१२-१८ माघ २०७० | 26 Jan - 1 Feb 2014

आफैंमाथि राम्रो सिनेमा

Share:
  
मेरुदण्ड पक्षघात भएर कम्मरदेखि मुनिको भाग नचल्ने मानिसले के गर्न सक्ला? यो प्रश्नको उत्तर प्रवीण श्रेष्ठले दिएका छन्– आफ्नै जीवनमा आधारित फिल्म 'मोक्ष' को कथा लेखन, निर्देशन र सम्पादन गरेर।

परिवारको सहयोग विना साथीहरूसँग मिलेर ब्याण्ड खोलेको एक तन्नेरी संगीत क्षेत्रमा पहिचान बनाउन लागिपरेको छ। एउटा सांगीतिक प्रतिस्पर्धामा उसको समूह प्रथम पनि हुन्छ। तर, अकस्मात् अज्ञात समूहको आक्रमणमा परेर मेरुदण्ड पक्षघात भएपछि ब्याण्डका भोकलिष्ट प्रवीणका सपना चकनाचूर हुन्छन्। ब्याण्डका साथी र प्रेमिका समेत टाढा हुन्छन्। र पनि, ऊ निराशालाई पैतालामुनि दबाउँदै जीवनको बाटो पहिल्याउँछ। 'मोक्ष' हेरेपछि प्रवीणलाई साधुवाद नदिने कोही हुँदैनन्।

फिल्मले नायकलाई पक्षघात हुनु अघि र पछिको अवस्थाको बडो सन्तुलित चित्रण गरेको छ। फिल्मका अधिकांश दृश्यले दर्शकको मनमा तरङ्ग उत्पन्न गर्छ। शारीरिक अपाङ्गता हुनुको बोझिालो कथा सुनाउँदै, देखाउँदै फिल्म अघि बढ्दा दर्शकमा पीडाबाट आशा र उत्साह सञ्चार हुन थाल्छ। सवा दुई घण्टा दर्शकलाई एकोहोरो पार्ने 'मोक्ष' मेकिङ, छायाङ्कन, अभिनय, संवाद, गीत–संगीत सबै कुरामा अब्बल छ।

प्रज्ञान थापा र राज कथेतको पटकथा–संवादले छरिन नदिएको फिल्मलाई सञ्जीव सिंह, नवक्रान्ति, रक शास्त्र ब्याण्ड, धिलुङ राई र प्रवीणको आफ्नै संगीतले म्युजिकल बनाएको छ। रविन श्रेष्ठ, प्रताप सिंह र हरि हुमागाईको सिनेमाटोग्राफी उम्दा छ। प्रवीणले दर्जनौं फिल्म सम्पादन र सय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेको पूरापूर अनुभव देखाएका छन्। आफ्नो जीवनको कटु अनुभवमा २० प्रतिशत फिक्सन मिसाएर यो फिल्म तयार गरेको उनले बताए। सुनिल मानन्धर निर्माता रहेको 'मोक्ष' को मेकिङ फिल्ममा 'पाँच फाइट, पाँच डान्स' को घिसीपिटी फर्मूला पछ्याउनेहरूका लागि गतिलो पाठ बनेको छ। २४ माघबाट देशभर प्रदर्शनमा आउन लागेको यो फिल्मले हलमा छिरेका दर्शकलाई छिनछिनमा आँशु र हाँसोमा पार्नेछ।

अपाङ्गताको क्षेत्रमा क्रियाशील सक्षम नेपालले ९ माघमा च्यारेटी शो गरेको 'मोक्ष' मा प्रवीणको भूमिकामा गायक कोशिश क्षेत्री, उनकी प्रेमिकामा बेनिशा हमाल र ब्याण्डका पूर्व साथीहरूको भूमिकामा बिक्रम सिंह, मनिष गोदार र दिपेश भण्डारी सहित बसन्त भट्ट, शेखर चापागाई सबैले सशक्त अभिनय गरेका छन्। फिल्मले काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी रिहाब्लिटेशन सेन्टर र काठमाडौं जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रको रिह्याब सेन्टरमा संघर्षशील जीवन बाँचेका वास्तविक नायकहरूको अनुभवलाई पनि सुहाउँदो गरी समेटेको छ। सात वर्षअघि आफू जस्तै मेरुदण्ड पक्षघात भएका साथीहरू भेटेपछि फिल्म बनाउने सोच आएको प्रवीणले हिमाल सँग बताए।

अनुशील

comments powered by Disqus

रमझम