गतिछाड्ने होड

Share:
  
- ऋषिराम कट्टेल
पछिल्लो समयमा देखिएको नेपाली 'फिल्म मेकिङ'को नयाँपनबाट तरंगित नेपाली चलचित्रका दर्शकलाई यौनजन्य फिल्म निर्माणको होडले स्तब्ध बनाइदिएको छ।

लूट र चपली हाइट पछि अहिले एटीएम नामको नेपाली फिल्म चर्चाको शिखरमा छ, तर सुन्दर पक्षका कारण नभएर फोहोर कुराका निम्ति। कतिसम्म भने, सार्वजनिक प्रदर्शनमा आइनसकेको यो फिल्मको प्रोमोमा समेत सेन्सर गर्न सेन्सरबोर्ड अगाडि सरेको छ। आधादर्जन फिल्म निर्देशकले यो फिल्म माथि कारबाही गर्न चलचित्र विकास बोर्डमा ज्ञापनपत्र बुझाएका छन्। 

'सी ग्रेड'का हिन्दी फिल्म बिर्साउने बेतुकको कथामा बढी भन्दा बढी यौन उत्तेजना र फोहोर गाली बेच्न बनाइएको यो फिल्मबारे निर्माता संघका सचिव सुरेश दर्पण पोखरेल भन्छन्, “यो त पोर्न फिल्म जस्तै हो, जसलाई व्यवस्थित पार्ने कानून नै बनेको छैन।” 

फोहोरको व्यापार 
फिल्मलाई मनोरञ्जनको साधन मात्र हैन, आमसञ्चारको सशक्त माध्यम पनि मानिन्छ। समाज विकासमा फिल्मको ठूलो भूमिका रहिआएको छ। कलाकार हुन् कि निर्देशक, सिर्जनामा खास क्षमता भएका व्यक्तिहरू यो क्षेत्रमा आउँछन्, सिर्जनाकै आधारमा आफ्नो तर्फबाट समाज विकासमा योगदान दिन्छन्, टिक्छन् र प्रशंसित हुन्छन्। तर, पछिल्लो समयमा निर्माण भएको एटीएम त्यस्तै प्रदर्शन भइरहेको द लास्ट किस जस्ता चलचित्रको प्रस्तुतिले यो अवधारणासँग गोरु बेचे बराबरको साइनो पनि राख्दैनन्। 

फिल्ममा 'कथाले मागे जति निर्वस्त्र हुन र गाली बक्न' तयार पात्रहरू त छन्, तर न तिनलाई सुहाउँदो बनाउने परिवेश छ न त कथानक नै। यसबाट सम्बन्धित निर्देशकहरूको बौद्धिकता र नियत छर्लङ्ग भएको एक जना फिल्म समीक्षक बताउँछन्। “समाजलाई फोहोर बेचेर मालामाल हुने नियत देखिन्छ” उनी भन्छन्, “यस्तो नियतमा बौद्धिकता र पेशागत उत्तरदायित्वले ठाउँ पाउँदैन।” 

द लास्ट किस र एटीएम को अर्को आश्चर्यजनक पक्ष के छ भने, यसका नायिकाहरू बेतुकका कथामा निर्वस्त्र हुन र छाडा बोल्न यति अग्रसर देखिन्छन् कि मानौं त्यही नै अभिनय कला हो। विन्दास नामक फिल्ममा त नायिका सुष्मा कार्कीले दिएको 'हट' दृश्यबाट चलचित्र युनिट नै स्तब्ध भएको हल्ला चलेको थियो। यी नवनायिकाहरूको आँट देख्दा उनीहरू कुन संसारबाट आएका होलान् जस्तो लाग्छ। “नेपाली सिने क्षेत्रमा अश्लीलताले हद नाघेको छ” वरिष्ठ चलचित्रकर्मी यादव खरेल भन्छन्, “उनीहरू कुन उपलब्धिका लागि किन यसो गरिरहेका छन्, बुझ्िनसक्नु भएको छ।” 

नराम्रोको नक्कल 
'मेकिङ' र व्यापार दुवै हिसाबले प्रशंसा बटुलेको लूट यस्तो समयमा आएको थियो जुन बेला नेपाली चलचित्र क्षेत्र नुन खाएको कुखुरा झै झोक्राएको थियो। यो चलचित्रले चलचित्र क्षेत्रमा ठूलै तरंग ल्यायो। चपली हाइट को विशेषता बनेको यौनजन्य दृश्यहरूले नेपाली चलचित्रको अश्लीलता सम्बन्धी बहसलाई पुनः ब्युँतायो भने लूट को छाडा संवादले नयाँ बहस जन्मायो। 

समग्रमा नग्नताकै कारण चलेको चपली हाइट ले समाजलाई राजनीतिक संक्रमणले गाँजेको मौकामा चौका फालेर फाइदा उठाएको समीक्षकहरूको निष्कर्ष थियो भने लूट को छाडा भाषालाई 'फिल्म मेकिङ' को हिसाबले स्वाभाविक मानियो। “तर, लूट र चपली हाइट का नराम्रा कुराको मात्र नक्कल भयो”, नायक राजेश हमाल भन्छन्, “अहिले यस्ता फिल्म बनाउने लहर नै चलेको छ।” 

फिल्मको नाममा भद्दा शैलीमा सेक्स बेच्ने होडबाजी चल्नु नेपाली चलचित्र उद्योगका लागि निकै गम्भीर कुरा हो। हाल निर्माणाधीन प्ले गर्ल, रिङरोड, फुलिस्टप, कल गर्ल, नाइन ओक्लक, जिगोलो, रेड मार्केट, ब्लाक नाइट, मेमोरी कार्ड र प्रदर्शन थालेको नाइट क्विन जस्ता चलचित्रको नामबाटै यिनीहरूले समाजलाई के दिन खोजेका छन् भनेर अनुमान लगाउन सकिन्छ। एक साताअघि थ्रीएक्स नामक फिल्मको पनि शुभसाइत भएको सुनिएको छ। 

ब्लू फिल्म शैलीका यस्ता प्रस्तुतिले नेपाली फिल्म क्षेत्र र फिल्मकर्मीहरूको घोर बेइज्जत हुने चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई बताउँछन्। समाजको संस्कृति र चलचित्र कला भन्दा धेरै टाढाका यस्ता फिल्म निर्माणलाई कुनै हालतमा निरुत्साहित पार्नुपर्ने अध्यक्ष राई बताउँछन्। 

comments powered by Disqus

रमझम