१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

डामिदिनोस् प्रभु!

Share:
  
- महेश थापा
छिमेकमा एक जना नामी डाक्टर सा'बले महल बनाएको हुँदा बिसन्चोमा के गर्ने भन्ने चिन्ता छैन, चोकमा बिंडी तान्दै दिन काट्ने बडाहरूले केहीअघिसम्म यिनको हैसियत डेरावाल विद्यार्थी केटोको मात्र थियो भने पनि।

हेर्दाहेर्दै उनको बंगला यो लठिभद्रे टोलकै गजुर बन्यो। टोलको एउटा टोली उनको तीव्र उन्नतिको रहस्य जान्न लँगौटी कसेर लागेको छ। यसबीचमा नेप्से सूचकले ढिकीच्याउँ खेल्यो, तर डाक्सा'बको प्रगति वेगवानै रह्यो। डाक्सा'ब भन्ने सम्बोधनले मात्र उहाँको व्यक्तित्वमाथि न्याय गर्न सक्ने अवस्था छैन। उहाँले डाक्टरको व्यक्तित्वमाथि व्यापारी, ब्रोकर, मध्यस्थकर्ता, कमिशन एजेन्ट आदि अनेक चमक चढाउँदै जानुभएको छ।

छिमेकीहरूलाई निःशुल्क हेल्थ टिप्स बाँड्ने उहाँको उदारतासामु भैरव अर्यालको 'हाँडीघोप्टे भुँडी' ले पानी माग्न भ्याउँदैन। हरेक बिहान हल्का हुन उहाँले गर्ने कसरतबाट निकट छिमेकी म 'अलार्म' घडीमा ब्याट्री फेर्ने झ्न्झ्टबाट मुक्त भइसकेको छु।

अभ्यस्त वातावरणभन्दा भिन्न आवाजले पहिलो बिहान त मलाई उहाँको महलमा सत्याग्रही बूढा डाक्टरको समर्थकहरू नाराबाजी गर्न आइपुगेकी जस्तो लागेको थियो। तर, ठाडाकान लाएर सुन्दा खडेरीमा किसानले महादेव पुकारा गरे जस्तो पो सुनियो। खेती न किसानी, किन मागे यिनले माघे जाडामा पानी भन्दै झयालमा कान सटाएपछि स्पष्ट सुनियो– “हरहर महादेव, डामिदेऊ देऊ–देऊ!”

'पानी देऊ–देऊ' त सुनिआएकै हो, अब यो 'डामिदेऊ–देऊ' कहाँबाट आयो? उन्नतिको यो कुनै नवीन सूत्र हुनुपर्छ भन्ने निर्क्योल सहित त्यसबाट लाभान्वित हुने मनसुवाले छततिर दगुरें। उहाँ टेरेसमा देखा पर्नासाथ बत्तिसा टल्काउँदै अर्जी गरें, “हरको विशेषज्ञता केमा डाक्सा'ब?”

“लाइन मिलाउने”, संक्षिप्त जवाफ आयो।

“यसले कुन रोगको उपचार गर्छ?” मेरो लाटोबुङ्गो प्रश्न।

“सर्वरोगको”, अझ् छोटो उत्तर आयो।

“डामिदेऊ–देऊको अर्थ के होला हजुर?” तेस्रो प्रश्न मार्फत मूल विषयमा गएँ। “डीन बनेर स्वास्थ्य सेवा विस्तार गर्ने धोको थियो। अख्तियारले नडामेसम्म ब्याङ्कले ऋण नपत्याए जस्तै त्रिवि पदाधिकारी र मन्त्रालयका ठालुहरूबाट निगाह भएन।”

“हजुर बिटुलो बाँकी हो र?”

“ठप्पा बस्ने गरी डामिन सकिएन। चल–अचल सम्पत्ति रोक्का भइद्याभे न्यूनतम योग्यता पुग्ने रै'छ। जति लेठो लाए'नि जोर नचलेपछि देवाधिदेवको पुकारा गर्नुपर्‍यो”, असल छिमेकीसँग डाक्सा'बले कुरा लुकाउनुभएन।

“योग्यता पुगे'नि डीन बन्न रोकडा नभई हुन्न भन्छन्”, म पनि सहानुभूतिशील बनें। डाक्टर उत्पादन प्रा.लि. खोलेर सेवा गर्ने डाक्सा'बको इच्छा रहेछ। टक्सार विभाग जस्तो नोट छाप्न सकिने धन्दामा समर्पित हुन नपाउँदा कसलाई चोट लाग्दैन र!

आन्द्रा काटिदिएर बिरामीको चिलिम फर्काउँदा पनि पैसो मुठ्याउन पाइने अनि नङ फुलेको बिरामीलाई आईसीयूमा कोचेर सिरिखुरी पार्न मिल्ने। योभन्दा गजब इलम् दुनियाँमा अर्थोक के होला? भर्चुअल दुनियाँमा नेटवर्किङ गरे जस्तो काठमाडौंमा अस्पताल, ललितपुरमा छात्रावास, भक्तपुरमा कक्षाकोठा, सिलगुडीमा फ्याकल्टी र नौटंकीवाल डाक्टर/बिरामीको जोरजाम गरेर शिक्षण अस्पताल खोल्न पाइने हाम्रो जस्तो देशमा काम गर्नुको मजा वेग्लै छ। तर, आईओएमलाई स्वायत्त बनाउनु पर्छ भन्दै उपवास बस्नेहरू मरिगए यो मजाको भेउ पाउँदैनन्।

संस्थाको के कुरा, यहाँ निर्णय स्वयं स्वायत्त हुन्छ। एउटा डीन मिल्काइन्छ, अर्को टिपेर ल्याइन्छ। एउटा कलेजले ठगेर हिंड्छ, अर्कोलाई लाइसेन्स दिइन्छ। प्रधानमन्त्री, विभागीय मन्त्रीलाई छेउटुप्पो थाहा हुन्न, सम्बद्ध निकायका सबै नकाम भयो मात्र भन्छन्। स्वस्फूर्त काम हुने योभन्दा स्वायत्त निकाय लाल्टिन बालेर खोजे'नि भेटिन्न।

“यो पाराले डाक्टर जन्माउँदा बिरामीको के होला?” मलाई किञ्चित चिन्ता लाग्यो।

“बिरामीको के कुरा, पहिला रोकडा त आओस्”, डाक्सा'ब कड्के।

उहिले धातुसँग खाद्यान्न साटे झैं पैसासँग डाक्टर साट्न उद्यत डाक्सा'बसँग थप प्रश्न सोध्ने हिम्मत आएन। प्रति डाक्टर जनसंख्या अनुपातको सट्टा प्रतिव्यक्ति डाक्टर अनुपात हिसाब गर्नुपर्ने दिन नआउन्जेल सम्बन्धन बाँड्न कृतसंकल्पित उहाँको मनसुवामा धक्का लागेकोमा थकथकी भयो। अनि सृष्टिमा विनाशको जिम्मा लिएका देवाधिदेव महादेवलाई मनमनै जोडदार पुकारा गरें, “तपाईंलाई विश्राम चाहिया हो भने यिनलाई डामिदिनोस्, प्रभु!”

comments powered by Disqus

रमझम