१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

कर्णालीका किशोरी आमा

Share:
  
- तुफान न्यौपाने

तस्वीरः तुफान न्यौपाने

कालीकोटको मान्म–७ घटालीगाउँकी गमला बिक (२०) को काखमा तीन महीनाको छोरो छ। उनको तीन वर्षकी छोरी पनि छन्। गमलाकी आमा जला (४०) को काखमा पनि एक वर्षको छोरो छ। तीन छोरा र चार छोरीकी आमा जला तीन वर्षअघि छैटौं सन्तान जुनपुरीलाई जन्माउन जेठी छोरी गमलासँगै 'गोठ' बसेकी थिइन्। यस भेगमा सुत्केरीले ९ दिनसम्म घरमा बस्न पाउँदैनन्। सोही गाउँकी मना बिक (२०) पनि तीन वर्षकी छोरी हुर्काउँदै छिन्। कानूनले बिहेको न्यूनतम उमेर २० (संरक्षकको मन्जुरीमा १८) वर्ष तोकेको भए पनि कर्णालीमा किशोरी उमेरमै बिहे गर्ने चलन बाक्लै छ।

तीन पुस्ताः गमला र उनकी आमा जला बिक आ–आफ्ना सन्तानका साथ (दायाँबाट)।

१६ वर्षमा भागेर बिहे गरेकी दाहाँ–७ की धना गोराल १७ वर्षमा आमा बनिन्। १९ वर्षीय गोरालको अहिले सात महीनाको गर्भ छ।

जुम्ला चन्दननाथ–४ डाँडाकोटकी धनलक्ष्मी सार्की पनि १९ वर्षमा दुई सन्तानकी आमा बनिसकिन्। दुई वर्षको जेठो र दुई महीनाको सानो छोरो हुर्काइरहेकी धनलक्ष्मी गाउँको वाल विकास केन्द्रकी शिक्षिका पनि हुन्। खेतबारीदेखि दाउरा–घाँससम्म भ्याउनुपर्ने उनी बच्चाहरूलाई पर्याप्त समय दिन नसकेको बताउँछिन्।

कालीकोटका २२ हजार ४५२ र जुम्लाका २२ हजार ३२५ महिलाले १९ वर्षभित्रमा बिहे गरेको राष्ट्रिय जनगणना २०६८ ले देखाउँछ। गत वर्ष कालीकोटमा सुत्केरी भएका तीन हजार ४९८ मध्ये १८ प्रतिशत किशोरी थिए। तीमध्ये सात जनाको सुत्केरी हुँदै ज्यान गयो भने ३६ शिशु पनि बाँच्न सकेनन्। कर्णालीमा मातृ मृत्युदर प्रति एक लाखमा १९१ र शिशु मृत्युदर प्रति हजार ११ छ।

दुई महीनाको कान्छो छोरोसँगै चन्दननाथ–४ डाँडाकोट जुम्लाकी धनलक्ष्मी सार्की (१९)।

मान्म–७ घटालीकी चन्दा बिक (२२) कान्छो छोरोसँग। उनको जेठो छोरो पाँच वर्षको छ।

अञ्चल सदरमुकाम जुम्लामा १३ वटा बर्थिङ सेन्टर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति सुविधा भए पनि गत वर्ष सुत्केरी भएका कुल महिलामध्ये ३३ प्रतिशतले मात्र स्वास्थ्यकर्मीको सहयोग लिएका थिए। स्वास्थ्य संस्थामा रेकर्ड भएकामध्ये ६ जना आमाले सुत्केरी हुँदा ज्यान गुमाए भने प्रति हजारमा १६ शिशुको मृत्यु भयो।

स्वास्थ्यकर्मीहरू किशोरी उमेरमै सुत्केरी हुनेहरूलाई बढी रक्तस्राव र पछि पाठेघरको क्यान्सर हुने खतरा देख्छन्। किशोरावस्थामै पारिवारिक जिम्मेवारी र सक्रिय यौन जीवनमा प्रवेश गर्नुपर्ने बाध्यताले महिलाहरूको प्रगतिको बाटो त रोकिएको छ नै यस भेगका अधिकांश बालबालिका कुपोषणको शिकार पनि भएका छन्।

२४ वर्षे विधवाः माइलो छोरो ललितजंग (४) लाई स्कूल पुर्‍याउन हिंडेकी दाहाँ–१ लानपुर कालीकोटकी विष्णा शाही। उनका नौ र तीन वर्षका दुई छोरा जेठो (धीरेन्द्र) र कान्छो (सुनिल) छन्। १० फागुन २०६८ मा पति धर्म शाहीको मृत्यु हुँदा विष्णा २४ वर्षकी थिइन्।

१६ वर्षमा भागेर बिहे गरेकी मान्म–७ घटालीकी मना बिक (२०) तीन वर्षकी छोरी हुर्काउँदैछिन्।

comments powered by Disqus

रमझम