१९-२५ माघ २०७० | 2-8 February 2014

'अब जनता बोल्नुपर्छ'

Share:
  
स्थानीय निकायमा भएको भ्रष्टाचार नियन्त्रण लगायत ३३ बुँदे माग राखेर मौन अनशन बसेकी शारदा भुषाल झा ले लेखेर जवाफ दिइन्, 'अब जनता बोल्नुपर्छ भनेर मौन अनशन बसेकी हुँ।'

ऋषिराम कट्टेल
मौन अनशन किन बस्नुभएको?

देशमा भ्रष्टाचार, माफियातन्त्र, राजनीतिक हस्तक्षेप, दण्डहीनता बढ्यो। यही मुद्दामा म पहिले पनि दुई पटक आमरण अनशन बसें। नेपाल सरकारले दुवै पटक सम्झौता गरेर पनि कार्यान्वयन गरेन। मेरो गाउँमा जस्तै पूरै देशमा भ्रष्टाचार छ। त्यसैले मैले मात्र बोलेर नपुग्ने भएकाले जनता बोलुन् भनेर मौन अनशन बसेकी हुँ।

पहिलेका अनशनले के परिवर्तन ल्याए?

मसँगको सहमति अनुसार महोत्तरीको बनौली दनौली गाविस सचिव शत्रुघ्न मिश्रको मुद्दा विशेष अदालतमा आरोप पत्र दायर गरिएको र लोकमानसिंह कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त गरिएको भनेर अख्तियारले मलाई लेखेर दियो। तर एक महीनाअघि उक्त गाउँमा भ्रष्टाचार भएको छैन भनेर अख्तियारले नै फेरि लेखेर दिएकाले यो पटक अनशन बस्नु परेको हो।

त्यही गाउँको मात्र भ्रष्टाचार कम गर्नुपर्ने हो कि देशकै?

देशभरिकै भ्रष्टाचार कम गर्नुपर्छ। तर, पहिले मेरो गाउँकै अन्त्य गर्नुपर्छ।

स्थानीय निकायको निर्वाचन भयो भने तपाईंले उठाउनुभएको समस्या समाधान होला?

देशको सबैभन्दा ठूलो समस्या कुशासन हो। देशमा सुशासन नआएसम्म न शान्ति हुन्छ न त विकास नै। निर्वाचन समाधान होइन। सुशासन, भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म केही हुँदैन।

समाधानको उपाय के हो त?

भ्रष्टाचार विरूद्ध जनता बोल्नुपर्छ। भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्छ। भ्रष्टाचारीलाई सार्वजनिक गर्नुपर्दछ। भ्रष्टाचारमा परेकाको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। भ्रष्टाचार गर्नेलाई जन्मकैदको सजाय हुनुपर्दछ।

comments powered by Disqus

रमझम