१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

तेलमा झेल

Share:
  
- सेन्छेलुङ लिम्बू
गत साउन यता उपभोक्तालाई रु.४३ लाख बराबरको पेट्रोलियम ठग्ने राजधानीका सात वटा पेट्रोल पम्पले दण्डित हुनुपरेको छैन।

३० मंसीरमा सिलबन्दी गरिएको नयाँबानेश्वरस्थित थ्री ब्रदर्श आयल स्टोरले १ पुसमा पेट्रोल बेच्दै।
नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालय सहितको संयुक्त बजार अनुगमन टोलीले ३० मंसीरमा राजधानीका तीन वटा पेट्रोलपम्पले नापभन्दा कम तेल बेचिरहेको फेला पार्‍यो। १ र ३ पुसमा कम तेल बेच्ने थप दुई पम्प फेला पारेको टोलीले त्यसअघि ४ भदौ र १५ साउनमा पनि त्यस्ता दुइटा पम्प भेट्टाएको थियो। नापतौल विभागका उपमहानिर्देशक विश्वबाबु पुडासैनी भन्छन्, “उनीहरूले पाँच लिटर पेट्रोल बेच्दा २०० मिलिलिटरसम्म ठगिरहेको पाइयो।”

२०० मिलिलिटर कम पेट्रोल दिएर सात वटा पम्पले उपभोक्ताबाट रु.४२ लाख ७३ हजार ३५८ ठगेका छन्। दैनिक ५००० लिटर पेट्रोल बेच्ने नयाँबानेश्वरको थ्री ब्रदर्श आयल स्टोर्सले पाँच लिटर नापमा ४० मिलिलिटर ठग्ने गरेको पाइएको छ। आयल निगमको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७०/७१ शुरू भएयता थ्री ब्रदर्शले ७ लाख ५७ हजार लिटर पेट्रोल बिक्री गरेको छ। यो परिमाणको बिक्रीमा ठगेको ६०५६ लिटर पेट्रोलबाट उसले रु.१३० को दरले रु.७ लाख ८७ हजार २८० कुम्ल्याएको छ।

ठगीमा प्रतिस्पर्धा

घण्टाघरस्थित चुनिलाल–हरिनारायण आयल स्टोरको ठगी थ्री ब्रदर्शको भन्दा बढी छ। ३० मंसीरमा नापतौल विभाग नेतृत्वको टोलीले अनुगमन गर्दा स्टोरले पाँच लिटरको नापमा १५० मिलिलिटर पेट्रोल र ३० मिलिलिटर डिजल ठगिरहेको फेला पार्‍यो। साउनयता ५ लाख ७८ हजार लिटर पेट्रोल र ६७ हजार लिटर डिजल बेचेको चुनिलाल–हरिनारायणले यो परिमाणबाट पेट्रोलमा १७ हजार ३४० लिटर र डिजलमा ४०२ लिटर ठगेको देखिन्छ। यसमध्ये उसले प्रतिलिटर रु.१०३ को डिजलबाट रु.४१ हजार ४०६ र पेट्रोलबाट रु.२२ लाख ५४ हजार २०० कुम्ल्यायो।

पेट्रोल र डिजल दुवैमा प्रति पाँच लिटरको नापमा ६० मिलिलिटर ठग्ने गरेको लगनखेलको मञ्जुश्री पेट्रो सेन्टरले चालु आवमा ९१ हजार लिटर पेट्रोल र २ लाख ३२ हजार लिटर डिजल बेचेको तथ्याङ्क छ। यो परिमाणको पेट्रोलियमबाट ठगेको १०९२ लिटर पेट्रोलबाट मञ्जुश्रीले रु.१ लाख ४१ हजार ९६० र २७८४ लिटर डिजलबाट रु.२ लाख ८६ हजार ७५२ हात पारेको देखिन्छ। यसैगरी, कौशलटारस्थित अरनिको पेट्रोल सेन्टरले २५ मिलिलिटर कम पेट्रोल बिक्री गरिरहेको अनुगमन टोलीले प्रमाणित गरेको छ। साउनयता २ लाख १८ हजार लिटर पेट्रोलबाट पाँच लिटर नापमा २५ मिलिलिटर (कुल १०९० लिटर) ठगेको अरनिकोले रु.१ लाख ४१ हजार ७०० अनैतिक कमाइ गरेको देखिन्छ। यसैगरी, ३ पुसमा पाँच लिटरको नापमा २५ मिलिलिटर कम पेट्रोल र ३५ मिलिलिटर कम डिजल बिक्री गरिरहेको भेटिएको सतुङ्गलस्थित काठमाडौं आयल स्टोरले चालु आवमा ७१ हजार लिटर पेट्रोल र २ लाख १० हजार लिटर डिजल बिक्रीमा ठगेको ३५५ लिटर पेट्रोलबाट रु.४६ हजार १५० र १४७० लिटर डिजलबाट रु.१ लाख ५१ हजार ४१० अनैतिक कमाइ गर्‍यो।

पाँच लिटरको नापमा ५० मिलिलिटर कम पेट्रोल बेचिरहेको भेटिएको धापासीस्थित दिव्य सप्लायर्सले पनि एक महीनामै ७३ हजार लिटर पेट्रोलबाट ७३० लिटर ठगेको प्रमाणित भएको छ, जसबाट उसले रु.९४ हजार ९०० कुम्ल्यायो। त्यस्तै, पाँच लिटरमा २०० मिलिलिटर ठग्ने गरेको ग्वार्कोस्थित उज्वल आयल स्टोर्सले गत साउन र भदौमा ६३ हजार लिटर पेट्रोल बेचिसक्दा २५२० लिटर ठग्न भ्याएको देखिन्छ। उसले त्यसबाट सर्वसाधारणको रु.३ लाख २७ हजार ६०० ठग्यो।

ग्राफिक्सः किरण महर्जन

ठगलाई उन्मुक्ति

उपभोक्ता ठग्ने पम्पहरूमा अनुगमन टोलीले ३० मंसीरमा गरेको सिलबन्दी एक साता पनि टिकेन। नापतौल विभागले थ्री ब्रदर्श र काठमाडौं आयल स्टोरमाथिको कारबाही ५ पुसमै फुक्का गरिदियो। थ्री ब्रदर्शले त सिलबन्दीकै अवस्थामा पनि पेट्रोल बिक्री गर्‍यो। आदेश नमान्ने पम्पलाई कडा कारबाही गर्ने बताएका विभागका महानिर्देशक रामआधार साहले पाँच दिनपछि नै अरनिको र काठमाडौं आयल स्टोर्ससँगै थ्री ब्रदर्शको पनि सिलबन्दी खोलिदिए। रातारात कारबाहीको 'मूड' बदलेका महानिर्देशक साह भन्छन्, “उनीहरूले नियतवश ठगेको नदेखिएकोले सुध्रन्छन् भनेर छाडिएको हो।”

स्ट्यान्डर्ड नाप र तौल नियमावली २०२७ मा पाँच लिटरको नापमा नपुग परिमाण १५ मिलिलिटरभन्दा बढी हुन नहुने व्यवस्था छ। विभागले 'सामान्य कैफियत' भन्दै उन्मुक्ति दिएको ती पम्पहरूले २५ मिलिलिटरदेखि ४० मिलिलिटरसम्म कम तेल बेच्ने गरेका थिए। ती पम्पको क्रियाकलाप उपभोक्ता संरक्षण ऐन, २०५४ विपरीत रहेको बताउने उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँ विभागले उनीहरूलाई कारबाहीको साटो संरक्षण गरेको बताउँछन्।

विभागले कम तेल बेच्ने चुनिलाल–हरिनारायण, मञ्जुश्री र अर्थिङबाट तेल बिक्री गरिरहेको जयबागेश्वरीको न्यू पुष्पाञ्जली आयल ट्रेडर्सको भने आपूर्ति रोक्का गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले नापजाँच पछि सिल गरेको मेशीनबाट मात्र पेट्रोल–डिजल बिक्री–वितरण गर्न पाउने पम्पहरूले सिल भएको मेशीन नै बिगारेर ठगिरहेका छन्। कतिपय पम्पले मेशीनको गियर बक्सको रिङ्ग झारेर मिटर छिटो घुम्ने बनाई उपभोक्ता ठग्ने गरेका छन्। कतिले अर्थिङबाट ठग्ने गरेका छन्। मेशीनमै तार जोडेर अर्थिङ गरेपछि थोरै तेलमै मिटर धेरै घुम्छ। मञ्चका महासचिव बानियाँ विभागले दबाब दिनसक्ने पम्पको सिलबन्दी खुल्ला र अरूको आपूर्ति रोक्का गरेर एउटै प्रकृतिका ठगीमा फरक–फरक कारबाही गरेको बताए। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्छन्, “ठगी प्रमाणित गरेको निकायले कानूनी कारबाहीको साटो उन्मुक्ति दिएकोले यसमा रकमको खेल भएको आशंका छ।”

विभागका उपमहानिर्देशक पुडासैनी भने उपभोक्ता ठग्ने पम्पमा सिलबन्दी हुनु र तेल आपूर्ति रोकिनु नै काफी कारबाही भएको दाबी गर्छन्। स्ट्यान्डर्ड नाप र तौल ऐन २०२५ मा मेशीनमै गडबड गरेर बिक्री गर्नेलाई रु.१ हजार जरिवाना वा एक वर्षसम्मको कैद वा दुवै सजायको व्यवस्था छ भने उपभोक्ता संरक्षण ऐन, २०५४ ले उपभोक्ता हित विपरीत क्रियाकलाप गर्नेलाई रु.१ लाखसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरेको छ।

comments powered by Disqus

रमझम