'पोलिग्राफ टेष्ट' इलेक्ट्रोकार्डियोग्राफी (इसीजी) गरे जस्तै प्रविधि र उपकरणबाट गरिन्छ। “मेशीनले व्यक्तिको शारीरिक अवस्था अध्ययन गरेर झूटो बोलेको संकेत गर्छ” नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख डीआईजी सुरेन्द्रबहादुर शाह भन्छन्, “त्यसका आधारमा विशेषज्ञले विश्लेषण गरेर वास्तविकता पत्ता लगाउँछ।”
जनशक्ति तयार
पोलिग्राफ टेष्ट गर्ने दक्ष जनशक्ति तयार गर्न अमेरिकी सहयोगमा अमेरिकाबाट आएका विशेषज्ञले नेपाल प्रहरीका दुई जना इन्स्पेक्टर, ६ जना सई र दुई जना असईलाई दुई महीना तालीम दिएका थिए। तालीम पाएपछि उनीहरू पोलिग्राफ टेष्ट गर्ने विशेषज्ञ बनेका छन्। पोलिग्राफ टेष्ट गर्ने पाँच वटा मेशीन अमेरिकाबाट ल्याइसकिएको छ। तिनीहरूलाई अपराध अनुसन्धान विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), विशेष ब्यूरो, नार्कोटिक कन्ट्रोल ब्यूरो (एनसीबी) र महानगरीय प्रहरी आयुक्त कार्यालयमा राखिनेछ। डीआईजी शाह भन्छन्, “कसको टेष्ट गर्ने, कस्तो अवस्थामा गर्ने, कसको अनुमतिमा गर्ने र सम्बन्धित व्यक्तिको गोपनीयता कसरी राख्नेबारे मापदण्ड बनाएपछि प्रयोगमा ल्याइनेछ।”
पोलिग्राफ टेष्टले लामो समयदेखि सुल्झिन नसकेका गम्भीर र जटिल प्रकृतिका अपराधको अनुसन्धानमा सहयोग पुग्ने प्रहरीको विश्वास छ। औपचारिक प्रयोग नहुँदै प्रहरीका विभिन्न एकाइबाट विभिन्न घटनाको अनुसन्धानका लागि 'पोलिग्राफ टेष्ट' को माग हुन थाल्नुले यसको महत्व दर्साउँछ।
पोलिग्राफ टेष्टलाई 'अपराधीलाई कठघरामा उभ्याउने' अचूक उपाय भनेर बुझ्िए पनि यसको प्रयोगले परीक्षण गरिएको व्यक्तिको शारीरिक अवस्थामा परिवर्तन ल्याउने र त्यसको आधारमा विशेषज्ञले विश्लेषण गर्ने डीआईजी शाह बताउँछन्। “यसले अपराधी वा चोर पत्ता लगाउनेभन्दा उसले बोलेको सही भए/नभएको संकेत गर्ने हो” डीआईजी शाह भन्छन्, “त्यसैले यो प्रविधिमा मेशीनभन्दा त्यो चलाउने विज्ञ महत्वपूर्ण हुन्छ।”
पोलिग्राफ टेष्टको प्रयोग अन्य मुलुकमा सुरक्षा निकायमा जनशक्ति छनोट गर्न गरिन्छ। तर, यो प्रविधिलाई वैज्ञानिक प्रमाण मान्ने कि नमान्ने भन्नेमा भने संसारभरि बहस चलेको छ। नेपाल प्रहरी त्यो बहसमा अल्झिनुभन्दा अपराध अनुसन्धानमा सहयोगी बनाउनु उपयुक्त हुने धारणा राख्छ।
अपराध अनुसन्धानमा सहयोग पुर्याउन प्रहरीले डीएनए एनलाइजर मेशीन र डकुमेन्टको शुद्धता जाँच्ने आधुनिक मेशीन पनि ल्याएको छ। अपराध अनुसन्धानका लागि डीएनए परीक्षण गर्न यसअघि कलकत्ता वा बेलायतमा नमूना पठाउनुपर्थ्यो। नास्टको प्रयोगशालामा डीएनए परीक्षण गर्ने मेशीन पुरानो भएकाले त्यसको उपयोगिताबारे टीकाटिप्पणी हुने गरेको थियो। महत्वपूर्ण वैज्ञानिक प्रमाण मानिने डीएनए परीक्षण गर्ने उपकरण एशिया फाउण्डेशनको सहयोगमा ल्याइएको हो। प्रहरी मुख्यालयले अहिले नै डकुमेन्टको शुद्धता जाँच्ने मेशीन पनि ल्याएको छ, जसले जाली नोट, फर्जी कागजात र किर्ते कागजात पत्ता लगाउन सक्छ।
सेवा विशिष्टीकरण
पदबहाली गरेसँगै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अपराध अनुसन्धानलाई प्राथमिकता दिइने र अहिले ५ प्रतिशतभन्दा कम रहेको अपराध अनुसन्धानतर्फको दरबन्दीलाई १० प्रतिशत पुर्याउने घोषणा गरेका थिए। यस्तै घोषणा गरेका यसअघिका प्रहरी प्रमुख कुवेरसिंह राना ती काम नहुँदै सेवानिवृत्त भएका थिए।
प्रहरी मुख्यालयका अधिकारीहरू प्रहरीको प्रमुख जिम्मेवारीका रूपमा रहेको अपराध अनुसन्धान र नियन्त्रणलाई प्रभावकारी बनाउन सेवा विशिष्टीकरणको प्रयास अघि बढाइएको बताउँछन्। केन्द्रदेखि प्रहरीको तल्लो एकाइसम्म अनुसन्धानमा दक्ष जनशक्ति खटाउने र सोही अनुसार प्रविधिको प्रयोग बढाउने मुख्यालयको योजना छ।
अपराध अनुसन्धान विभागले आगामी वर्षको बजेटमा समेटिने गरी अपराध अनुसन्धानतर्फ सेवा विशिष्टीकरण गर्ने लगायतका संगठनात्मक पुनर्संरचनाको प्रस्ताव तयार पारिरहेको छ। “विकसित मुलुक जस्तो गर्न नसके पनि हाम्रो आवश्यकता र स्रोत–साधनले भ्याउने गरी अपराध अनुसन्धानलाई प्राथमिकतामा पार्दैछौं” प्रहरी मुख्यालयका एक उच्च अधिकृत बताउँछन्।
रामेश्वर बोहरा