१९-२५ माघ २०७० | 2-8 February 2014

विधिको पालना

Share:
  

हिमाल (१२―१८ माघ) मा प्रकाशित नयाँ संसद्को भारी समाचार पढेपछि संसद् नहुँदा भत्किएको विधि र प्रक्रियालाई जोड्न कति गाह्रो हुँदोरहेछ भन्ने प्रष्ट हुन्छ। पछिल्ला केही घटनाक्रम हेर्दा हामीकहाँ विधि र प्रक्रियाको आधारमा काम भएको देखिंदैन। बढ्दो मनपरी प्रवृत्तिका कारण भत्किएको सिस्टमलाई सही बाटोमा डोर्‍याउनका लागि ठूलै कसरत गर्नुपर्ने हुन्छ। स्थानीयदेखि राष्ट्रिय स्तरसम्म हुने गरेका अनियमितता र मनपरी प्रवृत्ति अन्त्यको लागि सबैले आफ्नो ठाउँबाट पहल गर्नु जरूरी छ।

सुनिलकुमार थापा, इमेलबाट

गजबको नेपाल!

हिमाल (१२―१८ माघ) मा प्रकाशित तेलमा झेल समाचार पढेपछि दिक्क लाग्यो। इमान्दारिता भन्ने कुरा अब कहीं बाँकी रहेन। जुनसुकै व्यवसायमा पनि कमाउ धन्दा मात्र हावी भएको देखिन्छ। त्यसकारण ठगी गर्नेहरूलाई उन्मुक्ति दिने कुराको अन्त्य नभएसम्म हामी जस्ता सर्वसाधारण चुपचाप ठगिएको हेरिनु बाहेक अरू केही गर्न सक्दैनौं। सर्वसाधारणलाई ठगेको कुरा यसरी बाहिर आउँदा पनि सम्बन्धित निकायले कारबाही नगर्ने धन्य हाम्रो देश!

हिमाल माली, इमेलबाट

किसानमारा नीति

हिमाल (१२―१८ माघ) मा प्रकाशित उखु किसानको मर्का सम्बन्धी समाचार हरेक वर्ष दोहोरिने समस्या हो। उखु बेच्ने समयमा मील मालिक र उखु किसानबीचको झ्गडा सामान्य जस्तो बनेको छ। मूल्य तोक्ने विषयलाई लिएर हुने यस्तो झ्गडाले अन्ततः किसानहरू नै मर्कामा पर्छन्। बजार मूल्य आकाशिंदा पनि किसानले भने आफ्नो उत्पादनको राम्रो मूल्य पाउन सकेका छैनन्। यसले स्थानीय उत्पादनमा कमी आउने मात्र नभई जुनसुकै कुरामा पनि अर्काको भर पर्नुपर्ने अवस्था आउन सक्छ।

सुलोचना चौधरी, इमेलबाट

झूटको औषधि

हिमाल (१२―१८ माघ) मा प्रकाशित झूटो बोलेको मेशीनबाटै थाहा पाउन सकिने समाचार सकारात्मक लाग्यो। अत्याधुनिक पद्धति नहुँदा अपराध अनुसन्धानमा कठिनाई भइरहेको समयमा यस्ता प्रविधि भित्रिनु राम्रो कुरा हो। अपराध अनुसन्धानमा सहयोग पुर्‍याउन प्रहरीले प्रयोग गर्न लागेको डीएनए एनलाइजर मेशीन र डकुमेन्टको शुद्धता जाँच्ने आधुनिक मेशीनले कस्तो काम गर्दो रहेछ त्यो भने हेर्न बाँकी छ।

विनोद क्षेत्री, इमेलबाट

खाद्य संकटको खतरा

हिमाल (१२―१८ माघ) मा प्रकाशित किनुवामा निर्भर सम्बन्धी कर्णालीको समाचार पढ्दा दुःख लाग्यो। स्थानीय स्तरमा हुने उत्पादनलाई बेवास्ता गर्दै जाँदा कर्णालीमा भोलिका दिनमा खाद्य संकट नआउला भन्न सकिन्न। बाहिरबाट ल्याइएको खाद्यान्य स्थानीय भन्दा राम्रो भन्ने मानसिकताले गर्दा आज स्थानीय उत्पादन क्रमशः लोप हुने अवस्थामा पुगेका छन्। खेतीयोग्य जमीन बाँझिंदै जाँदा भोलिका दिनमा भोकमरी नआउला भन्न सकिन्न।

गोपाल पौडेल, इमेलबाट

जानकारीमूलक समाचार

हिमाल (१२―१८ माघ) मा प्रकाशित अधिक निद्रा सम्बन्धी समाचार जानकारीमूलक छ। केही मानिसले भोगिरहेको स्वास्थ्य सम्बन्धी समस्यालाई नबुझेर निदाएको कुरा मात्र संचारमाध्यममा आउने गरेको थियो। तर यो समाचारले त्यस्तो समस्यामा परेकालाई दिउँसो निदाउनु रोग हो भनेर उपचारको विधि समेत सुझाएका कारण समाचार पठनीय छ।

विष्णु केसी, इमेलबाट

पर्दा पछाडिका साधक

हिमाल (१२―१८ माघ) मा प्रकाशित वाद्यवादक नगेन्द्र राईबारेको समाचार पठनीय लाग्यो। पत्रपत्रिकामा सिनेमाका हिरो–हिरोइन, गायक–गायिका अनि संगीतकार भन्दा अरूले खासै स्थान नपाएको सन्दर्भमा राई जस्ता साधकले ठाउँ पाउनु सुखद् पक्ष हो। हिमाल ले नगेन्द्र जस्ता पर्दा पछाडिका अन्य कलाकारलाई पनि ठाउँ दिंदै जाओस्।

कौरव घिमिरे, इटहरी, हालः काठमाडौं

comments powered by Disqus

रमझम