१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

बज्जिकालाई बेवास्ता

Share:
  
मैथिली र भोजपुरीले सबैतिरबाट प्राथमिकता पाउँदा त्यही क्षेत्रमा बोलिने बज्जिका वास्तामा परेको छ।

सञ्जय साह मित्र
शैक्षिक जनशक्ति विकास केन्द्र (सेडु) कलैयाद्वारा आयोजित मातृभाषा (बज्जिका) शिक्षकका लागि आयोजित दश दिवसीय तालीममा सहभागी विभिन्न विद्यालयका शिक्षक–शिक्षिका।
नेपालमा बोलिने १२३ भाषामध्ये सातौं धेरै संख्यामा बोलिने बज्जिका भाषीको संख्या ८ लाख रहेको पछिल्लो जनगणनाको तथ्याङ्क छ। तर, महोत्तरी, सर्लाही र रौतहटमा बोलिने यो भाषाप्रति राज्य, राजनीतिक दल र भाषा उत्थानका लागि गठित संस्थाहरू उदासीन रहेको बज्जिका भाषीको गुनासो छ।

मत माग्न मात्र प्रयोग

४ मंसीरको संविधानसभा निर्वाचनमा रौतहट–१ का एमाले उम्मेदवार माधवकुमार नेपालले बज्जिकामा पर्चा छपाउँदै भाषण गरेर मत मागे पनि उनको पार्टीको घोषणापत्रमा यो भाषाबारे केही लेखिएको पाइँदैन। प्रधानमन्त्री हुँदा पनि नेपालले मैथिली भाषा विकासका लागि सरकारबाट रु.२ करोड विनियोजन गराउँदा बज्जिकालाई बेवास्ता गरेका थिए। रौतहट–३ का एमाओवादी उम्मेदवार प्रभु साहले पनि निर्वाचनमा बज्जिका भाषामा पर्चा छापेर भाषण गरे। तर, उनको पार्टीको घोषणापत्रमा पनि बज्जिकाले ठाउँ पाएन। रौतहट–४ की एमाले उम्मेदवार सरलाकुमारी यादवले त बडादशैं, दिपावली र छठमा पनि बज्जिका भाषामै शुभकामना पत्र छापेर बाँडिन्। तर, भाषा उत्थानका लागि उनले पनि केही नगरेको नेपाल पत्रकार महासंघ, रौतहटका पूर्व अध्यक्ष प्रेमचन्द झा बताउँछन्।

रौतहटमा निर्वाचन प्रचार गर्दा बज्जिका भाषामा बोल्ने एमाले केन्द्रीय सदस्य डा. वंशीधर मिश्र नेपाल भोजपुरी प्रतिष्ठानका केन्द्रीय अध्यक्ष छन्। गत संविधानसभा निर्वाचनमा रौतहट–४ बाट विजयी नेपाली कांग्रेसका कृष्णप्रसाद यादव भने अरू नेताभन्दा केही फरक देखिए, सभासदको शपथ बज्जिकामा लिएर। तर, उनको दलको घोषणापत्र पनि यो भाषाबारे मौन छ। बज्जिकाबारे सबै दलको घोषणापत्र मौन हुनु दलहरूको उदासीनता भएको बज्जिका भाषा शिक्षक समिति रौतहटका अध्यक्ष चन्द्रकिशोर झा बताउँछन्।

बज्जिकाबारे मधेशवादी दल र नेताहरू पनि उदासीन देखिन्छन्। जबकि, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावनाका अध्यक्ष महेन्द्र राय यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झ्ाा, तराई मधेश फोरमका अध्यक्ष अमर यादव लगायतका नेता बज्जिका भाषी क्षेत्रका हुन्। निर्वाचन प्रचारमा बज्जिका भाषा प्रयोग गर्ने ती मधेशी दलहरूले पनि निर्वाचन घोषणापत्र र दस्तावेजमा यसलाई बेवास्ता गरेका छन्।

भाषामै उदासीन

बज्जिका भाषा विकास परिषद् नेपालका केन्द्रीय अध्यक्ष शिवचन्द्र साहको विचारमा मधेशवादी दलहरू मधेशमा बोलिने कुनै पनि भाषाबारे सकारात्मक छैनन्। मधेशवादी दलहरूलाई मधेशको भाषा, संस्कृतिको साटो राजनीतिसँग मात्र चासो रहेको उनको धारणा छ। मधेशको भाषा र संस्कृतिसँग आफूलाई जोड्दा मात्र मधेशवादी दलहरूले मधेशीहरूसँग भावनात्मक सम्बन्ध गाँस्न सक्ने बज्जिका भाषाका अध्येता लेखक शीतल गिरी बताउँछन्। त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तरमा बज्जिका सम्बन्धी 'थेसिस' लेखेका रामआधार पासवान चाहिं मधेशवादी नेताहरूले मैथिली र भोजपुरीलाई प्राथमिकता दिएकाले बज्जिका पछि परेको बताउँछन्।

एमाओवादीले भाषाको नाउँमा पार्टीका समितिहरू बनाएर भाषिक जागरुकता र चेतना ल्याउन खोजेको गिरीको बुझाइ छ। तर, उसले पनि त्योभन्दा बढी केही नगरेको उनी बताउँछन्।

सञ्जय साह मित्र, रौतहट

comments powered by Disqus

रमझम