, अरु धेरै कुरामा सहमति भइसकेकाले समस्या आउला जस्तो चाहिं लाग्दैन।

अल्पसंख्यक र महिलाको विषयलाई संविधानमा कसरी सम्बोधन गराउने योजना छ?

संविधानसभामा महिला र मुस्लिम समुदायको मुद्दालाई प्राथमिकता दिएर उठाउँछु। अरु पार्टीका महिला सभासदहरूसँग पनि छलफल गर्छु। महिला अधिकारको विषयमा आवाज उठाउन संविधानसभामा महिला सभासदको संख्या पर्याप्त छ भन्ने लाग्छ।

comments powered by Disqus

रमझम