१९-२५ माघ २०७० | 2-8 February 2014

आलु भण्डारणमा समस्या

Share:
  
माघमा फलेको आलु भण्डारण गर्ने ठाउँ नभएर किसान र चिप्स उद्योग समस्यामा परेका छन्।

विद्रोही गिरी
अन्नपूर्ण कृषक समूहका अध्यक्ष गुरुप्रसाद खनाल आलुबारीमा।
पाँच वर्षदेखि व्यावसायिक आलु खेती गर्न थालेका नवलपरासीको गिरुवारीका गुरुप्रसाद खनाल सिन्धुरे, कार्डिनर र चिप्स सोना जातका आलु रोप्छन्। नवलपरासीकै दुम्कौलीमा रहेको चौधरी ग्रामका लागि उसकै सहयोगमा यहाँका किसानले व्यावसायिक आलु खेती गर्न थालेका हुन्। २०६६ मा १२०० किलो आलु किनेको उद्योगले त्यसपछि क्रमशः ६६ टन, १८० टन र ३२६ टन किनेको थियो। आलु चिप्स बनाउन आलु किनेको चौधरी ग्रामको सिजी एग्रो फरेष्ट्रीका प्रमुख शरद घिमिरे किसानलाई आत्मनिर्भर बनाउन स्वदेशी कच्चा पदार्थबाट उद्योग चलाउने नीति लिइएको बताउँछन्।

भण्डारण समस्या

चौधरी ग्रुपले वार्षिक रु.३२ लाखको आलु खरीद गर्छ। तर, गिरुवारीमै डेढ करोड रुपैयाँसम्मको आलु उत्पादन हुने अनुमान छ। उत्पादन हुने आलुलाई भण्डारण गर्ने हो भने बेमौसममा एक किलोको रु.४० सम्ममा बिक्री गर्न सकिने चौधरी गु्रपको समाजसँग सहकार्य परियोजना (सीएसआर) प्रमुख रामचन्द्र धिताल बताउँछन्। उद्योगले भने माघमा आलु फल्नासाथ एक किलोको रु.१८/१९ दिने गरेको छ।

चौधरी ग्रुप दुम्कौलीका महाप्रबन्धक रामभक्त केसीले एक महीनामा खपत हुने भन्दा धेरै आलु गिरुवारीमा उत्पादन हुँदा भण्डारण गर्ने ठाउँ नभएर किसान र उद्योग दुवैलाई समस्या परेको बताए। उनका अनुसार, असारदेखि कात्तिकसम्म आलु नपाइने मौसममा आलु फलाउन सकिने ठाउँ खोजिएको छ। असारमा आलु रोपेर कात्तिकमा फलाउन सकिने रामेछाप, दोलखा, सिन्धुली जस्ता चिसो मौसम भएको ठाउँ खोजी भइरहेको उनको भनाइ छ।

त्यहाँ लगाइएको चिप्स सोना जातको आलुको बीउ नेपालसँग नभएकाले भारतको अल इन्डिया सिड डेभलपमेन्ट कर्पोरेशनबाट ल्याइएको हो। भारतले बीउ ल्याउन कडाइ गरेकाले पछिल्लो समय किसानले सहज रूपमा बीउ ल्याउन पाएका छैनन्। सजिलै बीउ ल्याउन पाए तथा कोल्ड स्टोरको व्यवस्था भए आलुबाट थप फाइदा लिन सकिने किसान बताउँछन्।

यद्यपि, अहिलेसम्म उद्योगले बजारको ग्यारेन्टी गरिदिएको छ भने लगानीमा कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था कावासोतीले सहयोग गरेको छ। “मल किन्न रु.१० हजारदेखि रु.१ लाखसम्म नागरिकता देखाएर सहकारीले ऋण दिएको छ” नमूना आलु कृषक समूह वेलुवाका अध्यक्ष दिलबहादुर भुजेल भन्छन्, “तर, गुणस्तरीय मल र खनेको एक हप्तामै आलु उठाउने व्यवस्था भएमा हामीलाई अरू सजिलो हुनेथियो।”

वार्षिक ३८ हजार १०० टन आलुको माग भएको नवलपरासीमा अहिले १० हजार टन मात्र उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय नवलपरासीका वरिष्ठ कृषि विकास अधिकृत रवीन्द्रनाथ चौवे बताउँछन्। कोल्ड स्टोर निर्माणका लागि रु.२ करोडसम्म सरकारले अनुदान दिने भए पनि रु.८ करोड लाग्ने भएकाले समस्या भएको उनले बताए। “सहकारीहरूले कोल्ड स्टोर बनाउन अग्रसरता देखाउन आवश्यक छ” उनले भने।

विद्रोही गिरी, नवलपरासी


भान्से बन्न ताँती

प्रहरी संगठनको सबभन्दा तल्लो दर्जा भान्सेमा १८० स्थानका लागि परेका ३ हजार ४४९ आवेदनले बेरोजगारीको भयावह स्थिति देखाउँछ।

दीपक ज्ञवाली
स्नातक तहकी विद्यार्थी पर्वत, शालिग्रामकी गीता तिवारीले प्रहरीको परिचर (भान्से) पदका लागि पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र बुटवलमा परीक्षा दिएकी छन्। साधारण लेखपढ भए पुग्ने र बढुवा नहुने यो पदका लागि भिड्ने गीता जस्ता थुप्रै स्नातक उम्मेदवार छन्, यस पटक। नेपाल प्रहरीले देशभरका एकाइहरूको कुल २,२५८ भान्से दरबन्दीमध्ये खाली भएका १८० जनाको लागि आह्वान गरेको दरखास्त दिने उम्मेदवार संख्या ३,४४९ छ। तीमध्ये ५७१ जना महिला छन्। प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले अधिकांश आवेदक प्लस टु उत्तीर्ण रहेका बताए।

प्रहरीले पाँच विकास क्षेत्रका क्षेत्रीय तालीम केन्द्र र काठमाडौंमा गरी ६ स्थानमा भान्से छनोट परीक्षा लिइरहेको छ। प्रहरीमा परिचर दर्जाको नियुक्ति स्थायी हुन्छ भने मासिक पारिश्रमिक रु.१२ हजार। यसका लागि धेरैले माथिल्लो तहको शैक्षिक योग्यता लुकाएर आवेदन दिएका छन्। एक जना आवेदक सुनिता गुप्ताले सजिलो काम र सुरक्षित पेशा भएकोले आवेदन दिएको बताइन्। ५ माघबाट शुरू भएको छनोट प्रक्रियाको नतीजा २९ माघमा आउनेछ।

पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र बुटवलका समादेशक विजयकुमार भट्टका अनुसार पश्चिमाञ्चल क्षेत्रमा २७ जनाका लागि ४९३ जनाको आवेदन परेको छ। प्रहरीले भान्से पदका लागि पहिलो पटक लोकसेवा आयोगको मापदण्ड अनुसार परीक्षा लिएको छ। छनोट विधि प्रहरी सिपाहीकै जस्तो भए पनि केही खुकुलोपन छ। सिपाहीका लागि २१ बुँदे प्रश्नपत्र हुने गरेकोमा भान्सेका लागि ११ बुँदे प्रश्न सोधिएको छ। एक जना भान्सेले मेसमा सरदर ३० प्रहरीको लागि खाना पकाउनुपर्छ।

दीपक ज्ञवाली, बुटवल


तरकारी खेतीबाट पक्की घर

गोपाल गडतौला
फर्सी टिप्दै पिंगला पोखरेल।
१५ कट्ठा जमीनमा फर्सी, काउली, बन्दा, खुर्सानी, गोलभेंडा र बोडी फलाएर पथरी–८ मोरङका चिन्तामणि पोखरेल (४४) र उनकी पत्नी पिंगला (४१) ले राम्रो आम्दानी लिइरहेका छन्। माघ पहिलो साता एक ट्याक्टर फर्सी बजार पठाएका चिन्तामणिले भने, “पाँच वर्षदेखि वेमौसमी तरकारी रोप्न थालेपछि हेरक वर्ष खर्च कटाएर रु.३ लाख आम्दानी लिंदैछु।”

तरकारी खेती गरेर गाउँमा उदाहरण बनेका चिन्तामणि दम्पतीले गत वर्ष रु.११ लाख खर्च गरेर नयाँ घर बनाए। एउटा छोरीको बिहे र दुई छोराको पढाइ खर्च पनि तरकारी खेतीबाटै जुटाएका उनी वैदेशिक रोजगारीभन्दा अब्बल आम्दानी लिइरहेको बताउँछन्।

राम्रो खेती गरेर उदाहरणीय बनेपछि चिन्तामणिलाई गाउँमा कृषि तालीम दिन पनि बोलाउन थालिएको छ। पथरीमा साना किसानले चलाएको तीनमहीने बेमौसमी तरकारी खेती तालीम दिइरहेका उनले आफ्नो तरकारी गाउँको बजार, उर्लाबारी, मंगलबारे, बेलबारीमा बिक्री हुने गरेको बताए।

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम