१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

सुशीलले पाएको मौका

Share:
  
- शंकर तिवारी
राष्ट्रको अभिभावक बनेर संक्रमणकाल अन्त्य गर्ने मौकालाई नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले गुमाउनुहुँदैन।

गत संविधानसभा निर्वाचनमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस पाँच वर्षपछि पहिलो दल बनेको छ। २०७० को निर्वाचनमा कांग्रेस पहिलो पटक दोस्रो पुस्ताका नेताहरू सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको नेतृत्वमा लडेको थियो। हुन त, आलोचक सहित पार्टीकै केही समर्थक पनि यो निर्वाचनमा कांग्रेसले सफलता पाउनुमा नेतृत्वभन्दा माओवादी र मधेशवादी दलप्रतिको चरम वितृष्णालाई कारण मान्छन्। तर, सभापति भएकाले कांग्रेसले पाएको सफलताको हकदार कोइराला हुन् भन्न अप्ठ्यारो मान्नुहुँदैन। सफलताको जस पाएकाले हुनुपर्छ, इमानदार, त्यागी र निष्ठावान मानिएका कोइराला अहिले प्रधानमन्त्री बन्न कस्सिएका छन्।

अभिभावकको खाँचो

नेपालको इतिहासमा २००७, २०४६/४७ र २०६२/६३ लाई राजनीतिको मानक मिति मानिन्छ। किनभने यी मितिसँग संविधानलेखन पनि जोडिएको छ। तर, संविधानलेखनमा २०४७ मात्र सफल भयो। २००७ को क्रान्तिपछि २०१५ मा मात्र राजाले संविधान जारी गरे भने २०६४ मा निर्वाचित भएको संविधानसभाले चार वर्षमा पनि संविधान दिन सकेन। त्यसैले २०४७ मा एक वर्षभित्रै संविधान के कारणले जारी हुन सक्यो भनेर खोज्नु आवश्यक छ।

२०४७ मा प्रमको साँचो दावेदार गणेशमान सिंह थिए। तर, राजासँग उनले कृष्णप्रसाद भट्टराई उपयुक्त हुन्छन् भनिदिए। र, आफू अभिभावक बनेर उनले किसुनजीलाई प्रधानमन्त्रीको कुर्सीमा राखिदिए। २०४७ मा दरबार र वाममोर्चालाई मिलाएर संविधान जारी गर्नु सजिलो थिएन। सेनाका जर्नेलहरू प्रमलाई दबाब दिन बालुवाटार पुग्थे भने वाममोर्चाले विरोधमा सडक तताउँथ्यो। तर, गणेशमानको अभिभावकत्वमा कूटनीतिक चातुर्य भएका किसुनजीले सबैलाई समन्वय गर्दै संविधान जारी गरे।

गणेशमान अभिभावक नबनेर प्रधानमन्त्री बनेको भए शायद त्यो वेला समयमै संविधान जारी नहुन सक्थ्यो। २००७ लाई हेर्ने हो भने बीपी कोइराला क्रान्ति नायक थिए। तर उनमा अनुभवको कमी थियो भने उनीसँग २०४७ मा जस्तो राजनीतिक अभिभावक पनि थिएनन्। उता, परिस्थितिले पार्टी सभापति बनेका मातृकाप्रसाद कोइराला आफैं कार्यकारी पदका आकांक्षी थिए। अन्तरिम सरकार विघटन भएपछि मातृकाले प्रमको पद अस्वीकार गरेर बीपीलाई प्रस्ताव गरेको भए इतिहास अर्कै हुनेथियो होला। सुवर्णलाई मन्त्रिपरिषद्को अध्यक्ष मान्न बीपी तयार भएपछि मात्र २०१५ मा ऐतिहासिक आम निर्वाचन सम्भव भएको थियो। राजा महेन्द्र बीपीप्रति सकारात्मक नभए पनि उनी अभिभावक बनेकाले २००७ देखिको संक्रमण २०१५ मा पुगेर टुङ्गिएको थियो।

२०६४ को संविधानसभामा पहिलो दल बनेपछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अकल्पनीय सफलताको उन्मादले बलि चढायो। संविधानसभा छँदै २०६३ को परिवर्तनका नायक गिरिजाप्रसाद कोइरालाको निधन भएपछि दाहालले आफैं अभिभावक भएको दाबा गरे। तर उनी बाबुराम भट्टराईको अभिभावक पनि बन्न सकेनन्। त्यही कारण बाबुरामको असफलता दाहालको पनि असफलता बन्न पुग्यो।

कोइराला अभिभावक बन्नुपर्छ

अहिलेको संक्रमण अन्त्य गर्न सरकारप्रमुखले गठबन्धन सरकार चलाउँदै संविधान जारी गर्न सक्नुपर्छ। तर, देशलाई अहिले प्रमभन्दा अभिभावक बढी चाहिएको छ। अभिभावक कसैले दावी गर्नासाथ पाउँदैन। इतिहास, व्यक्तित्व र हैसियत हुनुपर्छ। यी तीन वटै विशेषता भएको अहिले सुशील कोइराला बाहेक कोही देखिंदैनन्। इतिहासको अनुभवबाट सिकेर मुलुकलाई अघि बढाउने हो भने कोइराला अहिले प्रम बन्नभन्दा अभिभावक बन्न लाग्नुपर्छ। प्रम बन्दा कोइरालाले सरकार र पार्टी चलाउने तथा संविधान बनाउने तीन प्रमुख जिम्मेवारी सम्हाल्नुपर्छ। पार्टी सभापतिको जिम्मेवारी अरूलाई कार्यवाहक दिंदैमा सकिने होइन। तीन वटै जिम्मेवारीलाई उत्तिकै न्याय गर्न नसकिने हुनाले मुखमा आएको प्रम पद अस्वीकार गर्दा कोइरालाकै उचाइ बढ्नेछ।

उनले त्यस्तो निर्णय गर्दा कसैले पनि जिम्मेवारीबाट पन्छिएको भन्ने छैन। किनभने त्यसवेला पनि उनले अभिभावक बनेर सबै जिम्मेवारी निर्वाह गर्नेछन्। इतिहासमा विरलैले पाउने यो मौकालाई सदुपयोग गरेर कोइराला परीक्षामा उत्तीर्ण हुनेछन् भन्ने आशा गर्नु अहिले अतिशयोक्ति हुने छैन।

comments powered by Disqus

रमझम